वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा उभ्याउने निर्णायक कदमस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच आज बिहान ‘बृहत् एकता’मा औपचारिक सहमति भएको छ। दुवै नेताले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिने भएको छ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन—विशेषतः भदौ २३ र २४ को जेनजी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने उल्लेख गरिएको छ।
बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी तथा सार्वजनिक छवि भएका युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने सहमतिमा उल्लेख छ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई अन्य परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि सहकार्यका लागि आह्वान गर्ने निर्णय गरिएको छ।
रास्वपा र बालेन्द्र शाहबीच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद हुँदै आएको थियो। विशेष गरी गत हप्ता सोमबारदेखि निरन्तर भेटघाट र छलफलपछि साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशामा सहमति जुट्दै आज औपचारिक एकताको घोषणा भएको हो।
यस्तो छ सात बुँदे सहमति
