मुस्ताङमा लगातार बाक्लो हिमपात भइरहेको छ। कागबेनीदेखि माथिल्लो क्षेत्र, उपल्लो मुस्ताङ, मुक्तिनाथ लगायत स्थानहरूमा अहिले पनि हिमपात जारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।
प्रहरीका अनुसार मुक्तिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रहरूमा परेको हिमपातका कारण तीर्थालुहरू प्रभावित भएका छन्। सोहीसँगै स्थानीय बासिन्दाको दैनिकी समेत कष्टकर बनेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले मौसम प्रतिकूल बनेको भन्दै पर्यटक र पदयात्रीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सोमबार सार्वजनिक गरिएको सूचनामा जल तथा मौसम पूर्वानुमान विभागको जानकारी उद्धृत गर्दै बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पदयात्रा नगर्न अनुरोध गरिएको हो।
प्रशासनका अनुसार मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्ला पास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास तथा मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायत क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने सम्भावना रहेको छ।
मुख्य जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, ती क्षेत्रहरूमा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि पदयात्रा नगर्न र नगर्न आग्रह गरिएको हो।
साथै, जिल्लाका अन्य भागहरूमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले यात्रा अघि मौसम पूर्वानुमानबारे जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।