तिहारको उल्लास र झिलिमिलीमा सारा देश रमाइरहँदा बाराको सदरमुकाम कलैयाका युवाहरूले भने वर्षौंदेखिको पीडालाई उत्सवमाथि राख्दै संघर्षको बाटो रोजेका छन्।
तिहारको मुख्य दिन, भाइटीकाको दिनमा समेत यहाँका नागरिकहरू घरमा पूजा–आजा छाडेर सडकमा उभिएर हस्ताक्षर गरिरहेका थिए । कलैया–सितलपुर सडक खण्डको जीर्ण अवस्थाविरुद्ध।
करीब तीन किलोमिटर लामो उक्त सडक अहिले कलैयावासीका लागि ‘त्रासदीको बाटो’ बनेको छ। धुलो र खाल्डाखुल्डीले दैनिक आवतजावत असहज र स्वास्थ्यका दृष्टिले खतरनाक बनेको छ। स्थानीय सरकार र जनप्रतिनिधिबाट बारम्बार आश्वासन मात्रै पाएर दिक्क बनेका युवाहरूले सौरभ पाण्डेको अगुवाइमा ‘हाम्रो सडक, हाम्रो अधिकार’ भन्दै ‘वृहत् हस्ताक्षर संकलन अभियान’ सुरु गरेका हुन्।
अभियानको सबैभन्दा प्रेरणादायी पक्ष भनेकै चाडपर्वको समयमा देखिएको नागरिकको सहभागिता हो। बिहानैदेखि बेलुकासम्म युवा टोली घर–घर, चोक–चोक र बजार–बजार पुगेर हस्ताक्षर संकलन गरिरहेको छ। भाइटीकाको दिनमा समेत लामबद्ध भएर हस्ताक्षर गर्न आएका नागरिकहरूले अभियानमा जुटेका युवाहरूलाई थप हौसला दिएका छन्।
अभियानका संयोजक सौरभ पाण्डे भन्छन्, ‘चाडपर्व त हरेक वर्ष आउँछ, तर यो सडकले हामीलाई हरेक दिन नरकको यात्रा गराइरहेको छ। अब हामी आश्वासन होइन, काम गरेर देखाऊ भन्ने सन्देश दिन चाहन्छौं। हामीले तिहारमा रमाइलो छाडेर सडकमा धुलो चाख्न बाध्य बनाउनेहरूलाई दबाब दिन यो बाटो रोजेका हौं।’
हालसम्म करिब २,००० भन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ। आयोजक युवाहरूको लक्ष्य ५,००० हस्ताक्षर संकलन गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने र सडक निर्माण तत्काल सुरु गर्न सरकारलाई बाध्य पार्ने रहेको छ।
स्थानीयवासी, महिला समूह, वृद्धवृद्धा र व्यवसायी सबैले यो अभियानलाई स्वस्फूर्त समर्थन जनाएका छन्। व्यवसायीहरूको भनाइमा सडकको जीर्ण अवस्थाका कारण बजारमा ग्राहकको आगमन घटेको छ र धुलोको कारण व्यापारमा ठूलो असर परेको छ।
अभियानमा संलग्न युवाहरूले चेतावनी दिएका छन्: ‘यदि हस्ताक्षर बुझाएपछि पनि सरकारले ठोस कदम चालेन भने कलैयावासी अब सडकमा ओर्लनेछन्। त्यसपछिको जिम्मेवारी सरकार र ठेकेदार कम्पनीले लिनुपर्नेछ।’
तिहारको रमाइलो बीच सडकमा धुलो सँगै हस्ताक्षर गर्दै उभिएका कलैयाका ती युवाहरूले जनप्रतिनिधिलाई सन्देश दिएका छन् अब आश्वासन होइन, “काम गरेर देखाऊ।”