जेनजी युवा मिरज ढुंगानाले दल खोल्ने उद्देश्य केवल निर्वाचनमा सहभागी हुनु मात्र नभएको स्पष्ट पारेका छन्। उनले पार्टीका मुख्य बटमलाइन पूरा नभएसम्म कुनै हालतमा निर्वाचनमा नजाने दावी गरेका छन्।
शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीहरूले मतदान गर्ने अधिकार सुनिश्चित नभएसम्म निर्वाचनमा नजाने बताए।
‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु होइन। यो स्पष्ट हुनुपर्छ,’ उनले भने।
ढुंगानाले हुलमुल मात्र भएर देशको विकास नहुने भन्दै आधिकारिक बन्नका लागि एनजीओ वा राजनीतिक दलमध्ये एक खोल्नुपर्ने बताएका छन्। ‘आधिकारिक हुनका लागि भिड भएर देश विकास हुँदैन। कि त मैले एनजीओ खोल्नुपर्यो, कि त राजनीतिक दल हुनुपर्यो। नत्र हुलमुल मात्रै हुन्छ,’ उनले भने।
उनले सबै बाहिर रहेका समूहरूलाई संगठित भएर अघि बढ्न पनि आग्रह गरे। ‘हामीले बटमलाइन पूरा नभएसम्म निर्वाचनमा जाने तयारी गरेका छैनौं। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एउटा प्रमुख बटमलाइन हो, जसलाई सुनिनैपर्छ,’ ढुंगानाले थपे।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित नगरी निर्वाचनमा सहभागी नहुने उनको दृढ प्रतिवद्धता छ। ‘विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्छ। ३ करोडमा ८० लाखलाई छुटाउन मिल्दैन। रगत पसिना बगाएर देशमा योगदान दिने जनसंख्यालाई छाड्न हुँदैन,’ उनले भने।
ढुंगानाले स्पष्ट पारेका छन् कि बटमलाइन पूरा नभएसम्म उनीहरू निर्वाचनमा सहभागी हुने छैनन्।