पर्सा जिल्लाका १४ वटै स्थानीय तहलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सरोकारवाला निकायहरूले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहलाई साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई पर्साको सहकार्यमा वीरगञ्जमा आयोजित कार्यक्रममा जिल्लाका १४ वटै स्थानीय तहका शिक्षा अधिकृत, सामुदायिक विद्यालयका प्रधानाध्यापक, सामुदायिक सिकाइ केन्द्रका परिचालक तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा साक्षर घोषणा गर्न आवश्यक मापदण्ड, प्रक्रिया, तथ्याङ्क व्यवस्थापन, अनुगमन तथा प्रमाणीकरणसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गर्न अपनाउनुपर्ने रणनीति, चुनौती र सम्भावित समाधानका उपायबारे समेत छलफल गरिएको थियो।
शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोतीप्रसाद भट्टराईले जिल्लाका सबै स्थानीय तहले चालु आर्थिक वर्षको असार मसान्तभित्र साक्षर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए। उनले साक्षरता अभियानलाई प्रभावकारी बनाउन स्थानीय सरकार, विद्यालय र समुदायबीचको समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले साक्षरतालाई केवल पढ्न र लेख्न सक्ने क्षमतामा सीमित नगरी जीवनोपयोगी सीप, चेतना अभिवृद्धि तथा सामाजिक सहभागितासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
साक्षर जिल्ला निर्माण अभियानलाई सफल बनाउन सबै तह र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको सहभागीहरूको भनाइ थियो।