रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)का अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले समाजमा आपसी सद्भाव, एकता र सहिष्णुता थप सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् ।
राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
सन्देशमा असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजयको खुसियालीमा मनाइने होली पर्वले वैरभाव त्यागी प्रेम, आत्मीयता र भ्रातृत्वको भावना विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ । उनले आफन्तजन तथा साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने परम्पराले सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।
रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा देशभर वसन्त ऋतुका विविध रङ्गहरूलाई प्रतिविम्बित गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि सुरु हुने होली पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुने परम्परा रहिआएको छ ।
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक तथा सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै त्यही विविधताबीचको एकता नै नेपालीको पहिचान र सुन्दरता भएको बताएका छन् ।