विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा बुधबार वीरगञ्जमा जनचेतनामूलक साइकल र्याली आयोजना गरेको छ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा आयोजित र्यालीमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी, सञ्चारकर्मी, युवा अभियन्ता तथा करिब ५० जना विद्यार्थीको सहभागिता रहेको थियो।

जीवन ज्योति स्कुल रानीघाटबाट सुरु भएको र्याली घण्टाघर, बसपार्क, बाइपास रोड, नगवा, रेशमकोठी, माइस्थानलगायत क्षेत्रको परिक्रमा गर्दै पुनः विद्यालय परिसरमा पुगेर सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रमुख कटुवालले वातावरण संरक्षण मानव जीवनको आधार भएको उल्लेख गर्दै वातावरणप्रति जिम्मेवार बन्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरे।
प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज” तथा “प्लास्टिक र प्रदूषणमुक्त वीरगञ्ज” अभियानलाई सार्थक बनाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।