‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष भएको दाबी गर्ने प्रकाश पाठकले १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको इमेल पठाएपछि नेपाल प्रहरीले व्यापक अनुसन्धान अघि बढाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन मन्त्रीहरू आरजु राणा, रमेश लेखक, बालकृष्ण खाणलगायतलाई पठाइएको धम्कीपत्रमा पाठकले आफूहरूद्वारा ‘भ्रष्ट प्रशासक’को हत्या गर्ने निर्णय गरिएको उल्लेख छ।
पत्रमा प्रमुख राईलाई “१० दिनभित्र राजीनामा दिनुहोस्, नत्र मारिनुपर्नेछ” जस्तो चेतावनीसम्म लेखिएको छ। पाठकले भदौ २४ गते जेलबाट फरार कैदीलाई प्रयोग गरी हमले गर्ने र जिम्मेवारी आफूले लिने दाबी पनि इमेलमार्फत गरेका छन्।
धम्की आएपछि नेपाल प्रहरीका विभिन्न युनिट केन्द्रीय अनुसन्धान ब्युरो (CIB) सहितले पाठकको ठेगाना, स्रोत र समूहबारे खोजी तीव्र पारेका छन्। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार, “इमेल पठाउने व्यक्ति नेपालमै नभएको देखिन्छ, खोजी जारी छ।”
उक्त व्यक्तिले आफ्नो फेसबुकमा भिडियो समेत राखेर आफू समूहको अध्यक्ष भएको, अख्तियार प्रमुख राईसहित १० जनाको हत्या गर्ने योजना बनाएको र प्रहरी आफूमाथि छापामारिरहेको दाबी गरेका छन्। भिडियोमा उनले भारतका विभिन्न स्थानहरूमा बस्दा निरन्तर स्थान परिवर्तन गरिरहेको र ‘मलाई समात्नु भन्दा आफैं आफ्नो ज्यानको सुरक्षा गर’ भन्दै राईलाई खुलेआम चुनौती दिएका छन्।
प्रकाश पाठकको ‘समूह’ कति ठूलो छ भन्नेबारे अझै खुल्न बाँकी छ। यसको भित्री संरचना, उद्देश्य र वास्तविकताबारे प्रहरीले गम्भीरता साथ अनुसन्धान गरी रहेको जनाएको छ।