वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा सम्पन्न घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्त स्वयं उपस्थित भएका थिए। कार्यक्रममा पन्तले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्र नम्बर–१ मा चुनावी माहोल थप तातो बनाएका छन्।
श्रीपुर क्षेत्रमा आयोजित कार्यक्रममा स्थानीयवासीले उत्साहजनक सहभागिता जनाएका थिए। घरदैलोका क्रममा पन्तले जनताका समस्या, अपेक्षा र सुझावहरू सुनेका थिए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन आफ्नो मुख्य प्राथमिकता हुने प्रतिबद्धता दोहोर्याए। पन्तले भने, “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन। पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्व आवश्यक छ।”
त्यसैगरी वीरगञ्ज–१६ अन्तर्गत नगवा, इनर्वा, फुलवारी टोल लगायतका क्षेत्रमा पनि व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ। वार्ड नम्बर–१६ का बासी चन्दन पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासीले उल्लेख्य सहभागिता देखाएका थिए। टोल–टोलमा पुगेका पन्तलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले साथ र समर्थन दिएका छन्।
घरदैलोका क्रममा मतदाताले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, युवाका लागि रोजगारी सिर्जना र सुशासन जस्ता विषयमा चासो व्यक्त गरेका थिए। पन्तले ती सबै विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने आश्वासन दिँदै, विगतका प्रतिनिधिहरूले गर्न नसकेका कामहरू परिणामसहित पूरा गर्ने दाबी गरेका छन्।
रास्वपाको अभियानमा देखिएको जनसमर्थनले क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा रोचक हुने संकेत दिएको छ। घरदैलो कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पनि मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्। विशेषगरी युवा पुस्ता परिवर्तनको पक्षमा उभिएको पाइन्छ।
श्रीपुरदेखि नगवासम्म फैलिएको अभियानमा महिलाहरूको सक्रिय उपस्थिति देखिएको थियो। उनीहरूले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य सेवा सुधारको अपेक्षा राखेका थिए। पन्तले महिलाको सशक्तीकरण र सहभागिता आफ्नो प्राथमिकतामा रहने प्रतिबद्धता पनि व्यक्त गरे।
चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा, हरि पन्तको घरदैलो अभियानले रास्वपाको संगठनात्मक मजबुती र जनआधार विस्तार भएको स्पष्ट संकेत गरेको छ। पन्तले मतदातालाई सचेत निर्णय लिन आग्रह गर्दै भने, “मत परिवर्तनका लागि मात्र होइन, व्यवस्था सुधारका लागि मतदान आवश्यक छ।”
रास्वपाले आगामी दिनमा थप सघन घरदैलो र क्षेत्रीय कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको जनाएको छ।