धागो उत्पादन गर्ने उद्योगबाट एकाएक बाक्लो धुवाँ र आगोको मुस्लो उठ्न थालेपछि बाराको औद्योगिक क्षेत्र शुक्रबार बिहान त्रसित बनेको छ। जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पिनिङ धागो उद्योगमा लागेको आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, दमकल र स्थानीयवासीहरू जुटेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार बिहान करिब १०ः४० बजे उद्योगमा आगलागी भएको सूचना प्राप्त भएपछि विभिन्न सुरक्षा निकायको टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा ६ जना, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवको नेतृत्वमा ४ जना तथा औद्योगिक सुरक्षा बेस सशस्त्र प्रहरी बल जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको नेतृत्वमा ५ जना सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।
आगो नियन्त्रणका लागि जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, अमलेखगञ्जस्थित नेपाल आयल निगम तथा वीरगञ्ज महानगरपालिकाका दमकल परिचालन गरिएको छ। पाँचवटा दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणको कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक रूपमा विद्युत् सर्टका कारण आगलागी भएको अनुमान गरिए पनि वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ। प्रहरीका अनुसार प्राविधिक परीक्षण तथा विस्तृत अनुसन्धानपछि मात्रै आगलागीको कारण स्पष्ट हुनेछ।
घटनाबाट उद्योगभित्र रहेका कच्चा पदार्थ, मेसिनरी उपकरण तथा भौतिक संरचनामा कति क्षति पुगेको छ भन्ने विवरण अझै खुल्न सकेको छैन। आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्र क्षतिको यथार्थ मूल्यांकन गर्न सकिने बताइएको छ।
प्रहरीले आगलागीसम्बन्धी विस्तृत अनुसन्धान अघि बढाइने जनाएको छ। साथै क्षतिको परिमाण, आगलागीको कारण र अन्य सम्बन्धित विवरण अनुसन्धान सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ।