पुराना राजनीतिक दलका गठबन्धनहरूमाथि आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावका लागि अन्य दल र संगठनसँग सम्भावित गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ। सौराहामा आयोजित पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा यो प्रस्ताव राखिएको हो।
अर्यालले स्पष्ट पारेका छन् कि गठबन्धन गर्ने हो भने रास्वपाको मौलिक पहिचानलाई कुनै पनि हालतमा असर गर्न दिइने छैन। प्रतिवेदन अनुसार, “नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह वा राजनीतिक पार्टीहरूसँग निर्वाचन र सरकार गठनमा सहकार्य वा गठबन्धन गर्न सकिनेछ। तर, गठबन्धनको नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन।”
अर्यालले भनेका छन् कि प्रतिस्पर्धी दलको आलोचना मात्र नगरी आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नु जरूरी छ। “चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ। यसका फाइदा र बेफाइदाहरूको गहिरो विश्लेषण आवश्यक छ। कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुमाउने खतरा पनि रहन्छ।”
पार्टीले अब ‘आलोचना होइन, योजना’ भन्ने नारासहित अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। प्रतिवेदनमा जनतासँग पारदर्शिता कायम राख्ने, पार्टीका गतिविधि र निर्णयबारे जनतालाई नियमित सुसूचित गर्ने र मूलधारका मिडिया तथा सामाजिक सञ्जालमा पार्टीको सशक्त उपस्थिति सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
अर्यालले रास्वपालाई निर्विकल्प शक्ति बनाएर किसान, मजदुर, युवा, महिला र आम नेपालीको समस्या समाधान गर्दै समृद्धिको यात्रामा अघि बढाउन समान विचार, उद्देश्य र कार्यशैली भएका अन्य साना दल, समूह वा स्वतन्त्र व्यक्तिसँग नयाँ राजनीतिक ध्रुवीकरणको पहल गरिरहेको जानकारी दिएका छन्।
पार्टीले विगतका कमजोरीबाट पाठ सिक्दै आफ्नो शक्ति र कमजोरीको यथार्थपरक विश्लेषण गर्नुपर्ने र राजनीतिक, सामाजिक, आर्थिक तथा प्राविधिक पक्षका साना–सानो विषयलाई ध्यानमा राखेर चुनावी तयारी गर्नुपर्ने धारणा राखेको छ। अर्यालका अनुसार, “आउँदो चुनावमा नेतृत्वदायी परिणाम ल्याउन नसके मुलुक पुराना दलको कुशासनको भार खेप्न बाध्य हुनेछ र जेनजी आन्दोलनको म्यान्डेट विपरीत अस्थिरता बढ्नेछ।”
रास्वपा नेतृत्वका लागि आगामी चुनाव प्रतिगामी र अग्रगामीबीच निर्णायक संघर्ष हुने भएकाले कुनै पनि कोणबाट कमजोर हुने छुट आफूहरूलाई नरहेको उनले जोड दिएका छन्।