भदौ २३ र २४ गतेका घटनामा फिल्डमा खटिएका प्रहरीको विस्तृत विवरण नपठाएपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रहरी प्रधान कार्यालयलाई चेतावनीसहित पत्र पठाएको छ।
आयोग गठन भएको केही दिनमै आयोगले प्रहरी प्रधान कार्यालय नक्साललाई सो घटनाका दिन को–को प्रहरी फिल्डमा खटिएका थिए भन्ने विवरण माग गरेको थियो। तर, २२ दिनसम्म पनि प्रहरीले विवरण उपलब्ध नगराएपछि आयोगले आइतबार पुनः पत्र पठाउँदै २४ घण्टाभित्र जवाफ नआए मानहानीको कारबाही हुने चेतावनी दिएको हो।
आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङकै नाममा पठाएको पत्रमा, “जाँचबुझ तथा न्यायिक आयोगलाई सहयोग नगर्ने कार्य मानहानीको दायरामा पर्न सक्छ,” भनेर उल्लेख गरिएको छ।
प्रहरी प्रधान कार्यालयका एक स्रोतका अनुसार आयोगलाई जवाफ पठाउने तयारी भइरहेको छ। स्रोतले भने, “आयोगलाई विवरण नै नपठाउने भन्ने होइन, हामी तयारीको अन्तिम चरणमा छौं।”
आइतबार नै आयोगले अर्को पत्राचार गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यकामा खटिएका प्रहरी इन्चार्ज तथा कमाण्डरहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। आयोगका अनुसार ती व्यक्तिहरूलाई सोधपुछ र बयानका लागि बोलाउनुपर्ने भएकाले यस्तो व्यवस्था माग गरिएको हो।
नेपाली सेनाले सार्वजनिक गरेको विवरणअनुसार भदौ २३ गते मात्रै २२ जनाको मृत्यु भएको थियो भने अन्य दिन थप मृत्यु भएपछि आन्दोलनमा परी ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ। तीमध्ये ४५ जनालाई सरकारले सोमबार सहिद घोषणा गरेको छ।
सरकारले गठन गरेको कार्की आयोगलाई पाँचवटा कार्यादेश दिएको छ: भदौ २३ र २४ गतेका घटनामा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्ने, घटना हुनुको कारण पत्ता लगाउने, पीडितको निवेदन र तथ्य संकलन गर्ने, कारबाहीका लागि राय दिने, र भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कार्ययोजना पेश गर्ने।