स्पेनिस सुपर कप फाइनलपछि मैदानमा देखिएको एउटा दृश्यले धेरै कुरा संकेत गर्यो। किलियन एमबाप्पेले आफ्ना सहकर्मीहरूलाई मैदान छाड्न इशारा गरे, प्रशिक्षक जाभी अलोन्सोले बस्न आग्रह गरे, तर एमबाप्पे अडिग रहे। अन्ततः अलोन्सो फर्किए। बार्सिलोनाको उपाधि जितपछि ‘गार्ड अफ अनर’ भएन। धेरैका लागि यो खेलभावनाको कमी मात्र होइन, टोली प्रशिक्षकभन्दा ठूलो भएको संकेत थियो।
तर त्यो क्षण जाभी अलोन्सोको राजीनामा भने थिएन। न त त्यो पूर्वयोजना नै थियो। रियल मड्रिडको प्रशिक्षक बनेको साढे सात महिनामै अलोन्सोले क्लब छाड्ने अपेक्षा गरेका थिएनन्। तर सोमबार दिउँसो करिब ४ः३० बजे क्लब बोर्डको बैठकले एउटै एजेन्डा तय गर्यो: अलोन्सोको विदाइ।
क्लबले आधिकारिक रूपमा यसलाई ‘आपसी सहमति’ भने पनि पछिल्ला महिनाहरूमा रणनीति, खेलशैली र व्यवस्थापनलाई लिएर प्रशिक्षक र क्लबबीच गहिरो मतभेद बढ्दै गएको थियो। क्लब पक्षबाट दिइएका कारणहरू अस्पष्ट थिए उनले बायर लेभरकुसेनमा सफल बनाएको खेलशैली लागू गर्न नसकेको, टोलीको शारीरिक अवस्था कमजोर रहेको, खेलाडीहरूमा सुधार नदेखिएको र टोली उनीका लागि नखेलेको आरोप लगाइयो।
पेरिस सेन्ट-जर्मेनसँग क्लब विश्वकप सेमिफाइनलमा पराजय, एथ्लेटिको मड्रिडसँग ला लिगामा ५–२ को हारजस्ता नतिजा उदाहरणका रूपमा प्रस्तुत गरिए। तर यथार्थ के थियो भने रियल मड्रिड च्याम्पियन्स लिगको शीर्ष आठभित्र थियो, कोपा डेल रेमा अगाडि बढेको थियो र ला लिगामा आधा सिजन सकिँदा बार्सिलोनाभन्दा चार अंक मात्र पछाडि थियो। संकट थियो त?
विश्लेषकहरूका अनुसार यो संकटभन्दा पनि क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अलोन्सोमा कहिल्यै पूर्ण विश्वास नगरेको पुष्टि थियो। अलोन्सो क्लबको रोजाइ त बने, तर दृढ विश्वासका साथ होइन। लेभरकुसेनमा सुरुमा शंका भए पनि नतिजाले टोली उनको पक्षमा उभियो। मड्रिडमा भने अपेक्षाकृत राम्रो नतिजा हुँदाहुँदै पनि त्यो समर्थन बनेन। सुरुदेखि नै अलोन्सो एक्लो महसुस गरिरहेका थिए।
रियल मड्रिडबाट प्रशिक्षक जीवन सुरु गर्नु फुटबलको सबैभन्दा कठिन चुनौती मानिन्छ। व्यक्तिगत चमकमा आधारित संस्कृतिलाई सामूहिक, उच्च प्रेस र अनुशासित खेलशैलीमा रूपान्तरण गर्नु सजिलो हुँदैन। अलोन्सो क्लब विश्वकपपछि मात्र जिम्मेवारी सम्हाल्न चाहन्थे, तर त्यो माग सुनुवाइ भएन।
भित्र्याइएका खेलाडीहरूले पनि अपेक्षित योगदान दिन सकेनन्। फ्रान्को मस्तान्तुओनो ‘एन्टी लामिन यामाल’ भनेर प्रचार गरिए पनि प्रभावहीन रहे। भिनिसियस जुनियरको फर्म खस्कियो, उनले नयाँ प्रशिक्षकमाथि असन्तुष्टि पोख्दै एल क्लासिकोमा प्रतिस्थापनको विरोधसमेत गरे। पछि सबैसँग माफी मागे, तर प्रशिक्षकसँग होइन।
रक्षापंक्ति चोटले थलिएको थियो, क्लबले अलोन्सोले मागेका मिडफिल्डर (मार्टिन जुबिमेन्डी) भित्र्याएन। टोलीलाई एकताबद्ध गर्ने बलिया व्यक्तित्वहरू देखिएनन्। फेडेरिको भाल्भेर्दे समेत सामूहिकताभन्दा आफ्नै भूमिकामा बढी चिन्तित देखिन्थे। एमबाप्पे व्यक्तिगत कीर्तिमानको पछि लागे, चोटबाट पूर्ण रूपमा नउठीकन खेल्दै क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गर्ने प्रयासमा देखिए।
अलोन्सोले आफ्ना खेलाडीहरूलाई आफ्नो दर्शन सही हो भन्ने विश्वास दिलाउन सकेनन्। त्यसैले लेभरकुसेनमा देखिएको उच्च प्रेस, तीव्रता र पोजिसनल फुटबल मड्रिडमा लागू हुन सकेन।
अब अलोन्सोका लागि अगाडि के? नजिकका मानिसहरूका अनुसार, नचाहँदै आएको यो विदाइ उनीका लागि केही हदसम्म राहत पनि हुन सक्छ। यो परियोजना सफल भएन। तर युरोपका ठूला क्लबहरूबाट सन्देश स्पष्ट छ—अवसर मिले उनीहरू अलोन्सोलाई आगामी सिजन खुशीसाथ स्वागत गर्न तयार छन्।
रियल मड्रिड फेरि एकपटक फरक क्लबका रूपमा हेरिएको छ जहाँ प्रशिक्षकलाई सीमित गरिन्छ, महिनौँअघि नै विदाइको वातावरण बनाइन्छ र त्यसमा नजिकको मिडियाले सहयोग गर्छ।
अब कास्टिल्लाका प्रशिक्षक अल्भारो आर्बेलोआ अर्को विकल्पका रूपमा अगाडि छन्। क्लबका आफ्नै मान्छे। तर जाभी अलोन्सोजस्तो दिग्गजले संस्कृति बदल्न नसकेको ठाउँमा आर्बेलोआका लागि चुनौती झनै कठिन हुने निश्चित छ।
यदि यो सिजन ट्रफीविहीन सकियो भने युरोपका ठूला क्लबहरूको धारणा अझ बलियो हुनेछ। र यदि फुटबलका परिचित विरोधाभासझैँ रियल मड्रिडले अन्ततः उपाधि जित्यो भने पनि निष्कर्ष उही हुनेछ—केही प्रशिक्षक केही क्लबका लागि उपयुक्त हुन्छन् र केही क्लबहरू प्रशिक्षित हुनै मान्दैनन्।