प्रा.डा.अमरनाथ ठाकुर सिनियर कल्सन्टेन्ट प्याथोलोजिस्ट हुन् । प्रा.डा. ठाकुरले विगत २६ वर्षदेखि वीरगञ्जको मंगलम डाइग्नोस्टिक सेन्टरमा सेवा दिइरहेका छन् । प्रा.डा. ठाकुरसँग स्वास्थ्य उपचारमा प्याथोलोजी सेवाको भूमिका र मानव स्वास्थ्यका लागि यसको महत्वबारे मध्य नेपालले गरेको कुराकानी ः
स्वास्थ्य उपचारमा प्याथोलोजीको भूमिका कस्तो छ ?
स्वास्थ्य उपचारको क्षेत्रमा पर्दापछाडि रहेर काम गर्ने विधा प्याथोलोजी हो । आधुनिक चिकित्सा सेवाको मेरुदण्डको रुपमा प्याथोलोजी लिइन्छ । प्याथोलोजीबिनाको चिकित्सा अभ्यास धामीझाँक्रीले गरेको उपचारजस्तै हो । आधुनिक चिकित्सा सेवामा प्याथोलोजीबिना कुनै पनि काम अगाडि बढ्दैन । जनमानसमा प्याथोलोजी रगत, पिसाब र खकार जाँच गर्ने ठाउँ भनेर बुझेका छन् । रगत, पिसाब र खकार जाँच गर्ने एउटा विधा क्लिनिकल प्याथोलोजीमात्र हो । हेमाटोलोजीअन्तर्गत रगतसम्बन्धी हजारौं किसिमका जाँचहरू गरिन्छ । हजारौं किसिमका रोगहरू पत्ता लगाउन सकिन्छ । क्यान्सरको शंका छ भने मासुको टुक्रा काटेर बायस्पी जाँच गरिन्छ । अनि क्यान्सर भए÷नभएको पत्ता लगाउन सकिन्छ । क्यान्सर हो भने कस्तो किसिमको क्यान्सर हो । कहाँसम्म फैलिएको छ । त्यो पत्ता लगाउने सबै काम प्याथोलोजीले गर्छ । डाइनोसिस् भइसकेपछि चिकित्सकहरूले रोगको उपचार गर्छन् । उपचार गरिसकेपछि उपचार सही भएको छ वा छैन, फेरि पनि जाँच गर्न आउँछन् । रोग लागेपछि मात्र प्याथोलोजी जाँच गर्ने होइन । प्याथोलोजीले रोकथामको लागि पनि काम गर्छ ।
प्याथोलोजीले रोगको रोकथाम कसरी गर्छ ?
स्क्रिनिङ्ग कार्यक्रमहरू पनि गर्छाैं । महिलाहरूको पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी छ । पाठेघरको मुखको सामान्य डाइग्नोसिस् गरेर क्यान्सर हुनबाट बचाउँछ । क्यान्सर आजको भोलि हुने रोग होइन । क्यान्सर हुन ५÷१० वर्ष लाग्न सक्छ । ३५ वर्ष पूरा भइसकेको महिलाहरूलाई हरेक २÷२ वर्षमा पाठेघरको मुखको पाइपस्मेर जाँच गरेमा १० वर्षपछि हुने क्यान्सर पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर सुगरको जाँच वा शरीरको जाँच गराइरहेमा रोग लाग्नुपूर्व नै रोगबारे थाहा पाउन सकिन्छ ।
प्याथोलोजी जाँच गर्न कस्ता समस्या भएका बिरामीहरू बढी आउने गर्छन् ?
सर्ने र नसर्ने गरेर दुई भागमा विभाजन गरेर हेरिन्छ । प्याथोलोजीमा सबैभन्दा बढी चिनी रोगका बिरामीहरू आउने गर्छन् । चिनी रोग र ब्लड प्रेसरले गर्दा मृगौला बिग्रिन्छ । सिजनअनुसार अलगअलग रोगहरूको लक्षण देखिन्छ । वर्षातमा डेंगु, जापानी इन्सेफलाईटिस्, झाडापखाला, गर्मी बढेको समयमा ज्वरोको समस्या र टाइफाइडका बिरामीहरू आउँछन् । प्याथोलोजी ल्याबमा परीक्षण गर्न दुई किसिमका बिरामीहरू आउँछन् । कोही चिकित्सकबाट परामर्श लिएर आउँछन् । अर्को, रोगको शंका लागेर आफै प्याथोलोजीमा जाँच गराउन आउँछन् । अहिले बिरामीहरूमा स्वास्थ्यप्रति धेरै चेतना आइसकेको छ । घरमा आमाबुबालाई मधुमेह, ब्लडप्रेशर वा अन्य रोग छ भने आफै जाँच गराउन आउँछन् । जाँचबाट म कुन रोगतिर गइरहेको छु भन्ने थाहा हुन्छ । पहिलाको जीवनशैली र आजको जीवनशैलीमा धेरै परिवर्तन छ । पहिला मानिस हिड्डुल गर्थे, साइकल चढ्ने र खेतमा काम गर्थे । शारीररिक कसरत बढी हुन्थ्यो । अहिले आरामदायी जीवनयापन गर्न थाल्यौं । सानैदेखि जंकफुडहरू धेरै खान थाल्यौं । एकातर्फ शुद्ध खाना पाइँदैन भने भात, दाल, तरकारी नखाएर जंकफुडमा बढी खान थाल्यौं । जसले गर्दा रोगको समस्याहरू बढ्दै गइरहेको छ । प्रत्येक दिन मासु नभई नहुने मानिसलाई ब्लड प्रेसर बढेको छ भने लिपिड प्रोफाइल जाँच गराउनु पर्छ । लिपिड प्रोफाइल जाँच गर्दा बढेको देखिएमा उपचार गरेपछि मात्र नियन्त्रण हुन्छ । मधुमेह र ब्लड प्रेसरले गर्दा मृगौला खराब हुन्छ । समाजमा मृगौला बिग्रेर अस्पताल जानेको संख्या धेरै छ । समयमा मधुमेह र ब्लड प्रेसरको जाँच नगरेर एक्कासी मृगौला बिग्रेर अस्पतालमा पुग्छन् । समाजमा जनचेतना फैलाएर समयमा जाँच गराउन सकेमा मृगौला बिग्रने समस्या कम गराउन सक्छौं ।
कुन उमेर समूहदेखि ल्याब परीक्षण गराउन शुरू गर्नु पर्छ ?
कुनै किसिमको रोग लागेको अनुभव छैन भने ४० वर्ष उमेर काटेपछि वर्षमा एक पटक रुटिन जाँच गराउनु पर्छ । हामी अनावश्यक खर्च गर्न तयार हुन्छांै । तर, वर्षमा १ हजार स्वास्थ्य परीक्षण गर्न गाह्रो मान्छौं । हामी शरीरमा रोग लागिसकेपछि मात्र जाँच र उपचार गर्न जान्छौं । शरीरमा रोग नलागी हरेक वर्षमा जाँच गरेमा रोग लाग्नबाट बचाउन सक्छौं । हरेक महिलाहरूमा ३५ वर्ष उमेर काटेपछि २÷३ वर्षमा प्यापेस्मेयर जाँच गर्नु पर्छ । प्यापेस्मेयरको जाँचले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन सकिन्छ । सरकारकोतर्फबाट एचपीभी इन्फेक्सनबाट बचाउन प्यापेस्मेयर जाँच गरिरहेको छ । नियमित जाँच गरेमा क्यान्सर हुनबाट बच्न सकिन्छ ।
प्याथोलोजी जाँचमा हुने उच्च खर्चलाई कसरी कम गर्न सकिन्छ ?
नियमित रुटिन जाँचहरू महँगो छैन । तर, स्पेशल जाँचहरू महँगो हुन्छ । अहिले मेडिकल सेवा आफैमा महँगो सेवा हो । यो सम्बन्धमा सरकारले यसमा ध्यान दिनु पर्छ । सरकारले ल्याएको स्वास्थ्य बिमा राम्रो हो । स्वास्थ्य बिमा सबै जना समावेश हुनु पर्छ । बिमामा सबै रोगको उपचार समेटिनु पर्छ । कतिपय रोगहरू बिमामा समेटिएको छैन । नेपाली जनताको हैसियतले रुटिन जाँच गर्न सक्छन् । तर, कसैलाई जटिल किसिमको रोग क्यान्सर, मुटुको रोग लाग्यो भने लाखौं लाख खर्च हुन्छ । मध्यम वर्गीय परिवारका व्यक्तिले पनि त्यो खर्च व्यहोर्न सक्दैनन् । अन्य देशहरूमा बच्चा जन्मिनेबित्तिकै स्वास्थ्य बिमा हुन्छ । त्यो बिमाले गर्दा सानो, ठूलो र जटिल सबै रोगको उपचार हुन्छ । जटिल रोगको जाँच महँगो छ । त्यसको लागि बिमामा नै जानु पर्छ ।
अन्त्यमा आम नागरिकलाई के सुझाव दिन चाहनुहुन्छ ?
सामान्य रुपमा स्वस्थ्य हुनुहुन्छ भने ठिकै छ । ४० वर्षको उमेर काटेपछि वर्षमा १ पटक शरीरको रुटिन जाँच गर्नु पर्छ । मुटुको जाँच, मृगौलाको जाँच र हेमोग्लोबिन जाँच गर्नु पर्छ । अल्कोहल सेवन गर्ने मानिसहरूको कलेजो बिग्रिने भएकोले रुटिन जाँच गर्न अनिवार्य छ । महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर छ भने उनीहरू तुरुन्त डक्टरकहाँ आउँदैनन् । क्यान्सरको अन्तिम अवस्था पुगेपछि मात्र अस्पताल आएका हुन्छन् । जसको कारण ती महिलाहरूलाई बचाउन सक्दैनौं । समाजमा चेतना फैलाउनु पर्छ । स्वास्थ्यसम्बन्धी ज्ञान दिनु पर्छ । समाजमा मानिसमा शरीरमा रोग भए पनि समयमा जाँच गर्न जाँदैनन् । जसले गर्दा पछि विकराल अवस्थामा पुग्छ । उपचार गर्दा पनि धेरै खर्च लाग्छ । मानिसको ज्यानको पनि जोखिम हुन्छ । शरीरमा दुख्ने वा नदुख्ने खालका समस्या भएमा तुरुन्त जाँच गर्न अस्पताल जानु पर्छ । हामी स्वस्थ्य रहन जीवनशैलीलाई परिवर्तन गर्नु पर्छ । बिहानको १ घण्टा समय आफ्नो स्वास्थ्यको लागि छुट्याउनु पर्छ । स्वस्थ्य खाना खानु पर्छ । जकंफुडलाई बन्द गर्नु पर्छ । ११ बजेसम्म खाएको खाना शरीरले पचाउँछ । धेरै जसो मानिसको १ बजेदेखि २ बजेसम्म खाना खाने बानी छ । ११ बजेपछिको खाना शरीरले त्यति पचाउन सक्दैन । त्यो खानामा इन्सुलिन कम बन्छ । जसको कारण ग्यास्टिक, डाइबिटिजजस्ता समस्या हुन्छ । अहिले डाइबिटिज धेरै हुने मुख्य कारण समयमा खाना नखाएर हो । सन्तुलित खाना खानु पर्छ । तनावलाई कम गरी दैनिक कसरत गरेर धेरैजसो रोगलाई कम गर्न सकिन्छ ।