यतिबेला नेपालको तराई क्षेत्र, विशेषगरी मधेस प्रदेशका जिल्लाहरूमा तापक्रम ह्वात्तै बढेर जनजीवन प्रभावित बन्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पर्सा, बारा र रौतहट लगायतका क्षेत्रमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ। चर्को घाम र तातो हावा (लू) का कारण दैनिक जीवन कष्टकर बन्दै जानुका साथै गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने जोखिम बढेको छ।
तातो लहरको प्रभावमा पर्दा शरीरमा विभिन्न लक्षणहरू देखिन सक्छन्। अत्यधिक थकान, शरीर गलेको महसुस हुने, टाउको दुख्ने, चक्कर लाग्ने, मांसपेशी बाउँडिने, वाकवाकी लाग्ने वा बान्ता हुने जस्ता समस्या सामान्य रूपमा देखिन्छन्। त्यस्तै अत्यधिक तिर्खा लाग्ने तर पिसाब कम हुने र अवस्था गम्भीर भएमा बेहोस हुनेसम्मको जोखिम रहने स्वास्थ्य विज्ञहरू बताउँछन्।
विज्ञहरूका अनुसार यस्तो अवस्थामा विशेष सावधानी अपनाउन आवश्यक छ। दिउँसो १२ बजेदेखि अपराह्न ४ बजेसम्म घामको प्रभाव अत्यधिक हुने भएकाले सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न सुझाव दिइएको छ। बाहिर निस्कनै परे हलुका र सुतीका कपडा लगाउने, टाउको छोप्ने तथा छाता वा टोपी प्रयोग गर्ने उपाय प्रभावकारी मानिन्छ।
त्यसैगरी शरीरमा पानीको कमी हुन नदिन तिर्खा नलागे पनि पटक–पटक पानी, जुस, सर्बत तथा झोलिलो पदार्थ सेवन गर्नुपर्ने बताइएको छ। बासी खानेकुरा नखाने र ताजा तथा शरीरलाई शीतल बनाउने खानपानमा ध्यान दिन पनि आग्रह गरिएको छ।
गर्मीका कारण कसैमा समस्या देखिएमा तुरुन्त शीतल स्थानमा सार्ने, चिसो पानीले शरीर पुछ्ने वा स्प्रे गर्ने जस्ता प्राथमिक उपचार गर्नुपर्छ। अवस्था सुधार नभएमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा लैजान चिकित्सकहरूले सुझाव दिएका छन्।
अहिलेको मौसममा लूबाट जोगिनु नै सबैभन्दा प्रभावकारी उपाय भएकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र बाहिरी काममा खटिने मजदुरहरूले थप सतर्कता अपनाउन आवश्यक रहेको जनाइएको छ। मौसम विभागका सूचनालाई नियमित रूपमा पछ्याउँदै सुरक्षित रहन सबैमा आग्रह गरिएको छ।