राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय आउन अब एक साता मात्र बाँकी छ । बन्दसूची पेस गर्ने मिति नजिकिँदै गर्दा समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको थियो । निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो । तोकिएको अवधिमा एक सय राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलहरूले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ ।
समावेशी कोटाअनुसार बन्दसूची अनिवार्य
समानुपातिक प्रणालीतर्फ बन्दसूची बुझाउँदा समावेशी कोटाअनुसार उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था छ । यसअघि २०७९ सालको निर्वाचनमा २०६८ सालको जनगणनाअनुसार समावेशी कोटा निर्धारण गरिएको थियो ।
यसपटक भने २०७८ सालको जनगणनाको तथ्यांकका आधारमा समावेशी कोटा निर्धारण गरिएको छ । सो प्रयोजनका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन संशोधन गरेको हो । राष्ट्रपतिबाट गत शुक्रबार जारी अध्यादेशअनुसार अब राजनीतिक दलहरूले २०७८ सालको जनगणनाअनुसार समावेशी कोटा मिलाएर समानुपातिकतर्फको बन्दसूची बुझाउनुपर्नेछ ।
११० सिटका लागि कोटा निर्धारण
विद्यमान कानुनअनुसार प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिन्छ ।
निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार समानुपातिकतर्फका ११० सिटका लागि दलहरूले बन्दसूची बुझाउँदा खस आर्य समुदायबाट ३३, आदिवासी जनजातिबाट ३२, मधेशी समुदायबाट १८, दलित समुदायबाट १५, थारू समुदायबाट ७ र मुस्लिम समुदायबाट ५ जनाको नाम समावेश गर्नुपर्नेछ । साथै, समग्र सूचीमा कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
सूची प्रकाशनको तालिका
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको प्रारम्भिक बन्दसूची आगामी माघ ४ गते सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । प्रारम्भिक सूचीउपर दाबी, विरोध तथा उजुरीको छानबिनपछि माघ २७ गते अन्तिम बन्दसूची प्रकाशन गरिनेछ ।
यसैबीच, प्रत्यक्षतर्फको निर्वाचन प्रक्रियाअनुसार प्रतिनिधि सभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।