डा. जिया उल हक युरोलोजिष्ट तथा एन्ड्रोलोजिष्ट (पुरुष बाँझोपन र यौन रोग ) विशेषज्ञ हुन् । उनले पाकिस्तानबाट एमएस गरेका छन् । अबस्ट्रक्टिभ तथा वेरिकोसिलको माइक्रोस्कोपिक सर्जरीको दक्षता प्राप्त गरेका उनी नारायणी वयोद्या र शान्ति पोलिक्लिनिकमा कार्यरत छन् । डा. जिया उल हकसँग पुरुषमा हुने बाँझोपनबारे गरिएको कुराकानी :
पुरुषमा हुने बाँझोपन के हो ?
जब कुनै दम्पतीले एक वर्ष वा त्योभन्दा बढी समयसम्म यौन सम्पर्क राख्दा पनि गर्भधारण हुन सक्दैन । यस्तोमा पुरुषको प्रजनन् प्रणालीमा समस्या भएमा पुरुषको बाँझोपन भएको मानिन्छ । मुख्यतः शुक्रकीटको संख्या कम हुनु, शुक्रकीटको गतिशीलता कम हुनु, शुक्रकीटको आकारमा समस्या र प्रजनन् नलीमा अवरोध हुँदा पुरुषमा बाँझोपन हुन्छ ।
पुरुषमा बाँझोपन हुने मुख्य कारणहरू के हुन् ?
पुरुषमा बाँझोपन हुनुका कारणहरू धेरै हुन्छ । अण्डकोषको नसाहरू सुन्निँदा यस्तो हुन सक्दछ । बढी तापक्रमले शुक्रकीट उत्पादनमा बाधा पु¥याउँछ । यौन रोग वा अन्य संक्रमणले शुक्रकीट उत्पादन वा नलीमा अवरोध पु¥याउन सक्छ । टेस्टोस्टेरोन वा अन्य हर्मोनको कमी, हर्मोनको असन्तुलन हुँदा र हर्मोन संक्रमित हुनाले पनि बाँझोपन हुन्छ । अण्डकोषबाट शुक्रकीट बाहिर निस्कने नली बन्द हुँदा, वातावरणीय असर र जीवनशैली, अत्याधिक धुम्रपान, मद्यपान र लागूपदार्थको सेवन गर्ने पु्रुषहरूमा बाँझोपन हुन्छ । अत्याधिक मोटोपना र मानसिक तनावले पनि हर्मोनमा असर गर्छ । लामो समयसम्म तातो ठाउँमा बसेर काम गर्दा वा काखमा ल्यापटप राख्दा अण्डकोषको तापक्रम बढेर शुक्रकीट मर्छ । कीटनाशक औषधी, केमिकल, रसायनहरूको संसर्गमा काम गर्ने र यन्त्रिक विकीरणले पनि पुरुषमा बाँझोपन हुन्छ । मस्तिष्कको पिट्युटरी ग्रन्थी र अण्डकोषबीचको तालमेल नमिलेमा टेस्टोस्टेरोन हर्मोनको कमी भएमा प्रजनन क्षमता घटाउँछ ।
तर, बाँझोपन हुनुमा महिलालाई बढी दोषी किन देखाइन्छ ?
हाम्रो समाजमा बाँझोपनको कुरा आउनेबित्तिकै महिलालाई नै दोषी देखाइन्छ । सामाजिक, मनोवैज्ञानिक कारणहरू र पितृसत्तात्मक सोच भएकाले पुरुषको ‘पुरुषत्व’लाई उसको सन्तान जन्माउने क्षमतासँग जोडेर हेरिन्छ । पुरुषमा समस्या हुनुलाई कमजोरी ठानेर पुरुषहरू बाँझोपनको जाँच गराउन हिच्किच्याउँछन् । समाजमा चेतनाको अभाव छ । धेरै पुरुषहरू यौन क्षमता ठिक छ भने प्रजनन क्षमता पनि ठिक भएको सोच्नु पुरुषहरूमा हुने भ्रम हो । धार्मिक र सांस्कृतिक विश्वासका कारण कतिपय समुदायमा सन्तान नहुनुलाई महिलाको पूर्वजन्मको पाप भन्ने गरिन्छ । गर्भधारण महिलाको शरीरमा हुने प्रक्रिया भएकोले गर्भ नरहँदा महिलाकै शरीरमा समस्या भएको छ भन्ने समाजको बुझाइ छ, यो पूर्ण सत्य होइन ।
पुरुषमा हुने बाँझोपनबारे समाजमा किन कुरा गरिँदैन ?
नेपाल पुरुषप्रधान देश भएकाले बच्चा जन्माउने सन्दर्भमा महिलाको भूमिकामात्र हुन्छ भन्ने मान्यता रहेको छ । पुरुषमा पनि बाँझोपनको समस्या हुन्छ भन्ने सोचेका हुँदैनन् । पुरुषहरूले युरोलोजिष्टलाई मात्र जाँच गराउँछन् । युरोलोजी जाँच गरेरमात्र पुरुषमा हुने बाँझोपनको कारण पत्ता लगाउन सकिँदैन । नेपालमा एन्ड्रोलोजिष्ट जाँच गर्ने विशेषज्ञको कमी थियो । जसले गर्दा पुरुषको बाँझोपनको कुरालाई लुकाएर महिलालाई दोष देखाइन्छ । पुरुषहरूको लागि युरोलोजी र एन्ड्रोलोजी कुन जाँच गर्ने भन्ने जानकारी हँुदैन । पुरुषको प्रजनन् स्वास्थ्य जाँचका लागि एन्ड्रोलोजिष्ट नै चाहिन्छ भन्ने ज्ञान छैन । यौन र प्रजनन स्वास्थ्यबारे विद्यालय वा समाजमा खुलेर कुरा नगर्ने प्रवृत्तिले गर्दा पुरुषहरू आफ्ना समस्या लुकाएर बस्छन् । नेपालमा पुरुष बाँझोपनसम्बन्धी सामाजिक अन्धविश्वास र अज्ञानता हटाउन यौन र प्रजनन् स्वास्थ्य शिक्षाको ठूलो भूमिका हुन्छ । अब वीरगञ्जमा पनि एन्ड्रोलोजिष्टको जाँच गर्ने चिकित्सक पनि उपलब्ध भइसकेका छन् ।
कस्ता समस्या देखिएमा पुरुषहरूले तुरुन्त जाँच गर्नुपर्छ ?
यौन इच्छामा कमी भएमा, अण्डकोषमा दुखाई भएमा, गाँठो वा नसाहरू सुन्निएको महशुस भएमा र सानोमा अण्डकोष तल नझरेको भएमा जाँच गराउनु पर्दछ । धेरै दम्पतीहरू वर्षौंसम्म सन्तान नहुँदा महिलालाई दोषी मान्छन् । गलत ठाउँमा भौँतारिएर समय र पैसा खर्च गरिरहेका हुन्छन् । तर, पुरुषमा बाँझोपन भएको बुझ्दैनन् । बाँझोपनमा ५० प्रतिशत भूमिका पुरुषको पनि हुन सक्छ । पुरुषहरूमा लुकेर रहेका सानाभन्दा साना समस्याहरू, शुक्रकीटको कमीलाई आधुनिक प्रविधिबाट समाधान गर्न सकिन्छ । बाँझोपनलाई नलुकाई समयमा उपचार गरे सन्तान नहुने समस्याबाट मुक्त हुन सकिन्छ ।
पुरुषमा हुने बाँझोपनबाट बच्न कस्ता उपायहरू अपनाउन सकिन्छ ?
पुरुषहरूले आफ्नो दैनिक जीवनशैलीमा केही परिवर्तन गरेर धेरै बाँझोपनका समस्याहरूबाट बच्न सकिन्छ । शुक्रकीट उत्पादनका लागि शरीरको सामान्य तापक्रमभन्दा पनि कम तापक्रम चाहिन्छ । अण्डकोषलाई शीतल राख्नु पर्छ । धेरै तातोपानीले नुहाउनु हुँदैन । ल्यापटपलाई काखमा राखेर काम गर्दा शुक्रकीट मार्न सक्छ । भित्री लुगा खुकुलो सुतीको प्रयोग गर्नु पर्छ । भिटामिन सी, ई र जिंक भएका खानेकुरा फलफूल, तरकारी, ओखर, फर्सीको बियाँले शुक्रकीटको डीएनए सुरक्षित राख्छ । मोटोपनले हर्मोनलाई असन्तुलित बनाउने भएकाले मोटोपनलाई घटाउनु पर्छ । शुक्रकीटको संख्या र गतिशीलतालाई सुर्तीजन्य पदार्थले घटाउने भएकोले सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन । जीम जाने पुरुषहरूले लिने सप्लिमेन्ट वा स्टेरोइडले अण्डकोषलाई सुकाउन सक्ने भएकोले सचेत रहनु पर्छ । मधुमेह र हृदयरोगको उपचार समयमै गर्नु पर्छ ।
बाँझोपनको उपचार कसरी गरिन्छ ?
बाँझोपन हुने समस्याहरू फरकफरक हुन्छन् । हर्मोनको असन्तुलन वा संक्रमण भएमा औषधीको प्रयोग गरिन्छ । सुन्निएका नसाहरूलाई माइक्रोस्कोपको मद्दतले बाँध्ने वा सर्जरी गरी शुक्रकीटको गुणस्तर सुधार गरिन्छ । अवरोध भएको नली खोल्ने, वीर्यमा शुक्रकीट भए÷नभएको जाँच गर्ने, धुम्रपान नगर्ने, मोटोपन हुने पुरुषहरूले तौल घटाउने र सन्तुलित आहार खानु पर्छ । महिला र पुरुष दुवैको जाँच सँगै शुरू गर्नु पर्छ । एन्ड्रोलोजिष्ट वा प्रजनन् विशेषज्ञसँग सल्लाह गर्दा गलत औषधी सेवनबाट बच्न सकिन्छ । उपचार गरेपछि शुक्रकीट बन्न करिब ३ महिना लाग्छ । पुरुषको उपचार शुरू गरेको १ वर्षभित्रमा पुरुषमा प्रजनन् क्षमता आउन सक्छ । यदी उमेरको हिसाबले प्रजनन् हुन नसक्ने अवस्था छ भनेमात्र आईभीएफ गर्न सल्लाह दिन्छौं ।
सन्तानबिहीन दम्पतीहरूलाई के सल्लाह दिनुहुन्छ ?
महिलाको महिनौंसम्म जाँच गरिने भएकाले धेरै समय खेर जान्छ । श्रीमान र श्रीमती साथै बस्दा पनि गर्भधारण नभएको १ वर्ष (महिलाको उमेर ३५ माथि भए ६ महिना) भएपछि श्रीमान र श्रीमती दुवैले एकैसाथ जाँच शुरू गर्नु पर्छ । शुरूमै एन्ड्रोलोजिष्टको जाँदा अनावश्यक जाँचहरू गर्नु पर्दैन । छिटो उपचार हुन्छ । पुरुषको प्रजनन अवस्थाबारेमा जानकारी समयमा पाउन सकिन्छ । एन्ड्रोलोजिष्ट पुरुष प्रजनन् स्वास्थ्यमा नयाँ आशा हो । बाँझोपन भएका पुरुषहरूले लाज मान्ने होइन, जाँच गरौँ । पुरुष बाँझोपनको आधुनिक र सफल उपचार पुरुषत्वको सम्मान र सन्तानको सपना हो ।