मौसमी चक्र परिवर्तनलाई जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावको रूपमा लिइएको छ । मधेश कृषि उत्पादनको केन्द्र हो । यो प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको राष्ट्रिय औसत योगदान २४ प्रतिशत हुँदा मधेशमा यो ३५ प्रतिशत छ । तर, अहिले पनि मौसममा आधारित कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिएको छ । मौसमी चक्रमा देखिएको परिवर्तनले खाद्यान्न उत्पादनको मूल थलो मधेशको कृषिमा बहुआयामिक असर पारेको छ । विगत ३ वर्षदेखि यसका सघन असरहरू देखिएका छन् । मनसुनमा ढिलाइ र बेमौसमी वर्षाको क्रम बढेको छ । यसले धान, मकै, गहुँजस्ता मुख्य बालीहरूको रोपाइँ र कटाइको समय अव्यवस्थित भएको छ । रोपाइँका बेला पानी नपर्ने र बाली पाक्दै गर्दा झरी पर्ने हुँदा उपज घट्ने, बीउ नष्ट हुने र खेतीमा रोग र किरा बढ्नेजस्ता समस्या देखिएका छन् । यो वर्ष रोपाइँको समयमा पानी परेन । त्यसपछि असोज र कात्तिक महिनामा अत्यधिक वर्षात्का कारण रोपिएको बाली बगायो र पाकेको धान नष्ट भयो ।
मधेशमा भूजलको स्तर घट्दै गएको छ । सिँचाइका नहरहरूमा पर्याप्त पानी नआउँदा धान र गहुँ खेती प्रभावित हुँदै आएको छ । किसानहरू बोरिङ्गमा निर्भर बन्दै गएका छन् । बिजुली र डिजेल खर्चले खेतीको लागत बढाएको छ । अनियमित मौसमका कारण विगतमा नदेखिएका किरा र रोगहरू देखा परेका छन् । यसले उत्पादन लागतलाई बढाएको छ । मौसम अनिश्चित हुँदा बीउबिजन, मल, श्रम, सिँचाइ र औषधि सबैमा खर्च बढेको छ । किसानहरू आर्थिक रूपमा कमजोर बन्दै गएका छन् । मौसमी चक्र परिवर्तनले मधेशको कृषि प्रणालीलाई उत्पादन, लागत, श्रम, बजार, रोग, किरा र खाद्य सुरक्षा सबै क्षेत्रमा गम्भीर रूपमा प्रभावित पारेको छ । यसबारेमा मध्य नेपालले सरोकारका पक्षसँग गरेको कुराकानी:
डा. विश्वेश्वरप्रसाद यादव
निर्देशक
कृषि अनुसन्धान निर्देशनालय, परवानीपुर, बारा
बाली पद्धति परिवर्तन गर्नु पर्दछ
एक दशकअघिदेखि नै मौषमको चक्र परिवर्तनको संकेत आइसकेको थियो, यो जलवायु परिवर्तनको प्रभाव हो । यसलाई बेवास्ता गर्दा अहिले भयावहक अवस्थाको सिर्जना भएको छ । कृषि क्षेत्रमा यसको असर देखिएको छ । विगत ३ वर्षदेखि मुख्य सिजनमा पानी आइरहेको छैन । असार र साउनमा विशेष पानी आउनुपर्ने हो । अहिले भदौको मध्यदेखि लिएर असोजको अन्त्यसम्म पानी आइरहेको छ । अहिले धान रोप्ने बेलामा खडेरी हुन्छ । धानको दाना लाग्ने समयमा पानी ठूलो पानी पर्छ । दाना लाग्ने समयमा परेको ठूलो पानीले फूल र टुसाहरूलाई बगाइदिन्छ । उत्पादनमा ह्रास हुन्छ । धान काट्ने बेलामा पानी परेपछि पनि काटेको धान उम्रिने हुदाँ धानको गुणस्तर ह्रास भएर जान्छ । यस्ता समस्याबाट किसानहरू जुधिरहेका छन् ।
अब पहिला अपनाएको बाली पद्धतिहरूलाई परिवर्तन गर्न ढिला भएको छ । पहिलादेखि धान, गहुँ, मकै लगाउँदै आएको समयलाई परिवर्तन गरेर अन्य बाली लगाउनेतर्फ जानु पर्छ । मौसमी चक्र परिवर्तनका असर न्यूनीकरणको लागि हामीले धान र गहुँका जातहरूको विकास गरेका छौं । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ, धनुषा र कृषि अनुसन्धान केन्द्र परवानीपुरले यो धानको उत्पादन गरेको छ । बहुगुणी १ र बहुगुणी २ धानको विकास गरेका छौं । यो धानले सुख्खा र डुबान दुवै सहन सक्छ । ७ दिनसम्म लगातार खेतमा पानी डुबान हुदाँ पनि धान बाँचेको छ भने एकदमै सुख्खा भएको ठाउँमा पनि यो धान राम्रो लागेको छ । किसानले यस्ता धानका जातहरूलाई प्राथमिकता दिनु पर्छ । अहिले धानको सिजनमा मनसुन नआएर अन्य धानका जातहरू खेतमा नै मरेर गए । त्यसको लागि सुक्खा सहने धानका जातहरू सुक्खा धान १, सुक्खा २, सुक्खा ३, सुक्खा ४ र सुक्खा ६ को विकास गरेका छौं । जुन ठाउँमा पानीको समस्या छ, त्यस्ता ठाउँहरूमा यी धानका जातहरू लगाउन सिफारिस गरेका छौं । धेरै पानी परेर डुबान भएको छ भने स्वर्णसब १ र सम्बा मन्सुलीजस्ता डुबान सहने जातहरू सिफारिस गरेका छौं ।
अहिले पनि मधेश प्रदेशमा धेरै किसानले सोनामन्सुली लगाइरहेका छन् । यो धान सिफारिस गरिएको धान होइन । यो भारतीय धानको बीउ हो । उत्पादन बढी दिएपछि सबैले सोनामन्सुली लगाएका हुन् । भोलिका दिनका धानमा रोग लागेर सखाप हुने समस्या हुन सक्छ । अहिले फिल्डको अनुसन्धान गर्दा ४० प्रतिशत सोनामन्सुली धान लगाएको पाइएको छ । हामीले किसानहरूलाई यस्ता धान नलगाउन सुझाव दिएका छौं । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र वैज्ञानिकहरूले यसको विकल्पमा जलमैत्री धानहरू सिफारिस गरेका छन् । धेरै पानी लाग्ने र हल्का माटो भएको ठाउँहरूमा बहुगुणी १ र बहुगुणी २, स्वर्णसब १ र सम्बा मन्सुली धानको विकल्प हो । पानी नरहने सुक्खा ठाउँ छ र पानी लगाउने श्रोत साधन छैन भने सुक्खा धानको प्रकारहरू लगाउनु पर्छ । किसानहरूको लागि धानको बीउ मुख्य तत्व हो । कति किसानहरूले सिफारिसअनुसार धान लगाएको हुनाले धान उत्पादनमा समस्या आएको छैन ।
नार्कले सिफारिस गरेको हर्दिनाथ, जलवायु मैत्री बहुगुणी १ र बहुगुणी २ ,स्वर्णसब १ र सम्बा मन्सुली धानको बिउको माग बढेको छ । पहिलाको तुलनामा नार्कले सिफारिस गरेको धानका जातमा किसानहरू आकर्षित भएका छन् । किसनाहरूले धान काटेर गहुँ लगाउने सिजन भएकोले धेरै किसानले तोरी पनि लगाउँछन् । छिटो पाक्ने १ सय १०, १ सय २५, १ सय ३० दिनमा पाक्ने धान काटेर तोरी लगाउँछन् । १ सय ५० भन्दा माथिका १ सय ६५ दिनसम्म पाक्ने धानहरू काटेर गहुँ लगाउँछन् । गहुँमा विजय, गौतम, भृकुटी, एनएल ९७१ नेपालको लागि राम्रो जात हो । अहिले आएको जिङ्क १, बालगंगा जलमैत्री जातहरू हुन् । तराईमा मकै र मसुरो पनि बढी लगाइन्छ । तोरीलाई धान काटेर परेको पानी अमृत नै भएको छ । परेको पानीले कसैलाई फाइदा भएको छ भने कुनै किसानलाई घाटा भएको छ ।
जलवायुमैत्री अनुसन्धान र प्रविधिहरू विकास गर्नु पर्छ । नार्कले अनुसन्धान गर्ने काममा नेतृत्व गरिरहेको छ । तर, पनि सरकारकोतर्फबाट दिनुपर्ने सुविधा दिन सकेको छैन । राज्यले जनशक्तिको व्यवस्थाकालागि वैज्ञानिकहरू विदेशिने अवस्थालाई रोक्ने वातावरण सिर्जना गर्नु पर्छ । अन्य प्रदेशसँग निर्भर नरहेर हाइब्रिट उत्पादन गर्नसक्ने वातावरण तयार गरिदिनु पर्छ । हरेक शुक्रबार राष्ट्रिय वातावरण अनुसन्धान केन्द्रबाट जलवायुसम्बन्धी पूर्वानुमान गरेको छ । यस्तो सूचनाअनुसार किसानले काम गरेमा बाली नष्ट हुनबाट जोगाउन सकिन्छ ।
जगदीशप्रसाद शर्मा(प्रधान सम्पादक)
प्रतीक दैनिक
किसानलाई मौसम प्रतिकूलताको असर बढी
मौसमी चक्रमा परिवर्तन आउनु ग्लोबल वार्मिङ्गको कारण हो । प्रदूषणले गर्दा पर्यावरणमा आएको अनुकूलताले मौसममा पनि प्रतिकूलता आएको हो । समुद्री तटका थाइल्याण्ड, कोरिया, भियतनामहरूजस्ता देशमा समुद्री आधीहरू आइरहेको छ । भारतमा आएको चक्रवातको असरले कात्तिक महिनामा नपर्नुपर्ने पानी परेको छ । मानिसका केही बाध्यता पनि छन् । जनसंख्या बढेअनुसार भूमि बिस्तार हुनुपर्ने हो । भूमि विस्तार गर्दा वनजंगल मासिए । वनजंगल मासिँदा जनावर र राचुरुङ्गीहरू मासिए । यिनीहरूले पर्यावरणमा सहयोग पु¥याइरहेका थिए । चराचुरुङ्गीहरूले रुखबिरुवाहरूको फल खाएर बिउलाई बिस्ट्याउने गर्दथे । रुख बिरुवाहरू उम्रिन सहयोग गरिरहेका थिए । अहिले रुखबिरुवा नभएको स्थानमा सरकारले चाहेर पनि रुख रोप्ने जग्गा छैन । जग्गा स्थानीय जनताले नै कब्जा गरिसकेका छन् । वृक्षारोपण गर्नमा धेरै जनशक्ति र खर्च लाग्छ । हिजोको अवस्थामा आउनको लागि कम्तीमा ५० वर्ष लाग्छ । आजभन्दा सय वर्षअगाडिको वातावरण पाउनको लागि हामीले पहिलाजस्तो वृक्षारोपण गरेमा पनि ४ सय वर्ष लाग्छ । अहिले ठूलाठूला भवन, बाँध र नहरहरू बनिरहेकोले पृथ्वीको शक्ति सन्तुलनमा प्रतिकूलता आएको छ । प्रत्येक १२ वर्षमा आउने सौर्य आँधीले पनि विपद्माथि थप विपत्ति ल्याउँछ । समयमा पर्ने पानी पर्दैन । अति वृष्टि, खण्डवृष्टि, अनावृष्टिको असरले किसान मारमा पर्छन् । मौसम प्रतिकूलताको सबैभन्दा बढी असर किसानलाई परिरहेको छ । आर्थिक अवस्थाले गर्दा पनि धानखेतीमा लागत खर्च उठेको छैन । निर्वाहमूखी खेती छ, जग्गा टुक्राटुक्रामा बाँडिएको छ । यस्तोमा आधुनिकीकरण, र यान्त्रीकरण गर्न सकिँदैन । त्यहीअनुसारको आकारमा खेतहरू भएमात्र आधुनिक प्रविधि र साधनको प्रयोग गरेर कम लागतमा खेती गर्न सकिन्छ ।
पारस द्विवेदी (कृषक)
वीरगञ्ज मनपा–२४, रामगढवा
पाकेको धान भित्र्याउन पाएका छैनौं
मौसमी चक्र परिवर्तन भएर किसानलाई धेरै असर पारेको छ । धानको बीउ छर्ने समयमा पानी नभएकोले बीउ सबै मरेर गयो । फेरि अर्को पटक बीउ किनेर लगेर राखियो । बीउ उम्रेपछि बचाउन नै धौधौ प¥यो । धेरै मुस्किलले महँगो खादमल किनेर धानबालीमा हालेर धान फलाएका छौं । अहिले धान काट्ने समयमा परेको बेमौसमी पानीले धानखेतमा पानी जमेर बसेको छ । पाकेको धान काट्नुपर्ने अवस्थामा डुबेर बसेको छ । रामगढवा र अठ्ठराहसुगौलीको लगभग ५ सय बिघा धान खेत डुबेको छ । खेतमा जमेको पानी निकास हुने ठाउँ छैन । पहिला खेतको पानी तिलावे नदीमा निकास गर्न ह्युमपाइप राखिएको थियो । ड्राईपोर्टको सडक निर्माणको क्रममा गाडिएको ह्युमपाइप बन्द गरिदिएको थियो । जसको कारण रामगढवाको खेतमा जमेको पानी निकास हुन सकेन । कामदारहरू दिनको १ हजारभन्दा कममा काम गरिरहेका छैनन् । सधंै धान काटेर गहुँ, तोरी र मसुरो बाली लगाउने गरेको थियौं । अहिले पाकेको धान भित्रयाउन धौधौ परेको छ । गहुँ, तेलबाली र दलहन बाली लगाउने अवस्था छैन ।
शम्भु यादव (कृषक)
जगरनाथपुर गाउँपालिका–६, सिसियाडी
बेमौसमी वर्षाले समस्या भयो
जलवायु परिवर्तनले गर्दा किसानलाई धेरै मर्का परेको छ । खेतिपाती गर्ने समयमा पानी पर्न सकेन । धेरै मेहनत गरेर धान फलाएका छौं । धान काट्ने बेलामा धेरै पानी परेर धान खेत नै जलमग्न भएर खेतमा नै झर्ने अवस्था छ । कुनै पनि बाली लगाउन सकेको छैन । अझै केही दिन पानी सुकेन भने बाली लगाउने अवस्था नै हुँदैन । पानी निकास हुने ठाउँ नभएकोले पानी जमेको छ । यहाँको ५० प्रतिशत किसानहरू बेमौसमी पानीको कारणले समस्यामा झेलिरहेको अवस्था छ
विजयप्रसाद कुर्मी (वडा अध्यक्ष)
वीरगञ्ज मनपा–२४
अर्को वर्ष योजना बनाउँछौं
मौसमी चक्र परिवर्तनको कारणले पानी पर्ने समयमा पानी पर्न सकेन भने जुन समयमा पानी नपर्नु पर्ने हो त्यो समयमा पानी परिरहेको छ । बेमौसमी वर्षाको पानीको कारणले वीरगञ्ज महानगरपालिकाको वडा नं १७, २४, २५ र २६ चार वटा वडामा पाकेको धानबाली डुबानमा परेको छ । पानीको होमपाइप खोल्न नसक्दा यी चारवटा वडाको खेत डुबानमा परेको हो । पानी निकास गर्न मेय र सिडिओसँग वडाको समस्याको विषयमा छलफल गरिसकेको छु । पानी तिलाबे नदीमा खसाल्ने आश्वासन महानगरबाट पाएका छौं । किसानको खेतमा धान भएकोले अहिले ह्ुयमपाइप राखेर पानी निकाल्न सक्ने अवस्था छैन । धान काटिसकेपछि चारवटा वडाको मिलेर होमपाइप राख्ने काम पहिलो प्रथमिकतामा राखेर गर्ने छौं । वडाको बजेटबाट २४ नम्बर वडामा तत्कालको आपतकालीन समस्याबाट किसानलाई केही राहत होओस् भन्ने हेतुले खेतबाट २ फीट जमेको पानी निकाल्न ५ वटा मोटरले दिनरात फालिरहेका छौं । मोटरले फाल्न सक्नेजति पानी फाल्छौं । अझै २४ नम्बर वडाको २५ बिघा जग्गाको पानी बाँकी छ । धान काटेपछि चारै वडाको वडा अध्यक्ष, मेयर, सिडिओ र स्थानीय बासिन्दा मिलेर पुरानो नाला सफाई गर्ने र जहाँजहाँ नाला खन्नु पर्ने हो, खन्ने छौं । यो वर्ष यी कामहरू गर्न सकियो भने अर्को वर्ष भने डुबानमा पर्ने छैन । यो वर्ष धानपछि अर्को बाली लगाउन सक्ने अवस्था छैन । पहिलाको मौसम र अहिलेको मौसममा फरक परिसकेको छ । किसानलाई पानी चाहिने बेलामा पानी परिरहेको छैन । पानी चाहिने बेलामा परिरहेको छ । मौसम चक्र परिवर्तनको कारणले अब किसानहरूले पनि बाली परिवर्तन गर्ने समय आएको छ । यो वर्ष पानी निकास गर्न नालाको निर्माण र सरसफाई गर्न मुख्य प्राथमिकता रहनेछ । बाली के लगाउने भन्ने विषयमा भने अर्को वर्ष योजना गर्नेछौं ।
रोशनी यादव(कृषि शाखा अधिकृत)
वीरगञ्ज महानगरपालिका
बेमौसमी खेतीमा संक्रमण बढी हुन्छ
यो वर्ष पानी पर्ने सिजनमा पानी नपरेको कारणले साउनको अन्त्यमा ७० प्रतिशत मात्र रोपाइँ भएको थियो । भदौको अन्त्यमा गएरमात्र रोपाइ भएको छ । वीरगञ्ज महानगरको कृषि शाखा र योजना शाखाबीच समन्वय भएर महानगरको बजेटबाट पानीको समस्या भएको ठाउँमा कृषक समूहमा निःशुल्क बोरिङ्ग वितरण गरेका छौं । कृषिको लागि विद्युत्को पोल नभएको स्थानमा पोल गाड्ने काम गरेका छौं । मौसममा खेती लगाउनुभन्दा बेमौसमी खेती लगाउँदा रोग र किराको संक्रमण बढी हुन्छ । रोग र किराको संक्रमणबाट बचाउनको लागि महानगरले ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउहरू वितरण गरेको थियो । बोर्डर एरियामा भारतीय बीउहरू लगाउने चलन छ । जसले गर्दा धानमा रोग र किराको संक्रमण धेरै हुन्छ । त्यसबाट रोकथाम गर्नका लागि नेपालका उत्पादन भएको रोग किरा नलाग्ने र सुक्खा सहन सक्ने प्रकारको धानहरू बाँडेका छौं । कृषकहरूले रोग किरा लागेको बालीको फोटो खिचेर र बोट नै उखेलेर ल्याएको बिरुवालाई जाँचेर फिल्डमा हेरेर निःशुल्क विषादी वितरण गरेका छौं । धेरै क्षति भएको ठाउँमा पेस्टिसाइड वितरण गरेका छौं । बाली पाकेर काट्ने समयमा परेको पानी जमेर धान काट्न सकेको छैनन् । ढिला रोपाइ भएको ठाउँमा धानबाली पाकेको छैन । २६ नम्बर वडामा पानी जमेको गुनासो आएको थियो । योजना शाखाले निरीक्षण गरेर पानी कटाउने काम भइरहेको छ । खेतमा पानी जमेको र ढिला धान लगाएको धानले गर्दा गहुँ लगाउन ढिलो हुन्छ । यसको लागि हामीले ढिलो लगाउने जातको ५० प्रतिशत अनुदानमा कृषकहरूलाई गहुँको बीउ वितरण गर्ने कार्यक्रम राखेको छौं । धुम्ती तालीम सञ्चालन गर्ने, सहकारी र समूहहरूको अगुवा किसानलाई बोलाएर नेपालको जातहरूबारेमा छलफल गराउछौं ।
गीतादेवी साह(किसान)
वीरगञ्ज मनपा–२६, सुगौलीबिर्ता
बीउ बचाउनै गाह्रो भयो
पानी पर्ने समयमा पानी नपरेकोले धानको बीउ राख्न र बचाउन गाह्रो भयो । हरेक वर्ष साउन महिनामा खेती लगाउथ्यौं । असोजको पहिलो हप्तामा रोपाइँ भएको छ । सोनामन्सुली धान लगाएका थियौं । अहिले आएर परेको पानी खेतमा जमेको छ । रोपेको धानहरू पाक्न अझै १ महिना लाग्छ । अघिल्लो वर्ष कठ्ठाको २ क्विन्टल फलेको धान यो वर्ष ५० किलो पनि आउँदैन । नेपालमा उत्पादन भएको र सिफरिस भएका बीउबारेमा हामीलाई कुनै जानकारी छैन ।
निरञ्जनकुमार न्यौपाने(प्रधानाध्यापक)
नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगञ्ज
कृषि उत्पादनमा कमी आएको छ
मौसमी चक्र बदलिएर बीउ छर्ने बेलामा र धान रोपाइँ गर्ने समयमा बेलामा पानी परेन । किसानहरूलाई पानीको आवश्यकता परेको समयमा पानी नभएपछि बीउ बचाउन र धान रोप्न कठिन भयो । सिँचाइ को पानीको विकल्पमा महँगो बोरिङ्गको पानीले सिँचाइँ गर्दै धानलाई बचाएर ल्याउनु प¥यो । अन्त्यमा धान फलेपछि बेमौसमी वर्षा र पश्चिमी वायुको प्रभावले परेको पानीले पाकेको धानबाली खेतमा नै ढलेकोले गर्दा उत्पादनमा कमी आएको छ । हिउँदे बाली लगाउने बेलामा खेतमा पानी लागेर चिसो धेरै भएकोले गर्दा बाली लगाउन ढिलो हुने अवस्था आएको छ । हिउँदे बालीहरू दलहन बाली, तेलहन बाली र गहुँ बाली नियमित समयमा लगाउन नसक्ने अवस्थाले कृषकहरू चिन्तित छन् ।