वीरगञ्ज महानगरपालिका–९ घर भएका डा. अच्युतानन्दलाल कर्ण वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् । उनले बंगलादेशबाट कार्डियोलोजीमा एमडी गरेका छन् । १० वर्षदेखि चिकित्सा पेशामा लागेका उनले १ वर्ष गंगालाल हृदय केन्द्र, काठमाडांैमा अभ्यास गरेका छन् । नेशनल मेडिकल कलेज र नेहा फार्मेसीबाट मुटुरोगीहरूलाई सेवा दिँदै आएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कर्णसँग मुटुरोगको समस्या, सावधानी र समाधानको उपायबारे मध्य नेपालका लागि कमला भण्डारी गरेको कुराकानी ः
हार्टअट्याक कसरी हुन्छ ?
मुटुलाई खाना दिने रक्तनली बन्द भएमा मुटुले खाना नपाएर हार्टअट्याक हुन्छ । मुटुका नली च्यापिँदा, एक्कासी उक्कालो चढ्नु पर्दा, शरीरमा एक्कासी रगत कम हुँदा, मुटुको धड्कन बढ्दा, काममा धपेडी हुदाँ, शरीरमा इन्फेक्सन हुदाँ, शरीरमा इन्फेक्सन भएमा, एनिमिया भएमा, मुटुमा रगतको सप्लाईभन्दा माग बढेमा हार्टअट्याक हुन्छ । मुटुले खाना नपाएको अवस्थालाई हार्टअट्याक भनिन्छ ।
कम उमेरमै हार्टअट्याक हुनुको कारण के हो ?
पहिला ४०÷५० वर्षपछि उमेरका मानिसलाई हार्टअट्याक हुन्छ भनिन्थ्यो । २५÷३० वर्षको उमेरका मानिसहरूलार्ई पनि हार्टअट्याक भएको देखिएको छ । नेपालमा मात्र होइन्, विदेशमा पनि ४० वर्ष अगाडि हार्टअट्याक भएको देखिन्छ । धेरैले कोरोनाको भ्याक्सिनले रगत बाक्लो बनाएर उमेरमा हार्टअट्याक हुनेको संख्या बढेको भन्ने गरिन्छ । तर, यो अनुमानलाई अनुसन्धानले पुष्टि गरेको छैन । हार्टअट्याक हुने कारणहरू धेरै कारणहरू छन् । २० देखि ३० प्रतिशतसम्म मधुमेह, ब्लड प्रेसर र थाइराइडको कारणले हार्टअट्याक हुन्छ । कोलस्टोन, मृगौला डाइलोसिस भएका व्यक्तिहरूलाई, चुरोट, सुर्ती, पान, बिडी, खैनी, जाँड, रक्सी खानाले, मोटोपना भएका, दैनिक व्यायाम नगर्ने, खानपानको गडबढी, सोसल आइसुलेशन जेल जस्तै जीवनयापन गर्ने कारणले हार्टअट्याक बढी भएको पाइन्छ ।
हार्टअट्याकबाट बच्न कस्तो सावधानी अपनाउन सकिन्छ ?
धेरै मानिसलाई हार्टअट्याक हुँदा बचाउन पनि गाह्रो भइरहेको छ । हार्टअट्याकबारे पहिलादेखि नै सचेत हुँदा बचाउन समय मिल्छ । समाजमा मधुमेह, प्रेसर, थाइराईड र कोलस्टोनको औषधी शुरू गर्दा बिरामीहरू औषधी नदिनुस्, हामी आफै कन्ट्रोल गर्छौं भन्ने गर्छन् । हार्टअट्याकबाट बच्न मधुमेह, प्रेसर र कोलस्टोनको समस्या भएका बिरामीले डक्टरले भनेअनुसार औषधी खानु पर्छ । डाक्टरले बोलाएको समयमा परामर्शको लागि अस्पताल जानु पर्छ । मधुमेह, प्रेसर थाइराइड र कोलस्टोनले ८० देखि ९० प्रतिशत खराब गरिसकेपछिमात्र शरीरमा लक्षण देखिन्छ । १० देखि २० प्रतिशत प्रेशर र मधुमेहले शरीरमा असर गरेको बेलामा अस्पताल आएमा रोकथाम गर्न सकिन्छ । ३० वर्ष नाघेपछि चिकित्सकले भनेको बेलामा थाइराइड र कोलस्टोनको जाँच गर्नु पर्छ । मोटोपन र प्रेशर भएकाहरूले २०÷२५ वर्षदेखि नै मुटुको जाँच गर्नुपर्छ । धेरै जंकफुडहरू, मम, चाउमिन, पिजा जस्ता खाना खान बन्द गर्नु पर्छ । बिहान वा बेलुका आधा घण्टा हिड्नु पर्छ । पहिला संयुक्त परिवारमा बस्ने भएकाले सबैसँग बोलचाल हुन्थ्यो । अहिले प्राय एकल परिवारमा बस्ने भएकाले बढी मोवाइलमा नै व्यस्त हुन्छन् । मनका कुरा आदन प्रदान गर्ने माध्यम हुँदैन । मनको कुरालाई पोख्न साथीभाई वा परिवारको सदस्यसँग कुराकानी बढी गर्नु पर्दछ । मोबाइलको कारणले (ब्लु लाइट इफेक्ट) हर्मोनको ब्यालेन्स बिग्रिन्छ । रातिमा ७ घण्टा राम्रोसँग नसुत्दा स्ट्रेस हर्मोन (तनाब गराउने हर्मोन)हरू उत्पन्न गर्छ । स्टेस हर्मोनमा भएको कर्टिशोलले रगत बाक्लो बनाउँछ । मुटुको ढुकढुकी बढाई हार्टअट्याक हुन्छ । मोटोपनालाई कन्ट्रोल गर्न नसक्दा पनि हार्टअट्याक हुन्छ । पहिला पनि जाँड, रक्सी, चुरोट खाने गर्थे । तर, अहिले लहैलहैमा लागेर जाँड, रक्सी, चुरोट बढी खाने गर्दछन् । बुबाआमासँग झगडा भए तनाव भयो भनेर गएर चुरोट तान्ने गर्दछन् । घरमा के खाने भन्दा मःम, पिजा खाने र रातभर मोबाइल हेर्ने कारणले शरीरमा असर गरिरहेको छ । मधुमेह, प्रेसर, थाइराईड र कोलस्टोन कन्ट्रोल गर्न औषधीको सेवन गर्नु पर्छ ।
मुटुलाई स्वस्थ्य राख्न के गर्नु पर्छ ?
उपचार गर्दा बिरामीले कस्तो खानपान खाने भनेर प्रश्न गर्छन् । चिल्लो, बोसो, नुनिलो नखाने, फलफूलको मात्रा बढाउने, सुगरको बिरामी छ भने पनि २४ घण्टाको खानामा २५ प्रतिशत खाजाको रुपमा फलफूल खानु पर्छ । कार्बोहाइड्रेट काट्नु पर्छ । माछामासु धेरै नखाने, अण्डाको पहेलो भाग खानलाई भन्छौं । माछामासु अण्डा मिलाएर खाने हो भने कार्बोहाइड्रेट भएका खाना भात, रोटी, ढिडोजस्ता खाना सामान्यभन्दा आधा कम खानु पर्छ । माछामासु र भात, रोटी, ढिडो सबैले बोसो बढाउँछ । माछामासु बढी खान मन लाग्दा भात, रोटी, ढिडो, चिउरा, भुजाको मात्रा आधा कम गर्नु पर्छ । ट्रान्स फ्लयाटको मात्रा कम भएको, घरमा नै बनाएको ध्यु खानु पर्छ । बोसोको मात्रा घटाउन हरियो सागसब्बजी, काक्रो, गाजर, मुला सलादको रुपमा र दालले पेट भर्ने गर्नु पर्छ । भात र रोटी कम खाने गर्नु पर्छ । खाना खानुअघि खाजाको रुपमा फलफूल, सातु, थोरै चिउरा, भुजा खाजाको रुपमा खान सके धेरै राम्रो हुन्छ ।
हार्टअट्याक हुने बिरामी अवस्था कस्तो छ ?
गर्मीको तुलनामा जाडोमा बढी नै हार्टअट्याकको बिरामीहरू देखिन्छ । ओपीडीमा दिनको १५ जना बिरामी भर्ना भएकामा १० प्रतिशत मुटुको बिरामीमा ३० प्रतिशत बिरामी हार्टअट्याकको कारणले भर्ना भएका छन् । हार्टअट्याक हुनेमा पुरुषहरूमा २५÷३० वर्षदेखि लिएर ५५÷६० वर्षका देखिन्छन् । महिलाहरूमा ३५ वर्ष देखि ५५ वर्षसम्म देखिएको छ । मोटोपन भएका महिलामा हार्टअट्याक हुनेको प्रतिशत पनि कम देखिएको छ । अहिले हार्टअट्याकबाट मृत्यु हुनेको संख्या क्यान्सरबाट मृत्यु हुनेभन्दा पनि उच्च छ ।
पुरुषमा हार्टअट्याक बढी हुन कारण के हो ?
तराईमा पुरुषहरूले जाँड, रक्सी, चुरोट, खैनी, गुट्खा बढी खान्छन् । तनाव बढी लिने, मोबाइलको प्रयोग बढी गर्ने र कम सुत्ने गर्छन् । महिलाहरूलाई डक्टरले हिँड्न भन्यो भने हिड्छन् । पुरुषहरू हिड्नु पर्छ भन्ने सचेतना भए पनि नियम पालना गरिरहेका हुँदैनन् । महिनावारी हुँदासम्म महिलामा हार्टअट्याक हुने कारक तत्व कम हुन्छ । महिलाहरू परिवारमा बढी घुलमिल हुने र मोबाइल कम चलाउने, कुनै तनाव र दुःख आउँदा रोएर पनि मन हलुका बनाउने भएकोले महिलामा हार्टअट्याक कम हुन्छ । पुरुषहरूमा कोलेस्टोन बढाउने हर्मोनहरू बढी हुन्छ । जसले रगत बाक्लो बनाउँछ । कोलेस्टोनले रगत बाक्लो गराउँछ । अहिले अल्कोहल खाने र अल्कोहल नखाने दुवैमा फ्याटिलिभरको मात्रा बढी देखिएको छ । कलेजोमा बसेको फ्याटिलिभर चुहिएर रगतमा बिस्तारै जान्छ । हार्टअट्याक हुने सम्भावना हुन्छ । कोलेस्टोन बढी भएमा कलेजोमा गएर जम्छ । र, रगतको नसामा गएर जम्छ । शरीरको बोसो काट्ने खानाहरू काक्रो, गाजर र मुला कम खाएमा, मासुभातमात्र खाने, नहिँड्ने मानिसलाई कोलेस्टोन बढी हुन्छ । शरीरमा ४ वटा कोलस्टोन हुन्छ । ३ वटा कोलस्टोन नराम्रो भए पनि जाँड, रक्सी नखादाँ एउटा राम्रो कोलस्टोनले हार्टअट्याक र प्यारालाइसिस् हुनबाट मुटुलाई बचाउँछ । घरमा पेलेको तोरीको तेल खानु पर्छ । सनफ्लावर, तोरी र सोयाबिन तेल मिलाएर सबैलाई १०÷१० दिन खाने गर्दा शरीरमा जम्दैन ।
अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?
डाक्टरहरूको सल्लाह सुझावलाई बिरामीहरूले मानिदिनु पर्छ । सचेत नागरिकको रुपमा हार्टअट्याक हुनबाट बच्न नियमहरूको पालना गर्नु पर्छ । स्वस्थ्य खानपान, तनावरहित जीवन र मोबाइलको प्रयोग कम गरेर ब्लु लाइट इफेक्ट कम गर्नु पर्दछ । आफ्नो तनाव मनमा गुम्स्याएर नराख्ने, नियमित ३० मिनेट व्यायम गर्ने र मुटु स्वस्थ्य राख्ने यसबाट जोगिने उपाय हुन् । हार्टअट्याक भइहालेमा मुटुको डाक्टरले बचाउन सकोस् । होडबाजीमा लागेर होइन, आफ्नो क्षमताअनुसारको काम गरौं, सन्तुष्ट बनौं । मुटु बचाउन पालना गर्नुपर्ने सबै नियम पालना गरौं, मुटुलाई बचाऔं ।