सरकारले एमसीए–नेपालद्वारा निर्माण भइरहेको ४०० केभी क्षमताको विद्युत प्रसारणलाइन मार्गमा संरचना निर्माण र रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार, एमसीए–नेपालले निर्माण गर्न लागेको प्रसारणलाइन नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लाबाट जानेछ। प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँबायाँ पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलमा कुनै पनि संरचना निर्माण वा रुख रोप्न निषेध गरिएको छ।
यस निर्णयले प्रसारणलाइनको निर्माण र सञ्चालनमा बाधा नआओस् भन्ने उद्देश्य लिएको मन्त्री खरेलले बताएका छन्।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र त्यसका मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ।