धनुषामा मस्जिदमा तोडफोड गर्दै पवित्र धार्मिक ग्रन्थ कुरान जलाइएको घटनाको विरोधमा वीरगन्ज आइतबार बिहानैदेखि तनावग्रस्त बनेको छ। मुस्लिम समुदायले सडकमै टायर बाल्दै नाराबाजी गरेपछि प्रदर्शन उग्र बन्दा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।
धनुषा जिल्लाको धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गर्नुका साथै कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। उक्त घटनाको विरोधमा वीरगन्जका विभिन्न स्थानमा मुस्लिम समुदाय प्रदर्शनमा उत्रिएको हो।
प्रदर्शनकारीहरूले वीरगन्जको घण्टाघर, मुर्ली र छपकैया इदगाह चोकलगायत क्षेत्रमा सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका थिए। यसक्रममा छपकैया इदगाह चोकमा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा एक जना प्रहरी सामान्य घाइते भएको जनाइएको छ।
प्रदर्शनमा सहभागीहरूले मुस्लिम धर्मावलम्बीको पवित्रस्थल मस्जिदमा पसेर तोडफोड गर्ने तथा धार्मिक ग्रन्थ कुरान जलाउने दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
छपकैया मदरशाका मौलाना असगर मदनीले नेपालमा धार्मिक सद्भाव भड्काउने नियतले मस्जिदमा तोडफोड र कुरान जलाउने जघन्य कार्य भएको आरोप लगाए। उनले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
घटनापछि वीरगन्जमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।