वीरगञ्जको क्रिकेट यात्राले फेरि अन्तर्राष्ट्रिय मञ्च छोएको छ। रोहित पौडेलको कप्तानीमा घोषित टी–२० विश्वकपको १५ सदस्यीय नेपाली टोलीमा वीरगञ्जका स्टार दाजुभाइ आसिफ शेख र आरिफ शेख अट्दै शहरको पहिचान विश्वकपसम्म विस्तार भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने टी–२० विश्वकपका लागि अन्तिम टोली घोषणा गरेको हो। टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेका छन्। घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम समावेश छन्।
विकेटकिपर–ब्याटर आसिफ शेख र अलराउन्डर आरिफ शेखको एकैसाथ चयनले वीरगञ्ज मात्र होइन, मधेस क्षेत्रकै क्रिकेट समर्थकमा विशेष उत्साह थपिएको छ। निरन्तर प्रदर्शन र अनुभवका आधारमा टोलीमा स्थान बनाएका शेख दाजुभाइ विश्वकपमा नेपालको महत्वपूर्ण आधार रहने अपेक्षा गरिएको छ।
अक्टोबरमा ओमानमा सम्पन्न टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट खेलेको टोलीबाट दुई खेलाडी परिवर्तन गरिएको छ। कुशल मल्ल र आदिल आलम अन्सारीको स्थानमा बसिर अहमद र शेर मल्ललाई समेटिएको हो। अघिल्लो महिना सम्पन्न नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई उपाधि दिलाउने क्रममा शेर मल्लले संयुक्त रूपमा सर्वाधिक १७ विकेट लिँदै इमर्जिङ खेलाडीको उपाधि जितेका थिए।
ओमान छनोटमा ‘ट्राभलिङ सदस्य’ का रूपमा रहेका शाहब आलम अन्तिम १५ मा पर्न सकेनन्। साथै २४ सदस्यीय प्रारम्भिक टोलीका भीम सार्की, इशान पाण्डे, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश सिंह पनि अन्तिम टोलीबाट बाहिरिएका छन्।
नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो। समूह चरणमा नेपालले इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकपमा सहभागिता जनाएको थियो।