निभा सिंह महिला मानवअधिकार रक्षक सञ्जाल, बाराकी अध्यक्ष हुन् । उनी २० वर्षदेखि महिलाअधिकारको क्षेत्रमा सक्रिय छिन् । महिलाको हकहित र अधिकार हनन् भएका महिलाहरूको आवाज बनेर न्याय दिलाउने काममा सक्रिय अधिकारकर्मी निभा सिंहसँग अधिकारकर्मीका भोगाइ, महिला अधिकार र महिलाको अवस्थाबारेमा मध्य नेपालले गरेको कुराकानी ः
महिला अधिकारको क्षेत्रमा कसरी आउनुभयो ?
एउटा छोरीको जन्म भएमा मानिसहरू अर्को सन्तान गर्भमा आएपछि डाक्टरकहाँ गएर आफ्नो गर्भको लिंग पहिचान गर्थे । छोरी गर्भमा भएपछि भ्रुणहत्या गर्न आमा अस्पतालसम्म पुग्नु दुःखको कुरा हो । आमाको चित्कारलाई चिर्न महिलाको क्षेत्रमा काम गर्न थालँे । छोराभन्दा कुनै पनि छोरी कम हुँदैन । आमाबुबाले छोरा र छोरीलाई गर्भमा राख्दा प्रक्रिया एउटै हुन्छ । विज्ञान प्रविधिको युग भनिरहदाँ जब एउटा महिलाले पुरुषहरूलाई आर्थिक रुपमा साथ दिँदैन भने कसरी उज्यालो हुन्छ । उज्यालो बनाउनको लागि म आफ्नो परिवारबाट बाहिर निस्केको हो । म सामाजिक काम गर्न निस्केपछि मानिसहरू नेगेटिभ कुरा धेरै गर्थे । समाजमा केही परिवर्तन गर्नु पर्छ भनेर प्लान नेपालमा सामाजिक अभियन्ताको रुपमा काम गर्न शुरूवात गरे । बारामा प्लान नेपालमा भोलेन्टियर्समा ९ महिनासम्म काम गरेँ । मामाघर भारतमा भएकोले मामाघरमा बसेर पढेँ । नेपालमा केही गर्नु पर्छ भन्ने सोच थियो । नेपाली शुद्ध बोल्न आउँदैनथ्यो । त्यो बेला नेपालको पाल्पा र तातोपानीका विभिन्न स्थानहरूमा तालिम दिने श्रोत व्यक्तिका रुपमा र लैङ्गिक समानता कसरी कायम हुन्छ भनेर काम गरेँ । मानवअधिकारको अनुभूति सबैले गरिरहेको छ । विश्व नै महिला र पुरुषले बनेको छ । भने नेपाल पनि महिला वना रहन सक्दैन । महिला र पुरुष दुवैको अहम् भूमिका हुन्छ, त्यो भूमिकामा एउटा इँटा राख्ने काम गरेँ ।
बाल्यकालमा कस्तो स्वभाव थियो ?
बाल्यकालमा लजाउने, केटाहरूसँग त्यति नबोल्ने र बाहिर निस्केर आफ्नो कुरा नभन्ने स्वाभाव थियो । महिला नेतृत्वमा आएमा विश्व नै परिवर्तन हुन्छ भन्ने लाग्थ्यो । मेरो विवाहको कुरा चल्दा पनि बालविवाहको गित बनाएर बुबाको अगाडि गाउथें । महिलाले जे पनि गर्न सक्छ, तर वातावरण दिनु पर्छ । विवाह भनेको जिम्मेवारी पद्दति हो । म त्यो पद्दतिको लायक छैन भने मैले विवाह गर्नु उचित छैन भनेर बुबालाई सम्झाएँ । उहाँहरूको मायाले म अगाडि बढेको छु । जति पनि काम गरिरहेकी छु, सम्पूर्ण महिलाहरूको प्रेरणाको लागि पनि हो । मानिसले काम राम्रो गर्छन् भने समाजले वा कुनै एक व्यक्तिले नराम्रो भनिदिँदैमा केही हुँदैन ।
विवाहपछि पनि समाजसेवामा लाग्न कत्तिको सहज भयो ?
विवाहपछि केही समय अल्मलिएँ । राजपुतको जातमा छोरी वा महिलाहरू घरबाहिर गएको राम्रो मान्दैनन् । परिवारको मानिसभन्दा अरू मानिसले नकारात्मक सोचले हेर्छन् । परिवारलाई मनाउन मेरो श्रीमान सफल हुनुभयो । मानिस अगाडि बढिरहेको छ भने साथ दिन सक्नु पर्छ । जात भनेको त पुर्खाले बनाएको हो । विज्ञानले महिला, पुरुष, तेस्रो लिङ्गी तीन जात बनाएर पठाएको छ । पुरुषको भरमा मात्र बाँच्यौ भने कसरी परिवर्तन हुन्छ । भनेर सम्झाएँ र बिस्तारै काम गर्न सहज वातावरण पाए ।
नेतृत्व गर्दा कस्ता चुनौतिहरूको सामना गर्नुप¥यो ?
दुई दशकदेखि मधेश प्रदेशमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी छु । काम गर्दा विभिन्न आरोपहरू आउँछन् । म त्यो आरोपमा डुब्ने मानिस होइन् । मलाई जसले जुन दृष्टिले हेर्छ, त्यो उसको सोचाइ हो । म के गरिरहेछु । म कस्तो छु । त्यो मेरो बुझाई अर्को हुन्थ्यो । त्यसैले म यहाँसम्म पुग्न सफल भएँ । म त्यही सोचमा डुबेको भए फर्केर घरको चुल्होमा घरभित्रको महिला बनेर बस्थेँ । मधेश प्रदेशमा मात्र होइन, नेपालमा नै चिनिन सफल भएकी छु । पहिला जन्म भएपछि बुबाको नामबाट पहिचान हुन्थ्यो । विवाह गरेर श्रीमानको घर जाँदा श्रीमान र ससुराको नामले चिनिन्छ । जब बच्चा जन्मिन्छ, आफैले जन्माएको बच्चाको पहिचानको नामले चिनिन्छ । अरूको पहिचानलाई चिरेर आफ्नो पहिचान र नामले परिचित छु ।
विदेशमा बस्ने अवसर त्यागेर नेपाल किन फर्किनुभयो ?
मैले बेलायत जाने अवसर पाएको थिएँ । बुबा मलाई पु¥याउन एयरपोर्ट जानुभएको थियो । हामी दुवैजना रोइरहेका थियौं । एकजनाले मेरो बुबालाई निभाजीको बुबा हुनुहुन्छ ? भनेर सोध्नुभयो । तर, बुबाले घर आएर आमासँग भन्नुभयो–एक दिन मेरो नामले छोरीको पहिचान थियो, आज छोरीको नामले मेरो पहिचान भएको छ । मलाई धेरै खुशी लाग्छ । मलाई बेलायतमा नै विवाह बस्न भनेका थिए । तर, मेरो सोच त्यो थिएन । हामीजस्तो मानिसको आवश्यक्ता नेपाललाई नै छ । समाजलाई परिवर्तन गरेर अगाडि बढ्नु पर्छ । विदेशी भूमिमा बसेर, पैसा कमाएर र चिल्लो भूमिमा बस्दैमा महिलाको पहिचानलाई कहिले गुमाउनु हुँदैन ।
पहिला र आजको मधेशको स्थितिमा के फरक पाउनुभएको छ ?
पहिला र अहिले महिलाको स्थितिमा धेरै फरक छ । यो स्थिति आउन हामीले धेरै वर्ष प्रयास गरेका छौं । आमाको नामबाट नागरिकता बन्ने अभियान सञ्चालन हुन्थ्यो । काठमाडौंमा पहाडका महिलाहरूले आफ्नो ठाउँबाट अभियान चलाउँथे । त्यो दिन हामी पनि बारा र पर्सामा अभियानको बिगुल बजाउँथ्यौं, मधेशका महिलाहरूको आवाज केन्द्रसम्म पुगोस् भनेर ।
महिलाहरूलाई घरबाट बाहिर निकाल्न कस्ता चुनौती आए ?
सबैभन्दा पहिला महिला समक्ष हुन गाह्रो हुन्थ्यो । उनीहरूको ससुरालाई महिला के हो ? महिला किन अगाडि आउन जरुरी छ भनेर सम्झाउँदा उहाँहरूले तपाई पनि घरमा बस्नुस् यस्तो काममा नलाग्नुहोस् भन्थे । कहिलेकाँही रुन्थेँ । मेरो दुखेको चित्त बुझाउन फेरि समाजमा नै जान्थेँ । कहिले उनको छोरालाई भेट्ने, कहिले उनको श्रीमानलाई, कहिले ससुरालाई भेटेर कुरा गर्दागर्दै बाहिर निकालेर सम्बन्धित निकायसम्म महिला पुग्ने वातावरण सिर्जना भएको छ । २० वर्षअगाडि काठमाडौंमा जाँदा जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाका घटनाहरू धेरै छन् । तर, त्यो घट्नाहरू बाहिर आइरहेको छैन । महिलाहरू बुझेर बाहिर आउन थाले । विभिन्न संघ–संस्था र पार्टीले आफ्नो ठाउँबाट महिलाको क्षेत्रमा काम गर्न थाले । महिलाहरू घटना भएपछि सम्बन्धित निकायमा पुगेर आफ्नो अधिकारबारेमा बोल्न थाले । काठमाडौं जाँदा भन्थे जिल्लामा घटनाहरू बढ्न थाले । महिला हिंसाको घटना बढेको होइन् । घटना त पहिला पनि थियो । तर, सम्बन्धित निकायमा पुग्न सकेको थिएन । आजको अवस्था त्योभन्दा फरक अवस्था छ । महिलाहरू स्वयम् आफंै गएर सम्बन्धित निकायमा समस्याहरू राख्ने काम गरिरहेका छन् । बच्चाजस्तै हात समाएर लानुपथ्र्यो । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतसम्म पु¥याउने काम गर्थेँ । सबै महिलासँग पैसा हुदैनथ्यो । न्यायको लागि पनि पैसा चाहिन्छ । न्याय पनि सस्तो छैन । कुन वकिलले सस्तोमा काम गरिदिन्छन् । बुझेर त्यहाँसम्म पनि आफैले लैजानुपथ्र्यो । सबै महिला पढेलेखेका छैनन् । उनीहरूको फारमसमेत आफैले भरिदिनु पर्छ । अहिले महिलाहरू स्वयम् जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा अदालतमा जान्छन् । उनीहरूको कुरा सुनिएन भनेमात्र हामी जान्छौं । मानव अधिकार दिवस, महिला दिवस वा विभिन्न खालका अभियानमा हामी पनि कुरा राख्ने अवसर पाउँछौं । महिलाहरू ती कुराहरू सुनेर र बुझेर आफ्नो काम आफै गर्नु पर्छ भन्ने बुझ्नु हुन्छ । कति नबुझेका महिलाहरूसँग हामी हातमा हात, काँधमा काँध मिलाएर काम गरिरहेका छौं ।
महिला अधिकारका क्षेत्रमा काम गर्दाको स्मरणीय कुनै घटना छ ?
काम गर्दाका घटनाहरू धेरै छन् । तर, केही घटनाहरू भन्न पनि मिल्दैन । जब न्यायको लागि र महिलाको लागि काम गर्दै हुनुहुन्छ भने एउटा विपक्षी बनेर पक्षधरको रुपमा होइन, पीडित व्यक्तिको न्यायको लागि काम गथ्र्यौ भने पीडकले हामीलाई पीडक सम्झिने उनीहरूको सोच थियो । त्यो बेलामा कहिलेकाहीँ कुनैकुनै मानिसले गलत काम गरे होलान् । मलाई मजदूरको काम गर्नुपरे मञ्जुर छ । तर, कसैको पैसा लिएर विकास गर्न मञ्जुर छैन । बरू, आफ्नो खर्च गरेर सम्बन्धित निकायमा पु¥याउने काम गरेकी छु । आरोपहरू नआउने होइनन् । पीडीत महिलाहरूले जब न्याय पाउँछन्, त्यो समय जति नै आरोप आए पनि खुशी लाग्छ । न्यायको लागि सधै लड्नु पर्छ ।