प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम निर्वाचन भएको बताउँदै प्रसाईंलाई यसमा सहयोग गर्न आग्रह गरेकी छन्।
प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति सहन नसक्ने भन्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न पनि सुझाइन्। साथै उनले प्रसाईंलाई जनतामा गएर आफ्ना मुद्दा अनुमोदन गराउन पनि अनुरोध गरेकी छन्।
माघ अघि मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै आएका प्रसाईंलाई प्रधानमन्त्रीले जनताबाट आफ्नो मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको बताइन्। उनले निर्वाचनको अवसरको सदुपयोग गर्न पनि आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थामा फर्काएका छौँ। सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहौलमा होमिएको छ। यस्तो बेला सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा राखिन्छ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै जिम्मेवार बनौँ।”
यस अवसरमा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहारस्वरूप दिइन्। उनले थपिन्, “हामी पनि न्यायका पक्षधर हौँ। यहाँ सत्ताभोग र सुखसयलका लागि आएको होइनौँ। भ्रष्टाचारको अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। केही नतिजा रातारात नदेखिए पनि आधारशीला तयार पार्दै आएका छौँ। प्रसाईंले उठाएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेको छ। अझै थप छलफल गर्दै जाऔँला।”