आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद भएको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
शनिबार पर्साको पर्सागढीमा दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, “भदौ २३ गते युवाहरूको छाती र टाउकोमा गोली हानियो। ती हत्यारालाई अहिलेसम्म कारबाही नगर्ने यो सरकारको औचित्य समाप्त भएको छ। गृहमन्त्री अर्याल नै लुरे परे।”
साहका अनुसार, जेन–जी आन्दोलनका क्रममा युवामाथि भएको ‘नरसंहार’मा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अझैसम्म पक्राउ नगर्नु दुर्भाग्यपूर्ण छ। उनले गृहमन्त्री अर्याल र प्रधानमन्त्री सुशीला कार्की माथि हत्यारालाई बचाउने प्रयास गरेको आरोप समेत लगाए।
साहले भने, “सरकार बनेको यति समय बितिसक्यो, तर हत्यारामाथि कारबाही गर्न नसक्नुको साटो उल्टै बालेन शाह र सुदन गुरुङजस्ता आन्दोलनकारीविरुद्ध जाहेरी दर्ता गरिन्छ। यो सरकार युवाहरूको बलिदानको अपमान हो। अब यिनीहरूलाई कुर्सीमा बस्ने नैतिकता छैन। यदि सरकारले हत्यारालाई कारबाही गरेन भने जनता स्वयंले कारबाही थाल्नेछन्।”
उनले अहिलेको सरकारलाई “हत्याराको सेवामा समर्पित” बताउँदै, एमाले अध्यक्ष ओलीको राक्षसी प्रवृत्तिले देशलाई दुर्घटनातर्फ धकेलेको टिप्पणी गरे।
साहले पर्सा जिल्लाको दीर्घकालीन विकासका मुद्दाहरू पनि उठाउँदै भने, वीरगञ्जलाई आर्थिक राजधानी, नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय र नारायणी रंगशालालाई विश्वस्तरीय खेल मैदान बनाउन स्थानीय नेताहरूले विगतमा ध्यान नदिएको आरोप लगाए।
साहले अन्त्यमा जोड दिए, “यो सरकार चुनावी सरकार हो, तर यसको पहिलो दायित्व युवाहरूका हत्यारालाई कानूनी दायरामा ल्याउनु हो। जनताको धैर्यको पनि सीमा हुन्छ।”