देशभरका जेनजीलाई एकजुट गर्दै नयाँ पुस्ताको आवाज उठाउन आज माइतीघरमा धर्ना दिइयो। जेनजीको प्रतिनिधित्व गर्ने समूहले सरकारले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्नुपर्ने स्पष्ट माग राखेको छ।
धर्नामा सहभागीहरूले राष्ट्र, शहीद र नयाँ पुस्ताको भविष्य सम्झाउँदै ‘जेनजीका माग पूरा गर’, ‘शहीदको रगत नबिर्स’, ‘देशका घाउ, हाम्रो जिम्मेवारी’ जस्ता नारा लेखिएका प्लेकार्डसहित राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए।
जेनजी प्रतिनिधि सदिक्षा राईले भनिन्, “सबै जिल्लामा सम्मेलन गरी काठमाडौँमा केन्द्रीय सम्मेलन गर्नुपर्छ, जहाँ सम्पूर्ण देशबाट जेनजीको प्रतिनिधित्व हुनेछ। सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ।” उनले वर्तमान सरकारले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको जिम्मेवारी रक्षा गर्नुपर्नेमा जोड दिइन्।
धर्नामा सहभागी मदन कार्कीले पनि आह्वान गर्दै भने, “देशभरका सबै जेनजीहरू एकजुट हुनुपर्छ। विभाजन र गुटबन्दीले हाम्रो आवाज कमजोर बनाउँछ। सरकारले हाम्रो साथ दिनुपर्छ।”
धर्नामा जेनजी आन्दोलनका घाइते, शहीद परिवार र विभिन्न समूहका युवा पनि उपस्थित थिए। यो धर्ना गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसले उठाएका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले आयोजित गरिएको हो।