अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानको नेतृत्व सम्हाल्न सक्ने सम्भावित सबै व्यक्तिहरू मारिएको दाबी गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले शनिबार भएको आक्रमण अत्यन्त सफल भएको दाबी गर्दै भने, “आक्रमण यति सफल भयो कि अधिकांश सम्भावित उम्मेदवारहरू नै समाप्त भए। अब हामीले सोचेकामध्ये कोही पनि बाँकी छैनन्, किनभने उनीहरू सबै मारिएका छन्। दोस्रो वा तेस्रो स्थानमा रहेकाहरू पनि जीवित छैनन्।”
ट्रम्पको यो अभिव्यक्ति इरानका दीर्घकालीन सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि त्यहाँ शक्ति हस्तान्तरण कसरी अगाडि बढ्छ भन्ने अन्योलबीच आएको हो। खामेनेईको मृत्युपछि इरानमा नेतृत्व शून्यता र राजनीतिक अस्थिरताको आशंका बढिरहेको छ।
ट्रम्पले खामेनेईको हत्यासम्बन्धी टिप्पणी गर्दै भने, “उसले मलाई मार्नुअघि मैले उसलाई मारें। उनीहरूले दुई पटक प्रयास गरेका थिए, तर मैले पहिले नै काम सकाएँ।”
सन् २०२४ मा अमेरिकी न्याय मन्त्रालयले राष्ट्रपति निर्वाचनअघि ट्रम्पको हत्या गर्ने योजनालाई विफल पारिएको भन्दै संघीय अभियोग दर्ता गरेको थियो। अदालतका कागजातअनुसार इरानी अधिकारीहरूले फरहाद शाकेरी नामक एक संदिग्धलाई ट्रम्पमाथि निगरानी राखी अन्ततः हत्या गर्ने योजना बनाउन निर्देशन दिएका थिए।
ट्रम्पको पछिल्लो भनाइले अमेरिका–इरान सम्बन्ध झन् तनावपूर्ण बन्ने संकेत देखिएको छ। इरानतर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।