आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी स्टार पेसर मुस्ताफिजुर रहमानलाई अचानक हटाइएपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) भारतमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को सुरक्षा व्यवस्थालाई लिएर गम्भीर चिन्तामा परेको छ। बीसीबीले खेलाडी, समर्थक, सञ्चारकर्मी र प्रायोजकको सुरक्षाबारे स्पष्टता माग्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई औपचारिक पत्र पठाउने निर्णय गरेको छ।
सिल्हेटमा बसेको बीसीबी निर्देशकहरूको आपतकालीन बैठकले आईसीसीलाई पत्र लेख्ने तथा मुस्ताफिजुरलाई केकेआर टोलीबाट हटाइनुको कारणबारे भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँग औपचारिक स्पष्टीकरण माग्ने निर्णय गरेको हो। बीसीसीआईको निर्देशनपछि केकेआरले मुस्ताफिजुरलाई टोलीबाट मुक्त गरे पनि त्यसको स्पष्ट कारण सार्वजनिक गरिएको छैन।
‘एक खेलाडी सुरक्षित नभए टोली कसरी सुरक्षित हुन्छ?’
बीसीबी अधिकारीहरूका अनुसार मुस्ताफिजुर प्रकरणपछि देशभित्र तीव्र प्रतिक्रिया आएको छ। क्रिकेट क्षेत्रका व्यक्तित्व तथा विभिन्न समूहले भारतमा विश्वकपका समूह चरणका खेल खेल्ने निर्णय पुनर्विचार गर्नुपर्ने माग गरेका छन्।
“यदि एउटा खेलाडीको सुरक्षा सुनिश्चित हुन सकेन भने, सम्पूर्ण टोली, समर्थक र सञ्चारकर्मीको सुरक्षा कसरी सुनिश्चित हुन्छ भन्ने स्वाभाविक प्रश्न उठ्छ,” बीसीबी अधिकारीहरूले बताएका छन्।
एक उच्च बीसीबी अधिकारीले क्रिकबजलाई भने, “हामी आईसीसीलाई तीन विषय समेटेर पत्र पठाउँदैछौं। पहिलो, मुस्ताफिजुरलाई आईपीएलबाट हटाइनुको कारण के हो? दोस्रो, विश्वकपका क्रममा हाम्रो सुरक्षा योजना के छ? तेस्रो, खेलाडी मात्र होइन, भारत जाने समर्थक, सञ्चारकर्मी र प्रायोजकहरूको सुरक्षा स्थिति के हुनेछ?”
विश्वकप तालिका
आईसीसी टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि सुरु हुँदैछ। बंगलादेश समूह ‘सी’ मा वेष्ट इन्डिज, इङ्ग्ल्यान्ड, नेपाल र इटालीसँग परेको छ।
बंगलादेशले उद्घाटन खेल फेब्रुअरी ७ मा कोलकाताको इडेन गार्डेन्समा दुईपटकको च्याम्पियन वेष्ट इन्डिजविरुद्ध खेल्नेछ। त्यसपछि फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्ग्ल्यान्डसँग पनि कोलकातामै प्रतिस्पर्धा हुनेछ। समूह चरणको अन्तिम खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालविरुद्ध हुनेछ।
बीसीसीआईसँग छुट्टै पत्र
बीसीबीले मुस्ताफिजुरलाई केकेआरबाट हटाइएको वास्तविक कारणबारे बीसीसीआईलाई पनि छुट्टै पत्र पठाउने तयारी गरेको छ। “मुस्ताफिजुर किन र कसरी टोलीबाट हटाइए भन्ने विषयमा स्पष्ट जानकारी लिन बीसीसीआईलाई इमेल पठाउँदैछौं,” अधिकारीले बताए।
३० वर्षीय मुस्ताफिजुरले आईपीएल अक्सनमा बलियो चासो पाएका थिए। केकेआरले उनलाई ९.२ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो भने अन्य दुई फ्रेन्चाइजले पनि उनको लागि बोली लगाएका थिए। यसअघि उनी चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन्।