नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकढिक्का भएर गएको भए कम्तीमा ७० सिट जित्ने दाबी गरेका छन्।
मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित आफू पक्षीय नेताहरूको भेलामा समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेता खड्काले पार्टीको चुनावी हारको मुख्य कारण विशेष महाधिवेशन भएको बताएका हुन्।
उनले भने, “सिंगो पार्टी एकढिक्का भएर चुनावमा जान पाएको भए पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी नै बनेपनि कांग्रेसले ७० सिट ल्याउँथ्यो। अहिलेको उम्मेदवारकै अवस्थामा पनि हामी ५०–६० सिटमा पुग्थ्यौं र चुनावको परिणाम फरक हुन्थ्यो।”
खड्काले वर्तमान परिस्थितिमा देशले भोग्नुपरेको अवस्था त्यस्तो नहुने दाबी गर्दै पार्टीभित्रको विभाजनलाई नै पराजयको मुख्य कारणका रूपमा औंल्याए।
उनले विशेष महाधिवेशनको निर्णय गर्ने नेताहरूलाई नै चुनावी हारको जिम्मेवार ठहर गर्दै भने, “विशेष महाधिवेशनकै कारण कांग्रेसका लागि चुनाव कठिन बन्यो। पार्टीले भोगेको दुर्गतिको मूल कारण यही हो।”
उनका अनुसार पार्टीको वर्तमान अवस्थाका मुख्य दोषी पनि विशेष महाधिवेशनको अगुवाइ गर्ने नेताहरू नै हुन्।
यसैबीच, विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादका क्रममा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ले आफ्नै वचन तोडेको आरोप समेत उनले लगाए। उक्त विषयमा तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक साक्षी रहेको पनि उनले बताएका छन्।