राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सोमबार राति करिब ६ घन्टा लामो ‘सुखद संवाद’ भएको छ। भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमदेखि आगामी फागुन २१ गतेको निर्वाचनसम्म सहकार्यको सम्भावनाबारे छलफल भएको रास्वपा उपसभापति डिपी अर्यालले बताएका छन्।
काठमाडौंमा रास्वपाका पूर्वसांसद असिम शाहको निवासमा भएको उक्त भेटवार्ता राति करिब साढे १ बजेसम्म चलेको थियो। छलफलपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए। भेटमा रास्वपातर्फ रवि लामिछाने, डिपी अर्याल र असिम शाह सहभागी थिए भने बालेन पक्षबाट कुमार बेन, निश्चल बस्नेतलगायत सहभागी थिए।
भेटवार्तामा सहभागी उपसभापति अर्यालका अनुसार संवाद तीन प्रमुख विषयमा केन्द्रित थियो। “पहिलो, हालै पितृशोकबाट बाहिर आउनुभएका बालेनजी र लामो समय जेल जीवन बिताएर फर्किनुभएका रविजीबीच व्यक्तिगत र आत्मीय कुराकानी भयो,” उनले भने।
दोस्रो विषय भदौ २३ र २४ गते भएका घटनाबारे केन्द्रित रहेको अर्यालले जानकारी दिए। ती घटनाहरू कसरी भए, त्यसको राजनीतिक दलहरूमा परेको प्रभाव र समग्र राजनीतिक वातावरणबारे विश्लेषण गरिएको उनले बताए।
तेस्रो र सबैभन्दा चासोको विषय भने आगामी फागुन २१ गतेको निर्वाचनमा रास्वपा र बालेनबीच सहकार्य गर्ने सम्भावनाबारे रहेको अर्यालले बताए। “आगामी चुनावमा मिलेर अघि बढ्ने विषयमा उहाँहरूबीच सकारात्मक र सुखद कुराकानी भएको छ,” उनले भने, “यसका प्रगतिबारे चरणबद्ध रूपमा सार्वजनिक गरिनेछ।”
भेटवार्ताका आयोजक असिम शाहले पनि उक्त भेटलाई ‘सुखद सुरूआत’को संज्ञा दिएका छन्। भेटपछि उनले फेसबुकमा लेखेका छन्, “अन्ततः कथाको सुखद सुरूआत भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।”
सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएपछि लामिछानेले राजनीतिक संवादलाई तीव्र बनाएका छन्। पछिल्ला दुई दिनमा उनले दोस्रो पटक काठमाडौं महानगरका मेयर बालेन शाहसँग छलफल गरेका हुन्।
बालेन निकट स्रोतका अनुसार लामिछानेले पार्टी नेतृत्व र प्रधानमन्त्री फरक–फरक बनाउने अवधारणा अघि सार्दै फागुन २१ को आमनिर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहकार्यको प्रस्ताव राखेका छन्। यसका लागि बालेनसमेत संलग्न ‘देश विकास पार्टी’ र रास्वपा एकीकरण गरी एकीकृत पार्टीको नाम रास्वपा नै राख्ने प्रस्तावसमेत गरिएको दाबी स्रोतको छ।
यसैबीच, रास्वपा नेता तथा पूर्वसांसद शिशिर खनालले पनि मेयर बालेन शाहलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि सार्न सकिने स्वीकार गरेका छन्। कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठसँगको अन्तर्वार्तामा खनालले बालेन शाहलाई स्वाभाविक विकल्पको रूपमा पार्टीले हेरेको बताएका हुन्।
धरौटीमा रिहा भएसँगै राजनीतिक सक्रियता बढाएका लामिछानेले काठमाडौं फर्किएपछि जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भेट गरेका थिए। आइतबार उनीसहितको रास्वपा टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गरेको थियो।