अमेरिकी उद्यमी एलन मस्कले विश्व धनसम्पत्तिको इतिहासमै नयाँ कीर्तिमान कायम गरेका छन्। फोर्ब्सका अनुसार सोमबार मध्याह्नसम्म मस्कको कुल सम्पत्ति ६७७ अर्ब अमेरिकी डलर पुगेको छ, जससँगै उनी विश्वमै पहिलोपटक यति ठूलो सम्पत्ति हुने व्यक्ति बनेका हुन्।
मस्कको सम्पत्तिमा देखिएको यो अभूतपूर्व वृद्धिको मुख्य कारण उनको अन्तरिक्ष कम्पनी स्पेसएक्स हो। समाचार एजेन्सी रोयटर्सका अनुसार हाल स्पेसएक्सको मूल्यांकन करिब ८०० अर्ब डलर पुगेको छ। मस्कको यस कम्पनीमा करिब ४२ प्रतिशत हिस्सेदारी रहेकाले मूल्यांकन वृद्धिबाट मात्र उनको सम्पत्तिमा करिब १६८ अर्ब डलर थपिएको बताइएको छ।
यसअघि गत अक्टोबरमै ५०० अर्ब डलरको आँकडा पार गर्ने पहिलो व्यक्ति बनेका मस्कले केही महिनामै अर्को ठूलो आर्थिक उपलब्धि हासिल गरेका हुन्। विश्लेषकहरूका अनुसार सन् २०२६ मा स्पेसएक्सको आईपीओ ल्याउने तयारीको खबरले पनि कम्पनीको मूल्य र मस्कको सम्पत्तिमा उल्लेखनीय वृद्धि गराएको छ।
स्पेसएक्ससँगै मस्कको विद्युतीय कार कम्पनी टेस्ला ले पनि उनको कुल सम्पत्तिमा योगदान पुर्याइरहेको छ। पछिल्लो समय टेस्ला कारको बिक्रीमा केही गिरावट देखिए पनि यस वर्ष हालसम्म कम्पनीको सेयर मूल्य करिब १३ प्रतिशतले वृद्धि भएको छ। मस्कसँग टेस्लामा झण्डै १२ प्रतिशत स्वामित्व रहेको छ। हालै रोबोट्याक्सी परीक्षण सुरु भएको खबरपछि सोमबार मात्रै टेस्लाको सेयर करिब चार प्रतिशतले बढेको थियो।
त्यसैगरी मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी xAI पनि लगानीकर्ताको ध्यानमा छ। रिपोर्टहरूका अनुसार xAI ले १५ अर्ब डलर बराबरको नयाँ लगानी जुटाउने तयारी गरिरहेको छ, जसबाट कम्पनीको मूल्यांकन करिब २३० अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
फोर्ब्सका अनुसार मस्कको सम्पत्ति अहिले विश्वका दोस्रो नम्बरका सबैभन्दा धनी व्यक्तिभन्दा पनि सयौं अर्ब डलरले अघि पुगेको छ। आर्थिक विश्लेषकहरूका अनुसार उनी विश्वकै पहिलो ‘ट्रिलिनियर’ बन्ने दिशामा तीव्र गतिमा अघि बढिरहेका छन्।
अन्तरिक्ष, विद्युतीय सवारी साधन र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता भविष्यका क्षेत्रमा मस्कको आक्रामक लगानी र व्यवसायिक विस्तारले उनलाई आधुनिक विश्व अर्थतन्त्रका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक बनाएको छ।