लायन्स क्लब बिरगंज परिवारले सञ्चालन गर्दै आएको मिशन ५००० मोतियाबिन्दु सल्यक्रिया अभियानअन्तर्गत हालसम्म ३७१ जना बिरामीको निःशुल्क मोतियाबिन्दु सल्यक्रिया सम्पन्न गरिएको छ। अभियानलाई बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोग तथा तिलगंगा आँखा अस्पताल, काठमाडौंका विशेषज्ञ चिकित्सकहरूको सहकार्य प्राप्त छ।
बारा–पर्साका गाउँ–बस्तीमा वृद्ध–वृद्धामा बढ्दो आँखाको समस्या र दृष्टि गुमाएर बस्नुपरेका अवस्थाले भावनात्मक रूपमा छोएको भन्दै, लायन्स क्लब बिरगंज परिवारले समुदायमै पुगेर आँखा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ। सामुदायिक आँखा केन्द्रका चिकित्सकहरूले घर–घर नजिक प्रारम्भिक स्वास्थ्य परीक्षण गरिरहेका छन् भने, सल्यक्रियाको आवश्यकता देखिएकाहरूलाई अस्पताल पुर्याई तिलगंगाका वरिष्ठ चिकित्सकहरूले आधुनिक प्रविधिबाट ऑपरेशन गरिरहेका छन्।

अभियानको मुख्य उद्देश्य आर्थिक अभाव, दूरी वा जानकारीको कमीका कारण कसैले पनि दृष्टिबाट बञ्चित हुन नपरोस् भन्ने रहेको क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डेले बताए। उनका अनुसार लक्ष्यअनुसार ५००० सल्यक्रिया पूरा नहुन्जेलसम्म यो सेवा निरन्तर जारी रहनेछ।

लायन्स क्लब बिरगंज परिवारले सामुदायिक स्वास्थ्य, सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई प्राथमिकतामा राख्दै आँखा स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्दै आएको जनाएको छ। यस अभियानले दृष्टि पुनर्स्थापना मात्र होइन, हजारौँ परिवारको जीवनमा फेरि उज्यालो फर्काउने विश्वास क्लबले व्यक्त गरेको छ।
अन्त्यमा, क्लबले सबैलाई यस मानवीय अभियानमा हातेमालो गर्न हार्दिक अपिल गरेको छ।
