प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेशको राजनीतिक मैदानमा बालेन्द्र शाहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सार्दै ‘बालेन कार्ड’ प्रयोग गरेको चर्चा तीव्र बनेको छ । युवामाझ स्थापित लोकप्रिय छवि, परम्परागत दलप्रति बढ्दो वितृष्णा र सुशासनको आकांक्षालाई जोडेर मधेशमा संगठन विस्तार गर्ने रणनीति स्पष्ट देखिन्छ । तर प्रश्न उब्जिन्छ, यो मधेशको जटिल राजनीतिक धरातलमा दीर्घकालीन आधार निर्माण गर्ने प्रयास हो कि केवल चुनावी रणनीति मात्र ?
मधेशको राजनीति परम्परागत रूपमा पहिचान, अधिकार, समावेशिता र संघीयताको मुद्दाले निर्देशित हुँदै आएको छ । संविधान जारी भएपछि पनि सीमांकन, प्रतिनिधित्व, भाषा, अधिकार, नागरिकता र विकासका सवालमा असन्तुष्टि रहँदै आएको छ । यस्तो संवेदनशील पृष्ठभूमिमा व्यक्तित्वकेन्द्रित अभियान कति प्रभावकारी होला भन्ने जिज्ञासा स्वाभाविक हो । रास्वपाले ‘बालेनलाई प्रधानमन्त्री बनाउन घण्टीमा मत’ भन्ने सन्देश प्रवाह गरिरहेको छ ।
निस्सन्देह, बालेन्द्र शाहको उदयले नेपाली राजनीतिमा नयाँ सम्भावनाको संकेत दिएको थियो । काठमाडौं महानगरपालिकामा उनको जीत परम्परागत दलहरूको वर्चश्वमाथि प्रश्न थियो । सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधारको अपेक्षा राख्ने युवापुस्ताले उनलाई विकल्पका रूपमा हेरे । यही ‘विकल्प’को भावनालाई मधेशसम्म विस्तार गर्ने प्रयास रास्वपाको रणनीतिक दाउ हो । मधेशमा बेरोजगारी, कमजोर सेवा प्रवाह, भ्रष्टाचार र राजनीतिक संरक्षणवादप्रति निराशा बढिरहेको यथार्थ छ । यस असन्तुष्टिलाई राजनीतिक पूँजीमा रूपान्तरण गर्न खोज्नु स्वाभाविक रणनीति हो ।
तर, मधेशको सामाजिक र राजनीतिक यथार्थ केवल असन्तुष्टिको गणितले मात्र व्याख्या हुँदैन । यहाँको राजनीतिक चेतना पहिचान र अधिकारको आन्दोलनबाट विकसित भएको हो । संघीयता सुदृढीकरण, प्रदेशको अधिकार, स्थानीय स्वायत्तता, भाषा प्रयोगको संवैधानिक सुनिश्चितता र समानुपातिक प्रतिनिधित्वजस्ता मुद्दा यहाँको राजनीतिक विमर्शको केन्द्रमा छन् । यदि रास्वपाले यी विषयमा स्पष्ट, ठोस र विश्वसनीय धारणा प्रस्तुत गर्न सकेन भने व्यक्तित्वको लोकप्रियता पर्याप्त नहुन सक्छ ।
चुनावी अभियानमा भावनात्मक अपिल महत्वपूर्ण हुन्छ, तर दीर्घकालीन विश्वास निर्माणका लागि नीतिगत स्पष्टता अपरिहार्य हुन्छ । मधेशमा दलहरूलाई केवल भ्रष्टाचारविरुद्धको नाराले मात्र सफल बनाएको इतिहास छैन । सुशासनको अर्थ केवल भ्रष्टाचार नियन्त्रण मात्र होइन, समावेशी निर्णय प्रक्रिया, क्षेत्रीय सन्तुलन, स्रोतसाधनको न्यायोचित वितरण र उत्तरदायित्वसमेत हो । मधेशका नागरिकले राज्यसँग अपेक्षा गरेको कुरा केवल प्रशासनिक दक्षता होइन, सम्मानजनक सहभागिता पनि हो । यहाँका मतदाताले अधिकार र पहिचानका सवालमा स्पष्ट प्रतिबद्धता खोज्छन् । त्यसैले ‘बालेन मोह’ अस्थायी उत्साहमा सीमित रहन्छ कि स्थायी राजनीतिक आधारमा रूपान्तरित हुन्छ भन्ने कुरा रास्वपाको मधेश उद्देश्य निर्भर रहनेछ ।
मधेशमा देखिएको आकर्षणलाई पूर्णतः अस्वीकार गर्न सकिँदैन । मधेशमा उठिरहेको यो नयाँ तरंगले राजनीतिक दलहरूलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ । पुराना दलप्रति बढ्दो निराशा वास्तविकता हो । विकासको गति सुस्त हुनु, युवाहरूको विदेश पलायन, रोजगारीको अभाव र सार्वजनिक सेवामा ढिलासुस्तीले मतदातालाई विकल्प खोज्न बाध्य बनाएको छ । यस्तो अवस्थामा नयाँ दलले आशाको सन्देश दिनु सकारात्मक संकेत हुन सक्छ । तर, आशालाई विश्वासमा बदल्न नीति, कार्यक्रम र कार्यान्वयनको स्पष्ट खाका चाहिन्छ ।
मधेशको मतदाता भावनामा मात्र होइन, अनुभवमा पनि आधारित निर्णय गर्ने अवस्थामा पुगेका छन् । केवल चुनावी नाराभन्दा ठोस कार्ययोजना, क्षेत्रीय संवेदनशीलताको समझ र अधिकारप्रतिको प्रतिबद्धता आवश्यक छ । यदि रास्वपाले मधेशका जटिल मुद्दामा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै स्थानीय नेतृत्व सुदृढ गर्न सक्यो भने ‘बालेन प्रभाव’ दीर्घकालीन आधार बन्न सक्छ। अन्यथा, यो चुनावी मौसमसँगै हराउने अस्थायी लहरमा सीमित रहन सक्छ ।
चुनावी लहरले केही सिट दिलाउन सक्छ, तर दिगो प्रभावका लागि स्थानीय तहसम्म जरा गाडिएको संगठन आवश्यक हुन्छ । मधेशमा परम्परागत दलहरू र क्षेत्रीय शक्तिहरूको गहिरो प्रभाव छ । यस्तो अवस्थामा केवल लोकप्रिय अनुहारको भरमा राजनीतिक समीकरण बदल्नु चुनौतीपूर्ण हुन्छ । प्रधानमन्त्रीको सम्भावित उम्मेदवार घोषणा गर्नु स्वयंमा राजनीतिक साहसको संकेत हुन सक्छ, तर यसले अपेक्षा पनि उच्च बनाउँछ । यदि चुनावी परिणाम अनुकूल नआएमा वा सरकार गठनको अंकगणित फरक बनेमा, यो रणनीति उल्टै राजनीतिक जोखिममा परिणत हुन सक्छ । त्यसैले रास्वपाको लागि ‘बालेन कार्ड’ अवसरमात्र होइन, दाउ पनि हो ।