मतपत्र छपाइ सुरु भएसँगै प्रतिनिधि सभा निर्वाचनको घडी औपचारिक रूपमा चल्न थालेको छ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ। आयोगका अनुसार सुरुमा समानुपातिक प्रणालीतर्फका मतपत्र छापिनेछन् भने त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छापिने छन्।
मतपत्र छपाइ भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा हुनेछ। आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छाप्ने तालिका तय गरिसकेको थियो।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फ सहभागी हुने राजनीतिक दल र तिनका निर्वाचन चिह्न अन्तिम भइसकेकाले सोहीतर्फका मतपत्र छपाइबाट प्रक्रिया सुरु गरिएको हो।
‘५८ वटा राजनीतिक दल र ६४ वटा निर्वाचन चिह्न एकिन भइसकेकाले सुरुमा समानुपातिकको मतपत्र छाप्ने काम हुन्छ,’ उनले भने।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको आयोगले जनाएको छ। आयोगको नीतिअनुसार समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छापिने छ।
समानुपातिकतर्फको मतपत्र छाप्न २० देखि ३० दिन लाग्ने अनुमान गरिएको छ। उक्त प्रक्रिया पूरा भएपछि प्रत्यक्षतर्फका मतपत्र छाप्ने काम सुरु हुनेछ।
प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन्। ‘निर्वाचन क्षेत्रअनुसार दलको सहभागिता र निर्वाचन चिह्न फरक हुने भएकाले मतपत्र पनि सोहीअनुसार छाप्नुपर्छ,’ सहायक प्रवक्ता जीसीले बताए।
उनका अनुसार प्रत्यक्षतर्फका मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि मात्रै छापिनेछन्।