मौसमी चक्र परिवर्तनलाई जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावको रूपमा लिइएको छ । मधेश कृषि उत्पादनको केन्द्र हो । यो प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको राष्ट्रिय औसत योगदान २४ प्रतिशत हुँदा मधेशमा यो ३५ प्रतिशत छ । तर, अहिले पनि मौसममा आधारित कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिएको छ । मौसमी चक्रमा देखिएको परिवर्तनले खाद्यान्न उत्पादनको मूल थलो मधेशको कृषिमा बहुआयामिक असर पारेको छ । विगत ३ वर्षदेखि यसका सघन असरहरू देखिएका छन् । मनसुनमा ढिलाइ र बेमौसमी वर्षाको क्रम बढेको छ । यसले धान, मकै, गहुँजस्ता मुख्य बालीहरूको रोपाइँ र कटाइको समय अव्यवस्थित भएको छ । रोपाइँका बेला पानी नपर्ने र बाली पाक्दै गर्दा झरी पर्ने हुँदा उपज घट्ने, बीउ नष्ट हुने र खेतीमा रोग र किरा बढ्नेजस्ता समस्या देखिएका छन् । यो वर्ष रोपाइँको समयमा पानी परेन । त्यसपछि असोज र कात्तिक महिनामा अत्यधिक वर्षात्का कारण रोपिएको बाली बगायो र पाकेको धान नष्ट भयो ।
मधेशमा भूजलको स्तर घट्दै गएको छ । सिँचाइका नहरहरूमा पर्याप्त पानी नआउँदा धान र गहुँ खेती प्रभावित हुँदै आएको छ । किसानहरू बोरिङ्गमा निर्भर बन्दै गएका छन् । बिजुली र डिजेल खर्चले खेतीको लागत बढाएको छ । अनियमित मौसमका कारण विगतमा नदेखिएका किरा र रोगहरू देखा परेका छन् । यसले उत्पादन लागतलाई बढाएको छ । मौसम अनिश्चित हुँदा बीउबिजन, मल, श्रम, सिँचाइ र औषधि सबैमा खर्च बढेको छ । किसानहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन् । मौसमी चक्र परिवर्तनले मधेशको कृषि प्रणालीलाई उत्पादन, लागत, श्रम, बजार, रोग, किरा र खाद्य सुरक्षा सबै क्षेत्रमा गम्भीर रूपमा प्रभावित पारेको छ । यसबारेमा मध्य नेपालले सरोकारका पक्षसँग गरेको कुराकानी:
डा. विश्वेश्वरप्रसाद यादव
निर्देशक
कृषि अनुसन्धान निर्देशनालय, परवानीपुर, बारा बाली पद्धति परिवर्तन गर्नु पर्दछ
एक दशकअघिदेखि नै मौषमको चक्र परिवर्तनको संकेत आइसकेको थियो, यो जलवायु परिवर्तनको प्रभाव हो । यसलाई बेवास्ता गर्दा अहिले भयावहक अवस्थाको सिर्जना भएको छ । कृषि क्षेत्रमा यसको असर देखिएको छ । विगत ३ वर्षदेखि मुख्य सिजनमा पानी आइरहेको छैन । असार र साउनमा विशेष पानी आउनुपर्ने हो । अहिले भदौको मध्यदेखि लिएर असोजको अन्त्यसम्म पानी आइरहेको छ । अहिले धान रोप्ने बेलामा खडेरी हुन्छ । धानको दाना लाग्ने समयमा पानी ठूलो पानी पर्छ । दाना लाग्ने समयमा परेको ठूलो पानीले फूल र टुसाहरूलाई बगाइदिन्छ । उत्पादनमा ह्रास हुन्छ । धान काट्ने बेलामा पानी परेपछि पनि काटेको धान उम्रिने हुदाँ धानको गुणस्तर ह्रास भएर जान्छ । यस्ता समस्याबाट किसानहरू जुधिरहेका छन् ।
अब पहिला अपनाएको बाली पद्धतिहरूलाई परिवर्तन गर्न ढिला भएको छ । पहिलादेखि धान, गहुँ, मकै लगाउँदै आएको समयलाई परिवर्तन गरेर अन्य बाली लगाउनेतर्फ जानु पर्छ । मौसमी चक्र परिवर्तनका असर न्यूनीकरणको लागि हामीले धान र गहुँका जातहरूको विकास गरेका छौं । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ, धनुषा र कृषि अनुसन्धान केन्द्र परवानीपुरले यो धानको उत्पादन गरेको छ । बहुगुणी १ र बहुगुणी २ धानको विकास गरेका छौं । यो धानले सुख्खा र डुबान दुवै सहन सक्छ । ७ दिनसम्म लगातार खेतमा पानी डुबान हुदाँ पनि धान बाँचेको छ भने एकदमै सुख्खा भएको ठाउँमा पनि यो धान राम्रो लागेको छ । किसानले यस्ता धानका जातहरूलाई प्राथमिकता दिनु पर्छ । अहिले धानको सिजनमा मनसुन नआएर अन्य धानका जातहरू खेतमा नै मरेर गए । त्यसको लागि सुक्खा सहने धानका जातहरू सुक्खा धान १, सुक्खा २, सुक्खा ३, सुक्खा ४ र सुक्खा ६ को विकास गरेका छौं । जुन ठाउँमा पानीको समस्या छ, त्यस्ता ठाउँहरूमा यी धानका जातहरू लगाउन सिफारिस गरेका छौं । धेरै पानी परेर डुबान भएको छ भने स्वर्णसब १ र सम्बा मन्सुलीजस्ता डुबान सहने जातहरू सिफारिस गरेका छौं ।
अहिले पनि मधेश प्रदेशमा धेरै किसानले सोनामन्सुली लगाइरहेका छन् । यो धान सिफारिस गरिएको धान होइन । यो भारतीय धानको बीउ हो । उत्पादन बढी दिएपछि सबैले सोनामन्सुली लगाएका हुन् । भोलिका दिनका धानमा रोग लागेर सखाप हुने समस्या हुन सक्छ । अहिले फिल्डको अनुसन्धान गर्दा ४० प्रतिशत सोनामन्सुली धान लगाएको पाइएको छ । हामीले किसानहरूलाई यस्ता धान नलगाउन सुझाव दिएका छौं । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र वैज्ञानिकहरूले यसको विकल्पमा जलमैत्री धानहरू सिफारिस गरेका छन् । धेरै पानी लाग्ने र हल्का माटो भएको ठाउँहरूमा बहुगुणी १ र बहुगुणी २, स्वर्णसब १ र सम्बा मन्सुली धानको विकल्प हो । पानी नरहने सुक्खा ठाउँ छ र पानी लगाउने श्रोत साधन छैन भने सुक्खा धानको प्रकारहरू लगाउनु पर्छ । किसानहरूको लागि धानको बीउ मुख्य तत्व हो । कति किसानहरूले सिफारिसअनुसार धान लगाएको हुनाले धान उत्पादनमा समस्या आएको छैन ।
नार्कले सिफारिस गरेको हर्दिनाथ, जलवायु मैत्री बहुगुणी १ र बहुगुणी २ ,स्वर्णसब १ र सम्बा मन्सुली धानको बिउको माग बढेको छ । पहिलाको तुलनामा नार्कले सिफारिस गरेको धानका जातमा किसानहरू आकर्षित भएका छन् । किसनाहरूले धान काटेर गहुँ लगाउने सिजन भएकोले धेरै किसानले तोरी पनि लगाउँछन् । छिटो पाक्ने १ सय १०, १ सय २५, १ सय ३० दिनमा पाक्ने धान काटेर तोरी लगाउँछन् । १ सय ५० भन्दा माथिका १ सय ६५ दिनसम्म पाक्ने धानहरू काटेर गहुँ लगाउँछन् । गहुँमा विजय, गौतम, भृकुटी, एनएल ९७१ नेपालको लागि राम्रो जात हो । अहिले आएको जिङ्क १, बालगंगा जलमैत्री जातहरू हुन् । तराईमा मकै र मसुरो पनि बढी लगाइन्छ । तोरीलाई धान काटेर परेको पानी अमृत नै भएको छ । परेको पानीले कसैलाई फाइदा भएको छ भने कुनै किसानलाई घाटा भएको छ ।
जलवायुमैत्री अनुसन्धान र प्रविधिहरू विकास गर्नु पर्छ । नार्कले अनुसन्धान गर्ने काममा नेतृत्व गरिरहेको छ । तर, पनि सरकारकोतर्फबाट दिनुपर्ने सुविधा दिन सकेको छैन । राज्यले जनशक्तिको व्यवस्थाकालागि वैज्ञानिकहरू विदेशिने अवस्थालाई रोक्ने वातावरण सिर्जना गर्नु पर्छ । अन्य प्रदेशसँग निर्भर नरहेर हाइब्रिट उत्पादन गर्नसक्ने वातावरण तयार गरिदिनु पर्छ । हरेक शुक्रबार राष्ट्रिय वातावरण अनुसन्धान केन्द्रबाट जलवायुसम्बन्धी पूर्वानुमान गरेको छ । यस्तो सूचनाअनुसार किसानले काम गरेमा बाली नष्ट हुनबाट जोगाउन सकिन्छ ।
जगदीशप्रसाद शर्मा(प्रधान सम्पादक)
प्रतीक दैनिक
किसानलाई मौसम प्रतिकूलताको असर बढी
मौसमी चक्रमा परिवर्तन आउनु ग्लोबल वार्मिङ्गको कारण हो । प्रदूषणले गर्दा पर्यावरणमा आएको अनुकूलताले मौसममा पनि प्रतिकूलता आएको हो । समुद्री तटका थाइल्याण्ड, कोरिया, भियतनामहरूजस्ता देशमा समुद्री आधीहरू आइरहेको छ । भारतमा आएको चक्रवातको असरले कात्तिक महिनामा नपर्नुपर्ने पानी परेको छ । मानिसका केही बाध्यता पनि छन् । जनसंख्या बढेअनुसार भूमि बिस्तार हुनुपर्ने हो । भूमि विस्तार गर्दा वनजंगल मासिए । वनजंगल मासिँदा जनावर र राचुरुङ्गीहरू मासिए । यिनीहरूले पर्यावरणमा सहयोग पु¥याइरहेका थिए । चराचुरुङ्गीहरूले रुखबिरुवाहरूको फल खाएर बिउलाई बिस्ट्याउने गर्दथे । रुख बिरुवाहरू उम्रिन सहयोग गरिरहेका थिए । अहिले रुखबिरुवा नभएको स्थानमा सरकारले चाहेर पनि रुख रोप्ने जग्गा छैन । जग्गा स्थानीय जनताले नै कब्जा गरिसकेका छन् । वृक्षारोपण गर्नमा धेरै जनशक्ति र खर्च लाग्छ । हिजोको अवस्थामा आउनको लागि कम्तीमा ५० वर्ष लाग्छ । आजभन्दा सय वर्षअगाडिको वातावरण पाउनको लागि हामीले पहिलाजस्तो वृक्षारोपण गरेमा पनि ४ सय वर्ष लाग्छ । अहिले ठूलाठूला भवन, बाँध र नहरहरू बनिरहेकोले पृथ्वीको शक्ति सन्तुलनमा प्रतिकूलता आएको छ । प्रत्येक १२ वर्षमा आउने सौर्य आँधीले पनि विपद्माथि थप विपत्ति ल्याउँछ । समयमा पर्ने पानी पर्दैन । अति वृष्टि, खण्डवृष्टि, अनावृष्टिको असरले किसान मारमा पर्छन् । मौसम प्रतिकूलताको सबैभन्दा बढी असर किसानलाई परिरहेको छ । आर्थिक अवस्थाले गर्दा पनि धानखेतीमा लागत खर्च उठेको छैन । निर्वाहमूखी खेती छ, जग्गा टुक्राटुक्रामा बाँडिएको छ । यस्तोमा आधुनिकीकरण, र यान्त्रीकरण गर्न सकिँदैन । त्यहीअनुसारको आकारमा खेतहरू भएमात्र आधुनिक प्रविधि र साधनको प्रयोग गरेर कम लागतमा खेती गर्न सकिन्छ ।
पारस द्विवेदी (कृषक)
वीरगञ्ज मनपा–२४, रामगढवापाकेको धान भित्र्याउन पाएका छैनौं
मौसमी चक्र परिवर्तन भएर किसानलाई धेरै असर पारेको छ । धानको बीउ छर्ने समयमा पानी नभएकोले बीउ सबै मरेर गयो । फेरि अर्को पटक बीउ किनेर लगेर राखियो । बीउ उम्रेपछि बचाउन नै धौधौ प¥यो । धेरै मुस्किलले महँगो खादमल किनेर धानबालीमा हालेर धान फलाएका छौं । अहिले धान काट्ने समयमा परेको बेमौसमी पानीले धानखेतमा पानी जमेर बसेको छ । पाकेको धान काट्नुपर्ने अवस्थामा डुबेर बसेको छ । रामगढवा र अठ्ठराहसुगौलीको लगभग ५ सय बिघा धान खेत डुबेको छ । खेतमा जमेको पानी निकास हुने ठाउँ छैन । पहिला खेतको पानी तिलावे नदीमा निकास गर्न ह्युमपाइप राखिएको थियो । ड्राईपोर्टको सडक निर्माणको क्रममा गाडिएको ह्युमपाइप बन्द गरिदिएको थियो । जसको कारण रामगढवाको खेतमा जमेको पानी निकास हुन सकेन । कामदारहरू दिनको १ हजारभन्दा कममा काम गरिरहेका छैनन् । सधंै धान काटेर गहुँ, तोरी र मसुरो बाली लगाउने गरेको थियौं । अहिले पाकेको धान भित्रयाउन धौधौ परेको छ । गहुँ, तेलबाली र दलहन बाली लगाउने अवस्था छैन ।
शम्भु यादव (कृषक)
जगरनाथपुर गाउँपालिका–६, सिसियाडीबेमौसमी वर्षाले समस्या भयो
जलवायु परिवर्तनले गर्दा किसानलाई धेरै मर्का परेको छ । खेतिपाती गर्ने समयमा पानी पर्न सकेन । धेरै मेहनत गरेर धान फलाएका छौं । धान काट्ने बेलामा धेरै पानी परेर धान खेत नै जलमग्न भएर खेतमा नै झर्ने अवस्था छ । कुनै पनि बाली लगाउन सकेको छैन । अझै केही दिन पानी सुकेन भने बाली लगाउने अवस्था नै हुँदैन । पानी निकास हुने ठाउँ नभएकोले पानी जमेको छ । यहाँको ५० प्रतिशत किसानहरू बेमौसमी पानीको कारणले समस्यामा झेलिरहेको अवस्था छ
विजयप्रसाद कुर्मी (वडा अध्यक्ष)
वीरगञ्ज मनपा–२४अर्को वर्ष योजना बनाउँछौं
मौसमी चक्र परिवर्तनको कारणले पानी पर्ने समयमा पानी पर्न सकेन भने जुन समयमा पानी नपर्नु पर्ने हो त्यो समयमा पानी परिरहेको छ । बेमौसमी वर्षाको पानीको कारणले वीरगञ्ज महानगरपालिकाको वडा नं १७, २४, २५ र २६ चार वटा वडामा पाकेको धानबाली डुबानमा परेको छ । पानीको होमपाइप खोल्न नसक्दा यी चारवटा वडाको खेत डुबानमा परेको हो । पानी निकास गर्न मेय र सिडिओसँग वडाको समस्याको विषयमा छलफल गरिसकेको छु । पानी तिलाबे नदीमा खसाल्ने आश्वासन महानगरबाट पाएका छौं । किसानको खेतमा धान भएकोले अहिले ह्ुयमपाइप राखेर पानी निकाल्न सक्ने अवस्था छैन । धान काटिसकेपछि चारवटा वडाको मिलेर होमपाइप राख्ने काम पहिलो प्रथमिकतामा राखेर गर्ने छौं । वडाको बजेटबाट २४ नम्बर वडामा तत्कालको आपतकालीन समस्याबाट किसानलाई केही राहत होओस् भन्ने हेतुले खेतबाट २ फीट जमेको पानी निकाल्न ५ वटा मोटरले दिनरात फालिरहेका छौं । मोटरले फाल्न सक्नेजति पानी फाल्छौं । अझै २४ नम्बर वडाको २५ बिघा जग्गाको पानी बाँकी छ । धान काटेपछि चारै वडाको वडा अध्यक्ष, मेयर, सिडिओ र स्थानीय बासिन्दा मिलेर पुरानो नाला सफाई गर्ने र जहाँजहाँ नाला खन्नु पर्ने हो, खन्ने छौं । यो वर्ष यी कामहरू गर्न सकियो भने अर्को वर्ष भने डुबानमा पर्ने छैन । यो वर्ष धानपछि अर्को बाली लगाउन सक्ने अवस्था छैन । पहिलाको मौसम र अहिलेको मौसममा फरक परिसकेको छ । किसानलाई पानी चाहिने बेलामा पानी परिरहेको छैन । पानी चाहिने बेलामा परिरहेको छ । मौसम चक्र परिवर्तनको कारणले अब किसानहरूले पनि बाली परिवर्तन गर्ने समय आएको छ । यो वर्ष पानी निकास गर्न नालाको निर्माण र सरसफाई गर्न मुख्य प्राथमिकता रहनेछ । बाली के लगाउने भन्ने विषयमा भने अर्को वर्ष योजना गर्नेछौं ।
रोशनी यादव(कृषि शाखा अधिकृत)
वीरगञ्ज महानगरपालिका बेमौसमी खेतीमा संक्रमण बढी हुन्छ
यो वर्ष पानी पर्ने सिजनमा पानी नपरेको कारणले साउनको अन्त्यमा ७० प्रतिशत मात्र रोपाइँ भएको थियो । भदौको अन्त्यमा गएरमात्र रोपाइ भएको छ । वीरगञ्ज महानगरको कृषि शाखा र योजना शाखाबीच समन्वय भएर महानगरको बजेटबाट पानीको समस्या भएको ठाउँमा कृषक समूहमा निःशुल्क बोरिङ्ग वितरण गरेका छौं । कृषिको लागि विद्युत्को पोल नभएको स्थानमा पोल गाड्ने काम गरेका छौं । मौसममा खेती लगाउनुभन्दा बेमौसमी खेती लगाउँदा रोग र किराको संक्रमण बढी हुन्छ । रोग र किराको संक्रमणबाट बचाउनको लागि महानगरले ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउहरू वितरण गरेको थियो । बोर्डर एरियामा भारतीय बीउहरू लगाउने चलन छ । जसले गर्दा धानमा रोग र किराको संक्रमण धेरै हुन्छ । त्यसबाट रोकथाम गर्नका लागि नेपालका उत्पादन भएको रोग किरा नलाग्ने र सुक्खा सहन सक्ने प्रकारको धानहरू बाँडेका छौं । कृषकहरूले रोग किरा लागेको बालीको फोटो खिचेर र बोट नै उखेलेर ल्याएको बिरुवालाई जाँचेर फिल्डमा हेरेर निःशुल्क विषादी वितरण गरेका छौं । धेरै क्षति भएको ठाउँमा पेस्टिसाइड वितरण गरेका छौं । बाली पाकेर काट्ने समयमा परेको पानी जमेर धान काट्न सकेको छैनन् । ढिला रोपाइ भएको ठाउँमा धानबाली पाकेको छैन । २६ नम्बर वडामा पानी जमेको गुनासो आएको थियो । योजना शाखाले निरीक्षण गरेर पानी कटाउने काम भइरहेको छ । खेतमा पानी जमेको र ढिला धान लगाएको धानले गर्दा गहुँ लगाउन ढिलो हुन्छ । यसको लागि हामीले ढिलो लगाउने जातको ५० प्रतिशत अनुदानमा कृषकहरूलाई गहुँको बीउ वितरण गर्ने कार्यक्रम राखेको छौं । धुम्ती तालीम सञ्चालन गर्ने, सहकारी र समूहहरूको अगुवा किसानलाई बोलाएर नेपालको जातहरूबारेमा छलफल गराउछौं ।
गीतादेवी साह(किसान)
वीरगञ्ज मनपा–२६, सुगौलीबिर्ता
बीउ बचाउनै गाह्रो भयो
पानी पर्ने समयमा पानी नपरेकोले धानको बीउ राख्न र बचाउन गाह्रो भयो । हरेक वर्ष साउन महिनामा खेती लगाउथ्यौं । असोजको पहिलो हप्तामा रोपाइँ भएको छ । सोनामन्सुली धान लगाएका थियौं । अहिले आएर परेको पानी खेतमा जमेको छ । रोपेको धानहरू पाक्न अझै १ महिना लाग्छ । अघिल्लो वर्ष कठ्ठाको २ क्विन्टल फलेको धान यो वर्ष ५० किलो पनि आउँदैन । नेपालमा उत्पादन भएको र सिफरिस भएका बीउबारेमा हामीलाई कुनै जानकारी छैन ।
निरञ्जनकुमार न्यौपाने(प्रधानाध्यापक)
नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज
कृषि उत्पादनमा कमी आएको छ
मौसमी चक्र बदलिएर बीउ छर्ने बेलामा र धान रोपाइँ गर्ने समयमा बेलामा पानी परेन । किसानहरूलाई पानीको आवश्यकता परेको समयमा पानी नभएपछि बीउ बचाउन र धान रोप्न कठिन भयो । सिँचाइ को पानीको विकल्पमा महँगो बोरिङ्गको पानीले सिँचाइँ गर्दै धानलाई बचाएर ल्याउनु प¥यो । अन्त्यमा धान फलेपछि बेमौसमी वर्षा र पश्चिमी वायुको प्रभावले परेको पानीले पाकेको धानबाली खेतमा नै ढलेकोले गर्दा उत्पादनमा कमी आएको छ । हिउँदे बाली लगाउने बेलामा खेतमा पानी लागेर चिसो धेरै भएकोले गर्दा बाली लगाउन ढिलो हुने अवस्था आएको छ । हिउँदे बालीहरू दलहन बाली, तेलहन बाली र गहुँ बाली नियमित समयमा लगाउन नसक्ने अवस्थाले कृषकहरू चिन्तित छन् ।