विवादास्पद आरोपका कारण गृहमन्त्री पदबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथिको सरकारी छानबिन सम्पन्न भएको छ। अब उनको राजनीतिक भविष्य र पुनः सरकारमा फर्किने सम्भावना प्रधानमन्त्रीको निर्णयमा निर्भर रहने भएको छ।
तत्कालीन गृहमन्त्री गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ। समितिका संयोजक तथा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन हस्तान्तरण गरिएको जानकारी दिएका छन्।
‘हाम्रो तर्फबाट काम सकेर प्रतिवेदन बुझाएका छौं, अब बाँकी प्रक्रिया सरकारबाट अघि बढ्छ,’ भण्डारीले बताएका छन्। समितिले ४५ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ।
छानबिनका क्रममा समितिले गुरुङसँग बयान लिनुका साथै उनीमाथि लागेका आरोपबारे सम्बन्धित निकायसँग जानकारी संकलन गरेको थियो। साथै, उनको सम्पत्ति विवरण, सेयर लगानी तथा अन्य आर्थिक गतिविधिसमेत अध्ययन गरिएको जनाइएको छ।
मन्त्रिपरिषद्को गत वैशाख २८ गतेको बैठकले भण्डारीको संयोजकत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो।
गुरुङमाथि विवाद सुरु हुनुको मुख्य कारण सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनको व्यावसायिक साझेदारी देखिनु थियो। गत चैत १९ गते पक्राउ परेका भट्ट हाल पनि प्रहरी हिरासतमै छन्। त्यसपछि गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा केही सेयर लुकाएको तथा विवादित व्यापारीसँग सम्बन्धित कम्पनीमा लगानी रहेको आरोप सार्वजनिक भएको थियो।
बढ्दो जनचासो र आलोचनाबीच गुरुङले गत वैशाख ९ गते प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए। राजीनामापछि सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध उठेका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने बताउँदै पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको धारणा सार्वजनिक गरेका थिए।
गुरुङले राजीनामा दिएको करिब २० दिनपछि सरकारले औपचारिक रूपमा छानबिन समिति गठन गरेको थियो। उनी पदमुक्त भएयता गृह मन्त्रालय प्रधानमन्त्री शाहकै प्रत्यक्ष मातहतमा सञ्चालन हुँदै आएको छ।
अब समितिको प्रतिवेदनले गुरुङलाई निर्दोष ठहराए उनी पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किन सक्ने राजनीतिक चर्चा पनि सुरु भएको छ। यद्यपि अन्तिम निष्कर्ष र त्यसपछिको निर्णय भने सरकारले सार्वजनिक गर्ने प्रतिवेदनको विवरणपछि मात्रै स्पष्ट हुने देखिएको छ।