विश्वभर झैँ नेपालमा पनि ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष इस्वी संवत् २०२६ को उल्लासमय स्वागत गरिएको छ । बुधबार मध्यरात १२ बजेपछि विश्वभर सन् २०२५ लाई बिदाइ गर्दै नयाँ वर्ष २०२६ को सुरुवात भएको हो ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि सुरु भएको मानिने यो संवत्लाई 'ग्रेगोरियन पात्रो' पनि भनिन्छ। शासक जुलियस सिजरले सुरु गरेको 'जुलियन पात्रो' मा गणनासम्बन्धी केही विवाद देखिएपछि पोप ग्रेगोरियनले यसको परिमार्जन गरी नयाँ पात्रो लागू गरेका थिए ।
पूर्वप्रशासक तथा ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीका अनुसार सुरुवाती समयमा केही देशले यसलाई स्वीकार गर्न ढिलाइ गरेका थिए। रसियाले समेत झण्डै २०० वर्षपछि मात्र यसलाई औपचारिक रूपमा अपनाएको थियो । यद्यपि, उपनिवेशकालमा विश्वका विभिन्न मुलुकमा फैलिएसँगै हाल यो संवत् विश्वव्यापी रूपमा प्रचलनमा रहेको छ ।
नेपालको औपचारिक पात्रो विक्रम संवत् भए तापनि पछिल्ला वर्षहरूमा इस्वी संवत् मनाउने प्रचलन निकै बढेको छ। विशेष गरी विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने काठमाडौँको ठमेल, बौद्ध, स्वयम्भू र दरबारमार्ग क्षेत्र बुधबार साँझदेखि नै ‘न्यु इयर इभ’ को उत्सवले झकिझकाउ देखिएका छन् ।
पर्यटकीय नगरी पोखरा, चितवनको सौराहा र लुम्बिनीमा पनि नयाँ वर्षको स्वागतमा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्। होटल, रेस्टुरेन्ट र क्लबहरूमा पर्यटकहरूको उल्लेख्य भिड देखिएको छ ।
नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकहरूको आवागमन पनि निकै बढेको छ। काठमाडौँ बाहिरका गन्तव्यहरू पर्साको ठोरी, चितवनको माडी, निजगढको नुनथर, हेटौँडाको सहिद पार्क लगायतका क्षेत्रहरूमा पिकनिक मनाउने र घुमघाम गर्नेहरूको बिहानैदेखि चहलपहल सुरु भएको छ ।
इस्वी संवत् २०२६ को सुरुवातसँगै सर्वसाधारणले एकआपसमा शुभकामना साटासाट गर्दै शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको कामना गरेका छन् । सामाजिक सञ्जालहरू नयाँ वर्षका शुभकामना सन्देशले भरिएका छन् भने देशभरका प्रमुख सहरहरूमा नयाँ वर्षको स्वागतमा छुट्टै रौनक छाएको छ ।