सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै वीरगन्जस्थित सिद्धार्थ बैंकले आज आफ्नो २३ औं वार्षिकोत्सव भव्य तथा अर्थपूर्ण ढंगले मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले औपचारिक कार्यक्रमभन्दा फरक पहिचान बनाउँदै मानवीय सेवामा आधारित रगतदान कार्यक्रम आयोजना गरी समाजप्रति आफ्नो प्रतिबद्धता पुनः स्पष्ट पारेको छ ।
सिद्धार्थ बैंकको वीरगन्जस्थित मुख्य शाखा र मुर्ली शाखाले संयुक्त रूपमा आयोजना गरेको उक्त रगतदान कार्यक्रम मुर्लीस्थित बैंक परिसरमा सम्पन्न भएको हो ।
कार्यक्रममा ५३ जनाले स्वेच्छिक रगतदान गरेका छन् । रगतदान गर्नेहरूमध्ये ३ जना महिला सहभागी हुनु सामाजिक सेवामा महिलाको सक्रिय सहभागिताको उदाहरण बनेको छ ।
कार्यक्रमबारे जानकारी दिँदै सिद्धार्थ बैंककी श्वेता मानन्धरले सामाजिक सेवाको भावनालाई आत्मसात गर्दै वार्षिकोत्सवलाई मानवीय कार्यमार्फत मनाइएको बताइन । उनका अनुसार रगतदान जस्तो जीवनरक्षक कार्यमा बैंकका कर्मचारी, सेवाग्राही तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो ।
सिद्धार्थ बैंक मुर्ली शाखाका ब्रान्च प्रमुख भरत पौडेलले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवाअन्तर्गत रगतदान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा सम्बोधन गर्दै उनले बैंक केवल वित्तीय कारोबारमा सीमित नभई समाजका पीडामा साथ दिने संस्थाका रूपमा अघि बढिरहेको उल्लेख गरे ।
उनले भने, “सेवाग्राही बैंकका भगवान हुन् । जसरी भगवानको सेवामा कुनै कमी हुँदैन, त्यसैगरी जनताको सेवामा पनि बैंकले कुनै कमी राख्दैन । सरल, सहज र विश्वासिलो सेवा दिन हामी प्रतिबद्ध छौं ।”
पौडेलले रगतदानजस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
बैंकको दीर्घकालीन लक्ष्य भनेको वित्तीय पहुँचसँगै सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनु रहेको उनको भनाइ थियो ।
वार्षिकोत्सव तथा रगतदान कार्यक्रममा सिद्धार्थ बैंकका मधेस प्रदेश प्रमुख ज्ञानेन्द्र कार्की, वीरगन्ज शाखा प्रमुख मात्रिका खनाल, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहल, पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकलगायत पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले रगतदान कार्यक्रमको प्रशंसा गर्दै सिद्धार्थ बैंकले वित्तीय संस्थाको भूमिकासँगै सामाजिक सेवामा देखाएको सक्रियतालाई अनुकरणीय कदमका रूपमा मूल्यांकन गरेका छन् ।
जीवन बचाउने यस्ता कार्यक्रमहरूले समाजमा मानवता, सहयोग र सहकार्यको भावना बलियो बनाउने उनीहरूको भनाइ थियो ।
यसरी, सिद्धार्थ बैंकले आफ्नो २३ औं वार्षिकोत्सवलाई केक काट्ने औपचारिकतामा सीमित नराखी मानवीय सेवामार्फत समाजसँग जोडिने अवसरका रूपमा रूपान्तरण गरेको छ ।
बैंकको यो पहलले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व कसरी निर्वाह गर्न सक्छ भन्ने सन्देश पनि दिएको सेवाग्राहीहरुको धारणा छ।