हर्षोल्लास, आपसी एकता र भाइचाराको महापर्व होलीको पूर्वसन्ध्यामा आइतबार वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघर क्षेत्रमा निःशुल्क कपडा वितरण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट गरिब, असहाय तथा विपन्न नागरिकलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। होली पर्वको अवसरमा भने घण्टाघरमा विशेष कार्यक्रम आयोजना गरी नयाँ तथा प्रयोगयोग्य पुराना गरी करिब ८ सय थान कपडा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीले मानव सेवामा सबैले आफ्नो आम्दानीको कम्तीमा ५ प्रतिशत रकम दुःखी–असहायको सेवा सहयोगमा खर्च गर्नुपर्ने धारणा राखे। “मानव सेवा नै सर्वोत्तम धर्म हो,” उनले भने, “होली रङ्गको मात्र पर्व नभई सत्यता, हर्षोल्लास र आपसी एकता सुदृढ बनाउने अवसर हो, त्यसैले शान्तिपूर्वक मनाऔँ।”
संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकारद्वय अधिवक्ता पन्नालाल गुप्ता र समाजसेवी वरुण चौरसिया विशिष्ट अतिथि रहेका थिए। साथै नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष मुनेश लायो मगर, समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपूत, आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपशिला जैसवाल, सीए गुड्डु रौनियार, घण्टाघर प्रहरी पोस्टका प्रमुख रामविनोद झा, सल्लाहकार श्रवणबहादुर रायमाझी, सदस्यहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथि गुप्ताले चाडपर्वका बेला नयाँ लुगा किन्न सक्ने अवस्था सबैको नहुने भएकाले नयाँ तथा नयाँजस्तै कपडा उपलब्ध गराएर विपन्नको अनुहारमा खुशी ल्याउनु सामाजिक दायित्व भएको बताए।
अध्यक्ष सिंहले मानव सेवामा समर्पित अभियानमा काठमाडौं निवासी रवि परियार र उनका तीन साथीले ३० थान नयाँ होली टिसर्ट सहयोग गरेकोप्रति आभार व्यक्त गरे। साथै अभियानमा सहयोग गर्ने दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारकर्मी तथा सदस्यहरूप्रति कृतज्ञता प्रकट गर्दै होली पर्वले देश–विदेशमा शान्ति, समृद्धि र आपसी एकता बलियो बनाओस् भन्ने शुभकामना व्यक्त गरे।