विश्व साइकल दिवसको अवसरमा भारतका महावाणिज्य दूतावास, वीरगञ्जले वीरगञ्ज साइकलिङ क्लबसँगको सहकार्यमा बुधबार वीरगञ्जमा साइकल र्याली आयोजना गरेको छ।
महावाणिज्यदूत श्री देवी सहाय मीनाले दूतावास परिसरबाट हरियो झण्डा देखाएर र्यालीको शुभारम्भ गरेका थिए। र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया हुँदै नेपाल–भारत सीमा नजिक रहेको शंकराचार्य गेटसम्म पुगेको थियो। त्यसपछि सोही मार्ग हुँदै पुनः महावाणिज्य दूतावासमा फर्किएर कार्यक्रम सम्पन्न भएको थियो।
र्यालीमा स्थानीय व्यवसायी, वीरगञ्ज उद्योग वाणिज्य संघका सदस्य, नेपाल युवा उद्यमी मञ्च (वीरगञ्ज शाखा), वीरगञ्ज साइकलिङ क्लबका सदस्य, नागरिक समाजका प्रतिनिधि, महावाणिज्य दूतावासका अधिकारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सहभागीहरूले स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउन छोटो दूरीका लागि साइकललाई यातायातको प्रमुख माध्यमका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको समापनपछि आयोजित संक्षिप्त समारोहलाई सम्बोधन गर्दै महावाणिज्यदूत मीनाले विश्व साइकल दिवसको महत्वबारे प्रकाश पारे। उनले साइकल चलाउनुले स्वास्थ्य र तन्दुरुस्तीमा सकारात्मक प्रभाव पार्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताए। साइकल किफायती, वातावरणमैत्री तथा दिगो यातायातको माध्यम भएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमले स्वस्थ जीवनशैली तथा दिगो यातायात प्रवर्द्धनप्रति नेपाल र भारतको साझा प्रतिबद्धतालाई उजागर गरेको आयोजकले जनाएको छ।