नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पर्साका तीन जना उम्मेदवार विजयी भएका छन् भने अन्य उम्मेदवार पराजित भएका छन्।
मतगणनाको पछिल्लो नतिजाअनुसार ओली प्यानलबाट विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका प्रभु हजरा, विजयकुमार सरावगी र निर्मला देवकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
खुला दलित क्लस्टरबाट उम्मेदवारी दिएका निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले १ हजार ४६५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्।
त्यस्तै, मधेसी (खुला) क्लस्टरतर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले १ हजार ४३५ मत ल्याएर केन्द्रीय कमिटीमा स्थान बनाएका छन्।
सोहीगरी, भूगोल (मधेसी) महिला क्लस्टरतर्फबाट उम्मेदवारी दिएकी निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटाले १ हजार ३२५ मत प्राप्त गर्दै विजयी भएकी छन्।
यसैबीच, पर्साबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू भने पराजित भएका छन्। पराजित हुनेहरूमा पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पूर्व मधेस प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीका इन्चार्ज नवराज शर्मा, रञ्जु फुयाँल र अरविन्द सिंह रहेका छन्।