सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिकाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आज न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, सुनुवाइ एक नम्बर इजलास, क्रम संख्या ३ मा हुनेछ।
यसअघि कात्तिक १३ गते तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीको निवेदनका कारण सुनुवाइ स्थगित भएको थियो। त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविलालको समान प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो।
बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले जोशीको फाइल समेत पेस गर्न आदेश दिएको थियो। यसअघि लामिछानेले आफ्नो भागको बिगो २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित दाखिला गरेका थिए। तर जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।
सुप्रिम सहकारी ठगीको मुद्दामा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गर्दै अभियोगपत्र दर्ता गरिएको छ। लामिछानेले आफ्नो भागको बिगो दाखिला गरिसकेको भए पनि जिल्ला अदालतले रिहा नगरेको थियो।
लामिछानेले आफू सहकारीको शेयर सदस्य, सञ्चालक वा ऋणी नभएको दावी गर्दै, हस्ताक्षर मात्र गरेर ऋण नलिएको र बचत अपचलन नगरेको बताउँदै आएका छन्।