डा.आनन्द रौनियार नवजात शिशु तथा बालरोग विशेषज्ञ हुन् । उनले लुम्बिनी मेडिकल कलेजबाट एमबीबीएस र नोबेल मेडिकल कलेज काडमाण्डौंबाट एमडी गरेका हुन् । उनले शान्ति बाल क्लिनिक पिपरा र पोखरिया अस्पतालमा सेवा दिँदैआइरहेका छन् । प्रस्तु्त छ, डा.आनन्द रौनियारसंग नवजात शिशुमा हुने रोग र त्यसको समाधानबारे गरिएको कुराकानी ः
नवजात शिशुमा कस्ता समस्याहरू हुन्छन् ?
बच्चा जन्मेदेखि पहिलो २८ दिनसम्मको बच्चालाई नवजात शिशु भनिन्छ । अहिले धेरैजस्तो बच्चा जन्मेपछि नरुने वा ढिलो रुने समस्या देखिएको छ । यस्तो समस्या अत्याधिक रुपमा बढिरहेको छ । बच्चाले पेटमा नै दिसा गर्ने र दिसा खाने भएकोले बच्चाको श्वासप्रश्वासमा समस्या हुन्छ । समय पुग्नुभन्दा पहिला नै बच्चाको जन्म हुने, बच्चा जन्मेपछि इन्फेक्सन हुने, जण्डिस हुने, जन्मजात कुनै आन्तरिक बनावट कमजोर भएका नवजात शिशुहरूको जन्म भएको हुन्छ । यो अवस्थाबाट बच्चालाई बचाउनु पर्छ ।
नवजात शिशुमा यस्तो समस्या आउनुको कारण के हो ?
जब सन्तानको योजना गरिन्छ, त्यो समयदेखि नै धेरै कुरामा ध्यान दिनु पर्छ । गर्भवती हुनुभन्दा ३ महिना अघिदेखि नै फोलिक एसिड खान शुरू गर्नु पर्छ । जनचेतनाको कमी छ । गर्भ रहन्छ, तर ती महिलाले फोलिक एसिड खाएका हुँदैनन् । जसले गर्दा बच्चाहरूमा समस्या आउने गर्दछ । महिलाहरूमा गर्भवती भएपछि नेपाल सरकारले गर्भवती महिलाले गर्भ जाँच गर्ने तालिका बनाएको छ । त्योअनुसार जाँच गर्ने, भिडियो एक्स–रे गर्ने, आइरन चक्की, जुकाको औषधि, क्याल्सियमजस्ता औषधिहरूको सेवन नगर्ने, टीटी. खोप लगाउने गरेको हँुदैनन् । गर्भवती आमाहरूलाई कुनै किसिमको बिरामी भएमा समयमा जाँच गराउँदैनन् । कतिपय महिलाहरू सुत्केरी व्यथा लागेरपछिमात्र अस्पताल आउँछन् । गर्भवती अवस्थामा पनि थाइराइडको समस्या, व्लड प्रेशर बढ्ने, सिफ्लिस, गोनोरियाजस्ता रोगहरू हुने, रगत र पिसाबमा संक्रमण भइरहेको कतिपय गर्भवती महिलाहरूलाई थाहा हँुदैन । बच्चा जन्मिए पनि बच्चाहरूलाई गाह्रो हुन्छ । गर्भवती महिलालाई गर्भावस्थाको बारेमा र गर्भावस्थामा हुने समस्याको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । सुत्केरी गराउँदा कुन कुरामा ध्यान दिने, कसरी गर्ने, कुन ठाउँमा गएर सुत्केरी गराउने भन्ने विषयमा राम्रो जानकारी हुनु पर्दछ । आमा र बच्चाको लागि पूर्वतयारी गर्नु पर्दछ । गर्भ रहेको थाहा पाएदेखि सुत्केरी नभएसम्म स्त्री तथा प्रसुति रोग विशेषज्ञसँग जाँच गराउनु पर्दछ । महिलाको अगाडि गर्भपतन भएको छ भने दोहोरिएर गर्भपतन हुन सक्छ । आमालाई मुटुको रोग भएको छ भने बच्चालाई पनि समस्या हुन सक्छ । त्यसैले यस्ता समस्या भएका महिलाहरूले डक्टरको सल्लाहअनुसार गरेमा धेरै समस्याबाट बच्न सकिन्छ ।
नवजात शिशुलाई संक्रमणको जोखिम किन हुन्छ ?
नवजात शिशुमा हुने संक्रमाणलाई दुई भागमा बाडेर बुझ्न सकिन्छ । पहिलो चरण जन्मको बेलादेखि ७२ घण्टाभित्र संक्रमण हुने र दोस्रो चरणको ७२ घण्टादेखि २८ दिनसम्मको शिशुमा हुने संक्रमण भनेर विभाजन गरिएको छ । पहिलो चरणको संक्रमणमा ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासको कमी हुने, दूध राम्ररी खान नसक्ने, मस्तिष्क ज्वरो, मुटुका समस्या हुने, सुगर घट्ने समस्याहरू हुन्छन् । नवजात शिशु संक्रमणको जोखिममा पर्ने भनेको आमा संक्रमित भएमा पनि हुन्छ । गर्भवती महिला सुत्केरी हुनुभन्दा दुई हप्ता पहिलादेखि वा सुत्केरी भएको समयमा ज्वरो आएमा, पिसाबमा इन्फेक्सन भएमा बच्चालाई पनि सर्न सक्छ । सुत्केरी हुने स्थान कस्तो छ, सुत्केरी गराउने स्वाथ्यकर्मीले सरसफाईमा कत्तिको ध्यान दिएको छ । यसमा निर्भर हुन्छ । सुत्केरी गराउने औजारहरू कत्तिको सफा छ, बच्चा जन्मेपछि नाल काट्ने सफा ब्लेड, पञ्जाको प्रयोग गरेको छ वा छैन । बच्चा जन्मेको ७२ घण्टापछि कुनै इन्फेक्सनले संक्रमित भएको छ भने पछिल्लो चरणको संक्रमण हो । बच्चा अस्पतालमा हुदाँ स्वास्थ्यकर्मीको कमजोरीबाट, बच्चाको स्याहार गर्ने आमाबुबाबाट, वरिपरीको वातावरणबाट इन्फेक्सन सर्न सक्छ ।
संक्रमित नवजात शिशुको उपचार विधि के छ ?
नवजात शिशु अवस्था संवेदनशील अवस्था हो । यो अवस्थामा बच्चाको राम्रो हेरचाह गर्नु पर्छ । संक्रमित बच्चाहरूलाई एनआईसीयुमा राखेर उपचार गर्नु पर्छ । भेन्टिलेर भएको, ब्लड चढाउन मिल्ने, सबै खालका औषधि उपलब्ध भएको सुविधा सम्पन्न अस्पतालमा लानु पर्छ । एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मी तालिम प्राप्त हुनु पर्छ । चौबिसै घण्टा डाक्टर उपलब्ध हुने स्थानमा राखेर उपचार गर्नु पर्छ । इन्फेक्सन भएको छ भने एन्टिबायोटिक चलाउनु पर्छ । श्वासप्रश्वासमा अक्सिजन दिनु पर्छ । बच्चाको अवस्था हेरेर भेन्टिलेटरमा राखेर पनि उपचार गर्नुपर्ने हुन्छ । यदि नवजात शिशुमा समस्या देखिएमा ढिलो नगरी तुरुन्त डाक्टरलाई जाँच गराएर उपचार शुरू गरिहाल्नु पर्छ ।
नवजात शिशुलाई संक्रमित हुन नदिन कस्तो सावधानी अपनाउनु पर्छ ?
सबैभन्दा मुख्य भनेको रोग लाग्न नदिनु नै राम्रो हुन्छ । गर्भवती भएदेखि नै हरेक महिलाले खानपानमा ध्यान दिनु पर्छ । पोषिलो खानेकुराहरू खाने, सरसफाईमा ध्यान दिनु पर्छ । बेलाबेलामा प्रसुति रोग विशेषज्ञसँग तालिकाअनुसार बच्चा र आमाको अवस्थाको जाँच गराउनु पर्छ । औषधिहरू नियमित सेवन गर्नु पर्छ । आमालाई पोषकतत्व राम्रोसँग पुगेको छैन भने त्यस्ता गर्भवती महिला पनि कमजोर हुन्छन् । उनले जन्माएको बच्चा पनि कमजोर हुन्छ । सुत्केरी गराउने समयमा सुरक्षित सुत्केरी कसरी गराउने भन्ने विषयमा परिवारको सबै सदस्य जिम्मेवार हुन्छ । सबैले पूर्वतयारी भएर बस्नु पर्छ । गर्भवती समयमा आउने समस्या समाधान गर्नसक्ने खालका अस्पतालमा डक्टरले दिएको मितिभन्दा अगाडि नै जानु पर्छ । नेपालको बर्थिङ्ग सेन्टरहरूमा सुत्केरी गराउँछन् । तर कुनै जटिलता आएमा त्यसको समाधान हुन सक्दैन । बच्चा जन्मेर बच्चा रोएन भने त्यस्ता बच्चाहरूलाई अक्सिजनको कमी हुन्छ । अक्सिजनको कमीले गर्दा ब्रेनको तन्तुहरू मर्न थाल्छ । यो कुनै औषधिले ठिक हुँदैन । यस्तो खालका बच्चाहरूलाई पछि गएर समस्या आउँछ । बच्चाको जुन किसिमले मानसिक विकास हुनुपर्ने हो, त्यो हुन सक्दैन । बच्चा समयमा बोल्न, हिड्न र बस्न सक्दैन । पढाई, लेखाइमा राम्रो हुँदैन । बच्चाले अपाङ्ग जीवन बिताउनुपर्ने हुन सक्छ । त्यसैले गर्भावस्थादेखि बच्चा जन्मदासम्म गर्भवती महिलाको राम्रो हेरचाह र सावधानी अपनाएमा नवजात शिशु संक्रमित हुने समस्या कम हुन्छ । नवजात शिशुलाई इन्फेक्सन हुने सम्भावना धेरै भएकोले आमाहरूले कसरी स्याहार गर्ने विषयमा ध्यान दिनुपर्छ । बच्चालाई छुनुभन्दा पहिले हात सफा गर्नुपर्छ । आँखामा गाजल लगाउने, कान, नाक, तालु, नाइटोमा तोरीको तेल हाल्ने र जिउमा लगाउने परम्परा छ । यो गलत हो, यसलाई सच्याउनु पर्छ । यसले गर्दा बच्चालाई इन्फेक्सन हुन्छ । सरसफाईमा ध्यान दिनु पर्छ । पोषिलो खानेकुराहरू खुवाउनु पर्छ । सुत्केरी गराउँदा राम्रो बर्थिङ्ग सेन्टर हेरेर सुत्केरी गराउनु पर्छ । डक्टरको सल्लाहअनुसार उपचार गरेमा धेरै रोगको समस्या समाधान हुन सक्छ ।
नवजात शिशुको मृत्यु हुनुको कारण के हो ?
नेपालको सन्दर्भमा हेर्दा समयभन्दा पहिला नै बच्चा जन्मिनु मुख्य कारण हो । गर्भ रहेको ३७ हप्ता वा नौ महिना पूरा भएपछि बच्चा जन्मिनु पर्छ । प्रायः गरेर ३१, ३२, ३३, ३४ हप्तामा बच्चा जन्मिरहेको हुन्छ । जसले गर्दा त्यस्ता बच्चाहरूमा राम्रोसँग विकास हुन सक्दैन । श्वासप्रश्वासमा समस्या हुने, श्वास बन्द हुने, बच्चाको रक्त संचारमा संतुलन हुन सक्दैन, इन्फेक्सन फैलिदिनेजस्ता समस्याले गर्दा बच्चाहरूको मृत्यु हुन सक्छ । नर्मल बच्चा जन्मेको १ मिनेटभित्र बच्चा रुनु पर्छ । बच्चा रुँदैरोएन, गाह्रो भयो, चम्की आयो भने यस्ता बच्चाहरूलाई बचाउन गाह्रो हुन्छ ।
अन्त्यमा केही सुझाव दिन चाहनुहुन्छ ?
गर्भावस्था भनेको एउटा यस्तो अवस्था हो, गर्भवती महिलामात्र नभई परिवारको सबै सदस्य जिम्मेवार हुनु पर्छ । आमा र बच्चालाई राम्रोसंग स्याहारसुसार र हेरचाह गर्ने परिवारका सदस्यको जिम्मेवारीअन्तर्गत पर्छ । बच्चा जन्मनुभन्दा अगाडि नै सुत्केरी कहाँ गराउने र कसरी गराउने भन्ने कुरा बुझिदिनुपर्ने हुन्छ । बच्चा जन्मेपछि पाउडर दूध, गाईको दूध, बाख्राको दूध, र भैंसीको खुवाउने गर्दछन्, त्यो गलत कुरा हो । बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध खुवाउनु पर्छ । आमाको दूध खान पाउनु बच्चाको अधिकार हो । बच्चा जन्माइसकेपछि स्तनपान गराउनु सबै आमाको कर्तव्य हो । नेपालको सन्दर्भमा हेर्दा ५० प्रतिशत बच्चाले मात्र ६ महिनासम्म आमाको दूध खान पाएका छन् । ५० प्रतिशतले पाउडर दूध, गाई र भैंसीको दूध खाइरहेका हुन्छन् । त्यसैले गर्दा तत्काल र भविष्यमा पनि समस्या हुने गर्दछ । ६ महिना पुगेपछि २ वर्षसम्म आमाको दूध र केही थप खानेकुरा खुवाउन सकिन्छ । बच्चाको सरसफाईमा ध्यान दिनु पर्छ । बच्चाको स्याहारसुसारमा ध्यान दिनु पर्छ । आँखामा गाजल लगाउनु हुँदैन । कानमा तेल हाल्न हुँदैन । बच्चाहरूलाई रुघाखोकी लागेमा, ज्वरो आएमा, दूध नखाएमा, श्वासप्रश्वासमा समस्या भएमा बच्चालाई जाँच नगरी औषधि पसलबाट औषधि किनेर खुवाउनु हुँदैन । बच्चालाई समस्या भएको थाहा पाएमा समयमा नै उपचार गरेर धेरै किसिमका समस्याबाट मुक्त हुन सकिन्छ । बच्चालाई नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।