फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका लागि सञ्चारमाध्यममार्फत हुने चुनावी प्रचार–प्रसारमा कडा सीमा तोकेको छ। आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार अब टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन माध्यमबाट हुने प्रचार नियन्त्रित ढंगले मात्रै गर्न पाइने व्यवस्था गरिएको हो।
आचारसंहिताअनुसार राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोमार्फत २४ घण्टामा कम्तीमा एक घण्टाको अन्तरालमा बढीमा चार पटकसम्म विज्ञापन प्रसारण गर्न पाउनेछन्। एक पटकमा अधिकतम एक मिनेटसम्म मात्र प्रचार सामग्री प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ।
पत्रपत्रिकामार्फत प्रचार–प्रसार गर्दा भने प्रत्येक दिन कुनै एउटा पत्रिकामा बढीमा चार कोलम × २५ सेन्टिमिटर उचाइसम्मको आकारमा मात्रै प्रचार सामग्री प्रकाशन गर्न पाइनेछ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका हकमा पनि यही सीमा लागू हुनेछ।
अनलाइन सञ्चारमाध्यममार्फत गरिने निर्वाचन प्रचार–प्रसारमा पनि कडाइ गरिएको छ। सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकृत अनलाइन सञ्चारमाध्यमबाट मात्र प्रचार गर्न पाइने व्यवस्था आयोगले गरेको छ। अनलाइन माध्यममा प्रकाशित वा प्रसारित प्रचार सामग्रीमा ‘स:शुल्क विज्ञापन’ भएको स्पष्ट जनाउ अनिवार्य गरिएको छ।
आचारसंहितामा गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति समावेश गर्न नपाइने स्पष्ट उल्लेख छ। साथै, अनलाइन, टेलिभिजन, रेडियो वा पत्रपत्रिकामार्फत गरिएको सबै प्रचार–प्रसारमा लागेको खर्च विवरण उम्मेदवार वा दलले निर्वाचन खर्च विवरणमा अनिवार्य समावेश गर्नुपर्नेछ।
निर्वाचन आयोगले विदेशी सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न र गराउन नपाइने व्यवस्था समेत कडाइका साथ लागू गरेको छ।