अरेबियन सागर नजिकैको जमैकामा इतिहासकै शक्तिशाली समुद्री आँधी मेलिसाले त्रास फैलाएको छ। २८२ किलोमिटर प्रतिघण्टाको हावासहित बग्ने यो आँधीलाई अमेरिकी मौसमविद्हरूले ‘विनाशकारी र जीवनका लागि घातक’ भन्दै चेतावनी दिएका छन्।
अमेरिका–आधारित राष्ट्रिय हुरिकेन केन्द्र (एनएचसी)को पछिल्लो तथ्यांक अनुसार मेलिसा यस वर्ष विश्वकै सबैभन्दा शक्तिशाली आँधी हो। सन् १८५१ देखि समुद्री आँधीको रेकर्ड राखिन थालेदेखि जमैकामा आएको यो आँधी सबैभन्दा शक्तिशाली सावित हुनसक्ने एनएचसीले जनाएको छ।
मंगलबार बिहानै क्यारिबियन टापुको तटमा अवतरण गर्ने अनुमान गरिएको यस आँधीको असरमा जमैकामा तीन जनाको मृत्यु भइसकेको छ भने हाइटी र डोमिनिकन रिपब्लिकमा चार जनाको ज्यान गएको बीबीसीले जनाएको छ।
विशेषज्ञहरूले मेलिसाको प्रभावले लामो समयसम्म मुसलधारे वर्षा गराउन सक्ने चेतावनी दिएका छन्, जसले घातक बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान गरिएको छ। एनएचसी निर्देशक माइकल ब्रेननले जमैकावासीलाई घर बाहिर ननिस्कन र सुरक्षित तरिकाले बस्न आग्रह गरेका छन्।
जमैकाली सरकारले राजधानी किङ्स्टनका केही भाग खाली गराएको छ। शिक्षा मन्त्री डाना मोरिस डिक्सनले बीबीसीसँगको अन्तर्वार्तामा बताइन्, “हामीले कहिल्यै नदेखेको प्रकारको आँधी आउँदै छ। अक्टोबरभरि भइरहेको वर्षाले जमिन पहिले नै भिजिसकेको छ। फेरि धेरै वर्षा हुँदा बाढी र पहिरोको खतरा छ।” उनका अनुसार प्रभावित व्यक्तिहरूलाई राख्न ८८१ आश्रयस्थल तयार पारिएको छ।
गम्भीर आँधीमा तथ्यांक संकलन गर्ने हुरिकेन हन्टर विमानको उडान मेलिसाको तीव्र गतिका कारण रोकिएको छ। जमैकाका प्रधानमन्त्री एन्ड्रयू होल्नेसले पनि सबै नागरिकलाई घरभित्रै बस्न र उद्धारकर्ताको निर्देशन पालना गर्न आग्रह गर्दै भने, “हामी यो आँधी सामना गर्नेछौं र अझ बलियो भएर पुनर्निर्माण गर्नेछौं।”