पर्सा क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगञ्ज महानगरपालिका–१६, नगवामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीयले यादवलाई भव्य स्वागत गर्दै मतदातासँग प्रत्यक्ष संवादको अवसर दिएका थिए।
घरघरबाट निस्केका महिला मतदाताले यादवलाई टीका लगाएर आर्शीवाद दिनुका साथै, जनताका हरेक दुख–सुखमा साथ दिने नेतृत्वको समर्थन जनाएका थिए। स्थानीयहरूले भने, “चुनावको समयमा मात्र भाट माग्न आउने नेता होइन, जनताको वास्तविक साथ दिने नेता हामीले रोज्छौं।”
पूर्वमन्त्री समेत रहेका यादवले मतदातालाई सम्बोधन गर्दै फागुन २१ गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताउँदै सही नेतृत्वलाई अमूल्य मत दिनुपर्नेमा जोड दिए। उनले विगत दुई कार्यकालमा क्षेत्रको विकास र जनताको सेवामा निर्वाह गरेको भूमिका मूल्यांकन गर्न मतदातासँग आग्रह गरे।
यादवले मौसमी नेताहरूको उदाहरण दिँदै भने, “व्यापारी आफ्नो नाफाघाटा मात्रै हेर्छ। चुनावलाई पनि व्यपारकै हिसाबले हेर्छ। त्यस्ता नेतासँग जनता सजग हुन जरुरी छ।”
उनले मुलुकलाई वर्तमान संकटबाट निकालेर विकास र समृद्धिको दिशामा अगाडि बढाउन सक्षम एकमात्र दल एमाले भएको दाबी गर्दै भने, “स्टण्ट गर्नेहरूले भोटका लागि जेपनि बोल्छन्, तर चुनाव सकिएपछि गायब हुन्छन्। त्यसैले अबको विकल्प एमाले नै हो।”