नेपाली क्रिकेट टोलीले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै ओमानलाई ८ विकेटले पराजित गरेको छ। बलिङमा घातक र ब्याटिङमा आक्रामक प्रदर्शन गरेको नेपाल सहज जितसहित फाइनलमा प्रवेश गरेको हो।
सिंगा ओभल ग्राउन्डमा आइतबार बिहान सम्पन्न सेमिफाइनल खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहँदा कुशल भुर्तेलले २० रनको योगदान दिए। आसिफ शेख १ रन बनाएर आउट भएका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलरहरूको दबाब झेल्न नसक्दा १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रन जोडे। अन्य ब्याटरहरू भने नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन्।
नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने। उनले ३ विकेट हात पार्दा सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए।
यो जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ। उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आइतबार दिउँसो सवा १२ बजेदेखि हुँदैछ।
नेपाल, ओमान, हङकङ र मलेसिया यसअघि नै आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन्। अब नेपाल उपाधि जित्दै छनोट अभियानलाई थप गौरवमय बनाउने लक्ष्यमा हुनेछ।