तीन दिनदेखि फरार रहेका विवादास्पद व्यक्ति डा. निकोलस भुसालले मृगस्थलीबाट ध्यान गर्दै लाइभ गरेपछि प्रहरी सक्रिय भएको थियो। तर, भुसाल वास्तवमा काठमाडौंमा होइन, गोरखामा रहेको तथ्य खुलेको छ।
मंगलबार ‘गोकर्णनाथ मृगस्थली’ लेख्दै ४४ मिनेट लामो लाइभ गरेका भुसाल रुद्राक्षको माला जप्दै ध्यानस्थ देखिएका थिए। पछाडि भगवानका तस्वीरसहितको ठूलो हलजस्तो ठाउँबाट प्रसारण भइरहेको दृश्यले प्रहरीलाई चनाखो बनायो।
प्राविधिक अनुसन्धानपछि भिडियोमा देखिएको स्थान काठमाडौंको मृगस्थली नभई गोरखा नगरपालिका–८, सरस्वती आश्रमको सन्त निवास हल भएको खुलेको प्रहरी प्रवक्ता एसपी काजिकुमार आचार्यले जानकारी दिए।
यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले समन्वय गर्दै मंगलबार भुसाललाई उक्त आश्रमबाट पक्राउ गर्यो।
प्रहरी पुग्दा भुसाल हलमा सुतिरहेका थिए। उनी घाँटीमा रुद्राक्ष र फूलको माला लगाएका थिए, गालामा ‘सिताराम’ लेखिएको पिताम्बर भिरेका थिए। अनुसन्धानले उनी हिजो साँझ मात्रै गोरखा पुगेको पुष्टि गरेको छ।
भुसालले यसअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मेयर बालेन शाह लगायत शीर्ष व्यक्तित्वहरूलाई लक्षित गर्दै हिंसात्मक र अराजक अभिव्यक्ति दिएका थिए।
उनले गत शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै २३ भदौको जेनजी आन्दोलनमा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘हत्यारा’ संज्ञा दिएका थिए।
जेनजी आन्दोलनका क्रममा २३ भदौमा सुरक्षाकर्मीको गोलीबाट २२ जनाको मृत्यु भएको थियो। यही विषयमा आक्रोशित हुँदै भुसालले माइतीघरमा प्रदर्शन गर्न आह्वान गरेपछि वेपत्ता भएका थिए।