स्वास्थ्यका लागि पोषक मानिने केही खानेकुराहरू एकैपटक सेवन गर्दा उल्टै शरीरलाई गम्भीर असर पार्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्। आयुर्वेद र पोषण विज्ञानका अनुसार गलत संयोजनमा खानेकुरा खाँदा पाचन प्रणाली बिग्रनुका साथै विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने जोखिम हुन्छ।
पोषणविद् डा. हेमराज कोइरालाका अनुसार दुई वा दुईभन्दा बढी गुणकारी खानेकुराहरू पनि एकसाथ खाँदा तिनको प्रकृति नमिल्दा शरीरमा नकारात्मक प्रभाव पर्न सक्छ। “खानेकुराको मात्रा र गलत संयोजनले कतिपय अवस्थामा बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आउन सक्छ,” उनले बताए।
विशेषगरी केही खानेकुराहरू यस्तो छन्, जसलाई सँगै खानु स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
दूध र अमिलो फलफूल सँगै सेवन गर्दा पेटमा दूध फाट्ने र पाचनमा समस्या देखिने सम्भावना हुन्छ। सुन्तला, कागती वा अंगुरजस्ता अमिलो फलसँग दूध मिसाएर खान नहुने सुझाव दिइएको छ।
त्यस्तै दही र माछा दुवै प्रोटिनयुक्त भए पनि तिनको प्रकृति फरक हुने भएकाले एकैपटक सेवन गर्दा छालासम्बन्धी समस्या वा ग्यास्ट्रिक बढ्न सक्छ।
महलाई तातो पानी वा तातो दूधसँग मिसाएर खानु पनि उपयुक्त मानिँदैन। यसो गर्दा महका पोषक तत्व नष्ट हुनुका साथै स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।
दूधसँग नुनिलो खानेकुरा (जस्तै अचार वा तरकारी) सँगै सेवन गर्दा छालामा समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसैगरी करेला र भिन्डी एकैपटक खाँदा अम्लपित्त बढ्ने जोखिम हुन्छ।
धेरैले मन पराउने दही–फलफूलको संयोजन पनि सबैका लागि उपयुक्त नहुन सक्छ। यसले एलर्जी वा पाचन समस्या निम्त्याउन सक्ने सम्भावना रहेको जनाइएको छ।
मासु खाएपछि तुरुन्तै दूध पिउनु पनि पाचनका लागि भारी हुने भएकाले यसबाट टाढा रहन सुझाव दिइएको छ। यस्तै, खरबुजा खाएपछि तुरुन्तै पानी पिउँदा पेट खराब हुने जोखिम रहने बताइएको छ।
विशेषज्ञहरूका अनुसार स्वस्थ रहनका लागि केवल के खाने भन्ने मात्र होइन, कसरी र कुन संयोजनमा खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सही खानपानले स्वास्थ्य जोगाउने भएकाले यस्ता सामान्य तर महत्वपूर्ण कुरामा ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाइ छ।