वीरगन्जमा हाल देखिएको धार्मिक प्रदर्शन, आन्दोलन तथा त्यसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा आज बसेको बैठकले शान्ति, सद्भाव र सामाजिक सहिष्णुता कायम राख्ने उद्देश्यसहित पाँच बुँदे निर्णय गरेको हो।
बैठकका निर्णयअनुसार अब वीरगन्जमा कुनै पनि घटना वा दुर्घटनालाई लिएर प्रदर्शन, आन्दोलन वा विरोध कार्यक्रम गर्नुपर्ने भएमा सम्बन्धित पक्षले पीडित पक्षको तर्फबाट प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त भएपछि मात्र आन्दोलनका कार्यक्रम सञ्चालन गर्न पाइने निर्णय गरिएको छ।
यस्तै, बैठकमा सहभागी सम्पूर्ण राजनीतिक दल, संघ–संस्था, महाधिवक्ता तथा स्थानीय जनप्रतिनिधिहरू सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय गरिएको छ। उक्त संयन्त्रले आज बेलुकी ४ बजे वीरगन्ज बजार क्षेत्रमा सद्भाव ¥याली आयोजना गर्ने जनाइएको छ।
बैठकले सबै प्रकारका विवादलाई संवाद र संयमका माध्यमबाट समाधान गर्न जोड दिँदै धार्मिक, सांस्कृतिक तथा सामाजिक सहिष्णुता खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावविरुद्ध उत्तेजनात्मक अभिव्यक्ति वा गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने निर्णय समेत बैठकले गरेको छ। साथै सबै पक्षले आफ्ना कमजोरी आत्मसमीक्षा गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा सहभागी सबै संघ–संस्था, पदाधिकारी तथा महाधिवक्ताहरूले आजका निर्णयहरू आफ्ना–आफ्ना वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गर्ने र निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने निर्णय गरिएको छ। विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाइएको छ।