राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा राजनीतिक अनुहारभन्दा फिल्म, संगीत र ब्यूटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीहरूको वर्चस्व देखिएको छ। ११० जनाको नामावलीमा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थितिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ।
मनोरञ्जन जगत्का पूर्वमिस नेपालदेखि गायक, अभिनेता र टेलिभिजन कार्यक्रम सञ्चालकसम्म सूचीमा समेटिएका छन्। सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट सूचीको चौथो स्थानमा परेकी छन्।
दलित क्लस्टरबाट गायक तथा अभिनेता प्रकाश सपुत दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे छन्, जो पेशाले चिकित्सकसमेत हुन्।
दलित महिला क्लस्टरबाट टिभी कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा पहिलो स्थानमा अटाएकी छन्। गायक, अभिनेता तथा टिभी होस्ट आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो स्थानमा परेका छन्।
यसैगरी, चर्चित गायिकाद्वय सत्यकला राई र त्रिशला गुरुङ पनि समानुपातिक उम्मेदवारको सूचीमा समावेश छन्।
सोमबार रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्व नेपाल विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङ समूहसँग सहकार्य गर्दै ११० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको हो। रास्वपासँग एकता हुनुअघि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले क्यूएफएक्स प्रमुख नकिम उद्दिनसहित केही कलाकारको नाम सिफारिस गरेको थियो।
तर अन्तिम रूपमा पेस गरिएको ११० जनाको सूचीमा उनीहरूको नाम समावेश गरिएको छैन।